१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जातीय छुवाछुत नमान्ने जाजरकोटी धामीझाक्रीहरुको वाचा

जाजरकोट- दलित र गैरदलितबीचको कथित छुवाछुत आफूहरुले नमान्ने यहाँका धामीझाक्रीहरुले उद्घोष गरेका छन्। भेरी नगरपालिकाले आगामी जेठ २१ गते जातीय छुवाछुत तथा विभेद मुक्त नगर घोषणाका लागि सञ्चालन गरेको अभियानका क्रममा जिल्लाका धामीझाक्रीहरुले यस्तो वाचा गरेका हुन्।  

नगरपालिकाको उक्त अभियानलाई सफल पार्न आफूहरुले  विगतमा देखाउदै आएको जातीय विभेदको व्यवहार त्याग्दै छुवाछुत प्रथा नमान्ने  बताएका हुन्। जातीय छुवाछुत मुक्त नगरपालिकाका घोषणाको अभियानका क्रममा केहि दिनअघि सदरमुकाम खलंगामा आयोजना गरिएको एक अन्तरक्रियामा जिल्लाको भेरी नगरपालिकाका विभिन्न धामी, ज्योतिषी, पुरोहित, पुजारी तथा झाक्रीहरुले जातीय छुवाछुत र विभेद अन्त्य गर्न आफूहरु पनि नगरपालिकासंगै हिड्न तयार रहेको बताउदै सपथ खाएका छन्।

'हामी जातीय छुवाछुतको नाममा हुने सबै प्रकारका विभेद र छुवाछुतजन्य व्यवहार त्याग्दै नगरपालिकाको अभियानमा पूर्ण साथ दिन्छौं' भनेर उनीहरुले सार्वजनिक कार्यक्रममा वाचा गरेको भेरी नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन्।

अन्तरक्रिया कार्यक्रममा सहभागी नगरपालिकाभित्रका एक सय बढी धामीझाक्री, पण्डित, पुरोहित ज्योतिषहरुले आफूहरु सबै खाले विभेद र छुवाछुतको चलन अन्त्य गर्नका लागि पर्ने बताए। भेरी नगरपालिका–१३ कुदु घर भई ज्योतिषी गर्दै आएका भद्रीलाल आचार्यले आफ्नो ज्योतिषी विद्यालाई जातीय छुवाछुत तथा विभेदविरुद्ध लगाउने बताए।

नगरपालिकाले सुरु गरेको जातीय छुवाछुत तथा विभेदविरुद्धको अभियानमा आफू तनमनले लाग्ने उनको भनाइ छ। जातीय छुवाछुत अन्त्यका लागि आफूले पूजाआजा गर्न जाने स्थानीयहरुका घरमा छुवाछुतविरुद्धको प्रवचन दिँदै सबैलाई सचेत बनाउने भेरी नगरपालिका–१ कालेगाउँका  रामप्रसाद शर्माले बताए।

जातीय छुवाछुत अन्त्य गर्न नगरपालिकालाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका धामीझाक्री, पण्डीत, पुरोहित र ज्योतिषहरुलाई कुसंस्कारको रुपमा रहेको छाउपडी प्रथा अन्त्यको अभियानमा समेत लाग्न भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बताए। उनले सबैको साथ भएमा नगरपालिकाको अभियान सफल तथा सार्थक रुपमा पूरा हुने बताए। परम्परा, धर्म र संस्कृतिको नाममा जातीय छुवाछुतका साथै महिनावारी भएकी महिलालाई अछुत व्यवहार गर्नु चलन पनि अन्त्य गर्नुपर्ने भेरी नगरपालिका–२ की लक्ष्मी खड्काले बताइन्।

सामाजिक एकता सदभाव र समानतालाई विवेकपूर्ण कर्मले स्थापित गर्न सबैको ध्यान विभेदविरुद्ध जानुपर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। उनले धामीझाक्री पुरोहित ज्योतिषी तथा पुजारीहरुले जातीय छुवाछुतविरुद्ध लाग्नु भनेको निकै खुसी र गर्वको विषय भएको बताए।
 

प्रकाशित: २९ माघ २०७६ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App