१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सातामा दुई दिन हाकिम नै गयल

काठमाडौं- राजधानीबाहिरका सरकारी कार्यालय प्रमुखहरू शुक्रबार हाजिर गरेर हिँड्ने र सोमबार अबेरमात्र फर्कने गरेको पाइएको छ। राजधानीमा घर परिवारसँग बस्नकै लागि धेरैजसो कार्यालय प्रमुखले मन्त्रालयको काम, सेमिनार, गोष्ठी, आफन्त बिरामी आदि बहाना बनाउँदै शुक्रबार हाजिर गरेर निस्कने र सोमबार ढिलोगरी पुग्ने गरेको एक अध्ययनले देखाएको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा हालै 'सार्वजनिक सेवा प्रवाह सर्वेक्षण' ले धेरैभन्दा धेरै जनतासँग प्रत्यक्ष जोडिने कार्यालयका प्रमुखहरू विभिन्न बहाना बनाउँदै आइतबार र सोमबार कार्यालयमा अनुपस्थित हुने देखाएको छ। सर्वेक्षण प्रतिवेदनअनुसार उपत्यकाबाहिरका नापी, मालपोत, कृषि, जिल्ला विकास समिति, नगरपालिका, जिल्ला शिक्षा, जिल्ला स्वास्थ्य, विद्युत प्राधिकरणलगायत कार्यालयमा आइतबार र सोमबार कार्यालय प्रमुख भेटिँदैनन्।

'जिल्लाका मुख्यमुख्य कार्यालयमा आइतबार र सोमबार कार्यालय प्रमुख भेटिँदैनन्' प्रतिवेदनमा उल्लेख छ, 'जसका कारण कार्यालय निमित्तको भरमा चल्ने गरेका छन्। शुक्रबार हाजिर गरेर निस्केका प्रमुख तालिम, सेमिनारलगायतका बहाना बनाएर सोमबार ढिलोगरी मात्र हाजिर गर्न पुग्छन्।'

देशका विभिन्न ९ वटा जिल्लामा रहेका १२/१२ वटा सरकारी कार्यालयको अध्ययनका क्रममा कार्यालय प्रमुखहरूको यस्तो बदमासी फेलापरेको हो। कार्यालय प्रमुखको यस्तो बदमासीका कारण सेवाग्राहीले सहज सेवा पाउन नसकेको  अध्ययनले देखाएको छ।

प्रमुख नै अनुपस्थित हुँदा कार्यालयमा लापरबाही बढ्दै गएको अध्ययनका क्रममा देखिएको प्रमुख अनुसन्धानदाता प्रकाशचन्द्र भट्टराईले बताए। 'कार्यालय प्रमुख नै बहानाबाजी बनाउँदै गैरजिम्मेवार बन्दा जनताले सहज सेवा पाउन नसकेको देखियो,' उनले भने, 'जसका कारण सेवाग्राही असुन्तष्ट छन्।'

सेवाग्राहीको असन्तुष्टिको मात्रा मालपोत, यातायात र नापी कार्यालयमा नै सबैभन्दा बढी देखिएको छ। यातायातमा ५८, मालपोतमा ५० र नापीमा ४५ प्रतिशत सेवाग्राहीले कार्यालयको कामप्रति असन्तुष्टि व्यक्त गरेको प्रतिवेदनमा उल्लेख छ।

ट्रान्सपरेन्सीले सिरहा, रौतहट, भक्तपुर, रुपन्देही, बाग्लुङ, बाँके, दाङ, दार्चुला र दोलखाका मालपोत, नापी, यातायात व्यवस्था, नगरपालिका, जिविस, गाविस, विद्युत, प्रशासन, शिक्षा, प्रहरी, राजस्व तथा कर, अस्पताल तथा स्वास्थ्य संस्था, खानेपानी, कृषि विकास, वनलगायत  कार्यालयबाट हुने सेवा प्रवाह अवस्थाबारे अध्ययन गरेको थियो।

अध्ययनका लागि ९ वटा जिल्लाका २२ सय ५ घरधुरी सर्वेक्षण गरिएको थियो। जसमा ३१ प्रतिशत महिला र बाँकी पुरुष थिए।

प्रकाशित: १७ पुस २०७३ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App