१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बढी प्रचार गरिएकै ठाउँबाट पर्यटक घटे

काठमाडौं -  सरकारले बढी पर्यटक भित्र्याउन विदेशमा नेपालबारे प्रचारप्रसार गरेको दाबी गरिरहँदा लाखौं खर्च गरेर प्रचार गरेकै देशबाट आउने पर्यटक संख्या घटेको देखिएको छ। अध्यागमन विभागले सार्वजनिक गरेको सन् २०२० को पहिलो महिनाको तथ्यांकले यो वर्ष २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य प्राप्त गर्न कठिन हुने पनि देखाएको छ।

यो तथ्यांकले विदेशमा गरेको भनिएको प्रचारप्रसारको प्रभावकारितामा प्रश्न उठाउनुका साथै पर्यटन सम्बद्ध निकायका अधिकारीहरुले प्रचारप्रसारका नाममा गर्ने विदेश यात्रालाई औचित्यहीन साबित गरिदिएको छ। नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिना(जनवरी)मा नेपाल आउने विदेशी पर्यटकको संख्या पोहोरको तुलनामा १६ सय कम छ। सरकारले करिब दुई करोड रुपैयाँखर्च गरेर उद्घाटन गरेको नेपाल भ्रमण वर्षको पहिलो महिनामै हवाई र स्थलमार्गबाट आउने पर्यटक संख्या अघिल्लो वर्षको तुलनमा दुई प्रतिशतले घटेको हो। पहिलो महिनाको पर्यटक आगमन भ्रमण वर्षको लागि पहिलो गाँसमै ढुंगा जस्तै भएको छ।

विभागले जारी गरेको तथ्यांकअनुसार गत जनवरीमा विश्वका ३३ देशबाट ७९ हजार ६ सय ८६ जना पर्यटक नेपाल आएका छन्। सन् २०१९ को जनवरीमा तिनै मुलुकबाट ८१ हजार दुई सय ७३ जना नेपाल आएका थिए। पोहोरको तुलनामा यो जनवरीमा एसियाली मुलुकमध्ये चीन, बंगालादेश, भुटान, मलेसिया, म्यानमार, सिंगापुर र पाकिस्तानबाट आउने पर्यटकको संख्यामा बढेको छ। घेरै पर्यटक आउनेमध्ये भारत,जापान,श्रीलंका, दक्षिण कोरिया, ताइवान र थाइल्यान्डको संख्या यसपालि घटेको छ। नेपालमा धेरै पर्यटक आउनेमध्येका भारत, जापान र अमेरिकाको संख्या क्रमशः ४.४, २६.५ र ३.१ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ।

युरोपेली पर्यटकको संख्यापनि घटेको छ। यो वर्ष युरोपका बेल्जियम, चेक रिपब्लिक,डेनमार्कबाट आउने पर्यटक बढेका छन्। इजरायली र रसियालीको संख्यापनि पोहोरको भन्दा बढी छ। बढी अपेक्षागरिएका देशमध्ये अस्ट्रिया, फ्रान्स, जर्मनी, नेदरल्यान्ड, इटाली, नर्वे, पोल्यान्ड, स्विजरल्यान्ड, स्पेन, स्विडेन र बेलायतबाट आउने पर्यटकको संख्याभने घटेको छ। पोहोरको तुलनामा कम पर्यटक आएका युरोपेली मुलुकमध्ये अधिकांशमा नेपालको प्रचारप्रसार गरिएको पर्यटनसम्बद्ध अधिकारीहरुले बताउँदै आएका छन्। नेपाल पर्यटन बोर्डले लाखौं रकम खर्चेर विशेष प्रचारप्रसारमा गरेको भनेकै देशको पर्यटक आगमनमा कमी देखिएको हो। अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा र अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्यामा पनि गिरावट आएको तथ्यांकले देखाउँछ।

