१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मुग्लिङका होटललाई गुणस्तर स्तरीकरण

काठमाडौं – मुग्लिङ बजारका अधिकांश होटल तथा रेस्टुरेन्टले गुणस्तरको मापदण्ड पूरा नगरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको अनुगमन टोलीले मंगलबार र बुधवार मुग्लिङ बजारका ४० होटल तथा रेस्टुरेन्टमा अनुगमन गर्दा मापदण्ड पूरा नगरेको भेटेको हो।

विभाग, उपभोक्ता अधिकारकर्मी, स्थानीय प्रशासन, स्थानीय तहका प्रतिनिधी , मुग्लिङ होटल व्यवसायी संघसमेतको संयुक्त अनुगमनपछि स्तरीकरणको स्टिकरसमेत उपलब्ध गराएको छ। टोलीले ४० होटलमध्ये स्तरीकरणमा एक होटललाई अति उत्तम अर्थात दुई तारासहितको हरियो स्टिकर, १२ होटललाई उत्तम अर्थात एक तारासहितको हरियो स्टिकर र बाँकी होटललाई सुधारको सुझावसहित पहेंलो स्टिकर दिएको विभागका अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए। विभागले अहिले स्तरीकरणमा तीन किसिमका स्टिकरमात्र दिँदै आएको छ।

सुवेदीले स्तरीकरण गर्दा होटलको भौतिक संरचना, पानी, भण्डारण, प्रविधि, व्याक्तिगत तथा भान्सा सरसफाइ र दर्ता प्रकृयाका आधारमा मूल्यांकन गरिएको बताए। ‘दर्ता प्रकृया र सरसफाइमा धेरैको कमजोरी भेटियो, सुधारका लागि एक महिनाको समय दिएका छौं,’ उनले भने, ‘होटलले धेरै सुधार गर्न आवश्यक देखियो, हामीले स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराएका छौं।’ उनले गत दसैंको समयमा अनुगमनका गएर व्यवसायीलाई सुझावसहित स्वमूल्यांकन गर्न लगाएको र त्यसयता समय समयमा स्थानीय प्रशासनले अनुगमन गर्दै आएको भए पनि अझै सुधारको भइनसकेको बताए।

विभागले चार वर्षअगाडि पनि मुग्लिङका होटल स्तरीकरण गरेको थियो। त्यतिबेला रातो स्टिकर पाएका होटलमध्येका केही होटल सन्तोषजनक पाइए पनि केहीको अवस्था अझै उस्तै रहेको सुवेदीले बताए। उनले भने, ‘केही होटलमा सुधार देखिए पनि केहीलाई कुनै पनि मापदण्डमा राख्न नसक्ने अवस्था देखियो, सुधारका लागि प्रतिबद्धता लिइएको छ।’ अनुगमनमा सहभागी उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले एक होटलमात्र व्यवस्थित रुपमा सञ्चालन भएको देखिए पनि धेरैले भान्साको सरसफाइ तथा व्याक्तिगत सरसफाइका हेल्चेक्र्याइ गरेको पाइएको बताए। उनले सम्बन्धित पक्षले अनुगमनमा निरन्तरता नदिने र राजमार्गका व्यवसायीले उपभोक्ताप्रति जिम्मेवार नबनिदिँदा सुधार हुन नसकेको बताए।

उनले भने, ‘वर्षौंअगाडि स्तरीकरण गरेर फर्किएर नजाने कहाँबाट सुधार आउँछ ?’ तिमल्सिना स्तरीकरणले मात्र भन्दा पनि जरिवानासहितको थप कारवाही हुनुपर्ने बताउँछन्।

प्रकाशित: २ फाल्गुन २०७६ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App