१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरका जनतामा कोरोनाको त्रास

भक्तपुर- जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ। ब्यानरमा पाँच नारा लेखिएका छन्। गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन्।

गेटमा प्रहरी तैनाथ छन्। प्राधिकरणको गेटअगाडि अचेल दैनिक स्थानीय बासिन्दाले सरकारविरुद्ध नाराबाजी गर्ने गरेका छन्। कोही नारा लगाइरहेका देखिन्छन्, महिला र ज्येष्ठ नागरिकको मुहारमा निकै चिन्ता र त्रास देखिन्छ। बस्तीको बीचमा रहेको प्राधिकरणमा सरकारले चीनबाट फर्काउन लागेका १ सय ८५ नेपालीलाई राख्ने क्वारेन्टाइन बनाएपछि यस क्षेत्रमा दैनिक देखिएका दृश्य हुन् यी।

आज खरिपाटीको गेटमा उभिएका स्थानीय ५६ वर्षीय राजाराम कार्कीले निकै चिन्ता व्यक्त गर्दै भने, 'हामी यही ठाउँमा बस्छौँ, चीनबाट सरकारले फर्काउन लागेका नेपालीलाई यहीँ राख्ने भएछ, यहाँ रोग फैलियो भने त हामी सबै सिधिन्छौं, सरकारले हाम्रो सुरक्षाको बेवास्ता किन गरेको होला?' उनी मात्रै होइन, यतिखेर सिङ्गो जिल्लाका बासिन्दामा बढेको त्रास र चिन्ता हटाउन सम्बन्धित निकायले खासै पहल गरेको छैन। सरकारले चीनबाट कोरोना भाइरस सङ्क्रमित भएका नेपालीलाई होइन, स्वस्थ्य नेपाली नागरिकलाई ल्याउने हो र उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर परीक्षण मात्रै गर्ने हो भनेरसम्म पनि स्थानीय जनतालाई बुझाउन सकेको छैन।

'स्थानीय बासिन्दालाई भाइरस सङ्क्रमि होइन, स्वस्थ्य नागरिक ल्याएर परीक्षणमा राख्ने मात्रै हो भन्ने कुराको जनचेतना मात्रै दिन सकेको भए पनि यति धेरै त्रास र आक्रोश हुने थिएन, स्थानीयवासीको विरोधका बाबजुद प्रहरी तैनाथ गरेर जवरजस्ती क्वारेन्टाइन बनाएपछि त्रास र आक्रोश बढेको हो', चाँगुनारायण नगरपालिकाकी महिला जनप्रतिनिधि कमला गिरीले भने।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले घना बस्ती, पर्यटकीय क्षेत्रलाई बेवास्ता गरेर क्वारेन्टाइन बनाउन यो ठाउँको छनोट गर्नु गलत भएको बताए। नगर प्रमुख सोमप्रसाद मिश्रले स्थानीय सरकारसँग कुनै समन्वय नै नगरी हस्तक्षेप गरेर क्वारेन्टाइन राख्न खोज्नु गलत भएको बताए।

प्रकाशित: २९ माघ २०७६ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App