तथ्यांकले विदेशमा गरेको भनिएको प्रचारप्रसारको प्रभावकारितामा प्रश्न उठाउनुका साथै पर्यटन सम्बद्ध निकायका अधिकारीहरुले प्रचारप्रसारका नाममा गर्ने विदेश यात्रालाई औचित्यहीन साबित गरिदिएको छ।

प्रचारप्रसारकै क्रममा पनि विशाल जनसंख्या भएका र बर्सेनि लाखौं नागरिक विदेश घुम्न निस्कने भारत र चीनमा भन्दा सिधा उडानसमेत नभएका युरोपेली र अमेरिकी मुलुकमा प्रचारप्रसार केन्द्रित गरिँदा पर्यटन प्रवद्र्धन भन्दा विदेश भ्रमणको मोहले काम गरेको जस्तो देखिन्छ। यस वर्ष जनवरीमा छिमेकी भारतबाट आउने पर्यटकको संख्या घटेको छ।सन् २०१९ को जनवरीमा १७ हजार ६ सय ६३ भारतीय नेपाल आएकामा यसपालि १६ हजार आठ सय ८२ मात्र आएका छन्। श्रीलंकाबाट गतवर्ष ६ सय ५५ पर्यटक आएकोमा यो वर्ष दुई सय ९२ जनामात्र आएका छन्। जापानबाट पोहोर दुई हजार सात सय २८ आएकामा यसपालि दुई हजार चारजना मात्र आए।

दक्षिण कोरियाबाट गतवर्ष पाँचहजार ९० आएकामा यसपालि चार हजार पाँच सय ५९ जना आए। थाइल्यान्डबाट गतवर्ष चार हजार ६ सय दुईजना आएकोमा यसपालि चार हजार १० जनामात्र आए। प्राणघातक नोवेल कोरोना भाइरसको चपेटामा परेको चीनबाट भने पोहोरको तुलनामा यसपालि जनवरीमा बढी पर्यटक आएका छन्। जनवरीमा चिनियाँ पर्यटकको संख्या तीन प्रतिशतले बढेको छ। यसले पहिलो महिनामा कोरोनाको असर नपरेको देखाउँछ। कोरोना भाइरसका कारण चीन सरकारले आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाएको र मध्य जनवरीपछि वायुसेवा कम्पनीहरुले नेपाल–चीन उडान स्थगित गरेको बेलापनि चिनियाँ पर्यटक संख्या बढेको तथ्यांकले स्थिति सामान्य भए आगामी दिनमा चिनियाँ पर्यटक उत्साहजनक रुपले बढ्ने संकेत गर्छ।

२०१९ को जावरीमा १२ हजार नौ सय १६ चिनियाँ नेपाल आएकामा यसपालि बढेर १३ हजार तीन सय तीन पुगेको छ। बंगलादेशी पर्यटक पनि बढेका छन्। संख्या थोरै भएपनि बंगलादेशीको वृद्धि प्रतिशतउच्च (७७प्रतिशत) छ। गतवर्ष एक हजार दुई सय ८४ बंगाली नेपाल आएकामा यो वर्ष सो संख्या बढेर दुई हजार दुई सय ८५ पुगेको छ। पाकिस्थानबाट पोहोर दुई सय ६८ जना आएकामा यो वर्ष चार सय १२ जना आए। भुटानी पर्यटकको संख्यापनि बढेको छ। पोहोर त्यहाँबाट एक हजार चार सय ७५ पर्यटक आएकामा यसपालि एक हजार पाँच सय ९६ जनाआएका छन्।

सन् २०१९ मा विश्वका विभिन्न देशबाट ११ लाख ९७हजार एक सय १९ पर्यटक नेपाल आएका थिए, जसमा सबैभन्दा धेरै भारतीय थिए। गतवर्ष हवाई मार्गबाट नेपाल आउने भारतीय दुई लाख ५४ हजार, चिनियाँ एक लाख ६८ हजार र अमेरिकी ९३ हजार रहेको सरकारी तथ्यांक छ।

प्रकाशित: १ फाल्गुन २०७६ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App