१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

वेस्टर्न ओपन गल्फमा शिवरामको अग्रता

बंकरबाट बल चिप गर्दै गल्फर शुक्र राई। तस्बिरः धन

पोखरा - दशौं होलमा इगल प्रहार गरेका शीर्ष वरीयताका गल्फर शिवराम श्रेष्ठले १८ होलको खेल पार गर्दा १ अन्डर ६८ को कार्डसहित सूर्य नेपाल वेस्टर्न ओपन गल्फमा पहिलो दिन अग्रता लिएका छन्।

फ्रन्ट नाइन दुई अन्डर ३२ स्कोरमा खेलेका शिवरामले १०औं होलमा इगल हिर्काएका थिए। पार–५ को होलमा उनले दुई स्ट्रोक जोगाउँदै इगल हिर्काए। तर १५औं होलमा आइपुग्दा त्रिपल बोगी खेपेपछि पहिलो दिनको उत्साह केही मत्थर बन्न पुग्यो। १७औं होलमा बर्डी हिर्काउँदा शिवरामले १८औं होलमा भने फेरि बोगी खेप्दै अन्ततः १ अण्डरको कार्डसहित शीर्षमा रहे। उनलाई पछ्याउने क्रममा नेपाल आर्मी क्लबका धनबहादुर थापाले लेभल पार खेलेका छन्।

उनको सुरुआत भने गतिलो बन्न सकेन। डबल बोगीबाट खेल सुरु गरेका थापाले १८औं होलमा फेरि डबल बोगी खेपे। यद्यपि उनले फ्रन्ट नाइनमा एक अन्डर र ब्याक नाइनमा भने १ ओभर खेले। समान १ ओभर खेलेका धरानका गल्फर शुक्र राई, बलभद्र राई र निरज तामाङ तेस्रो स्थानमा छन्। शुक्र राईले फ्रन्ट नाइनको दोस्रो होलमा बोगी खेपे। अन्य होलमा भने उनको प्रदर्शन उत्साहजनक नै रह्यो। १८औं होलमा बंकरमा परे पनि शुक्रले लेभल पार खेल्दै स्ट्रोक जोगाए।

बलभद्र राईले पनि फ्रन्ट नाइन लेभल पार खेल्ने क्रममा पाँचौं र आठौं होलमा बर्डी हिर्काउँदा छैटौं र नवौं होलमा भने बोगी खेले। ११औं होलमा बोगी खेपेका राईले १२औं होलमा डबल बोगीको सामना गरे। उनले १५औं र १७औ होलमा भने बर्डी हिर्काए। तामाङले पनि फ्रन्ट नाइनमा एक ओभर ३५ को कार्ड बनाउँदा ब्याक नाइनमा भने लेभल पार गरे। दशौं, ११औं र १२औं होलमा बर्डी खेलेर उत्साहित भएका तामाङले १४औं होलमा भने डबल बोगी खेप्दै खराब नजिता आत्मसात गरे। उनी १६औंमा बर्डी खेल्दै लेभल पारको स्थितिमा आइपुगे। भुवन नगरकोटी र भूवनकुमार रोकाले पनि समान २ ओभर ७१ को स्कोर बनाउँदै पहिलो दिनको १८ होलबाट विश्राम लिए।

एमेच्योरतर्फ भने दीपेश राई र सुरेश लामा क्रमशः ५ ओभर ७४ र ६ ओभर ७५ को कार्डमा छन्। सूर्य नेपालको मुख्य प्रायोजनामा बुधबारदेखि सुरु भएको वेस्टर्न ओपनमा ४८ प्रोफेसनल र एमेच्योर गल्फरले प्रतिस्पर्धा गरेका छन्।

प्रकाशित: १ फाल्गुन २०७६ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App