१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बुढीगण्डकीले बाँड्यो २८ अर्ब मुआब्जा

बुढीगण्डकी आयोजनाको कार्यालय ।

गोरखा- राष्ट्रिय गौरबको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिकरणको क्रममा २८ अर्ब १८ करोड ३१ लाख रुपैयाँ मुआब्जा वितरण भएको छ। आयोजनाबाट अधिकरणमा परेका गोरखा र धादिङका २१ हजार एक सय ५९ जग्गाधनीको ४५ हजार सात सय ७७ रोपनी क्षेत्रफल जग्गाको उक्त रकम निकासा भईसकेको आयोजना कार्यालयले जनाएको छ।

आयोजनाको गण्डकी गाउँपालिका सिउरेनीटारस्थित पुर्नस्थापना एवं पुर्नबास इकाईका प्रमुख कृष्णबहादुर कार्कीले गोरखा तर्फ सात हाजार आठ सय ३१ जग्गाधानीको २३ हजार तीन सय ३१ रोपनी जग्गाको १४ अर्ब ७९ करोड ७६ लाख मुआब्जा वितरण गरिएको बताए। बाँकी धादिङ जिल्ला तर्फ वितरण भएको हो।

विस्थापित हुने तीन हजार घरधुरीमध्ये एक हजार छ सय ७२ गोरखा र बाँकी धादिङ जिल्ला तर्फ रहेका छन्। आयोजना कार्यालयले अहिले गोरखाको आरुघाट, आर्खेत, धादीङको बिसालनगर र खहरेको मुआब्जा वितरण गरिरहेको छ। बजार क्षेत्रको मुआब्जा ढिला गरी दुई महिनाअघि मात्रै निर्धारण भएर वितरण सुरु भएको हो। आयोजना निर्माण स्थलका लागि करिब ५८ हजार रोपनी जग्गाको मुआब्जा दिनुपर्ने आयोजना प्रमुख कृष्णबहादुर कार्कीले बताए।

अधिकरणमा भने एक लाख ३० हजार रोपनी पर्नेछ। मुआब्जा दिइएका बाहेक सरकारी जग्गा धेरै आयोजना स्थलमा पर्ने हुँदा मुआब्जाको भार राज्यलाई कम परेको छ। ‘जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा छ’ आयोजना प्रमुख कार्कीले भने ‘बैंकमा धितो भएका केहीले बाहेक अधिकांशले लालपुर्जा बुझाएका छन्।’

घरगोठको मुआब्जा असार अघि
बजार क्षेत्रको घरगोठको लगत संकलन बाँकी छ। यसअघि मुआब्जा वितरण भएका ठाउँमा भने लगत संकलन भएर घरको ह्रासकट्टि गरेर मुआब्जा वितरण गर्ने वा नगर्ने भन्नेमा अन्यौल छ। ‘उर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई ह्रासकट्टी नगर्न सुझाबसहितको पत्र पठाएपछि अर्थले आयोजनाबाट राय पनि लिइसकेको छ’ आयोजना प्रमुख कार्कीले भने ‘हामीले जवाफ पठाइसकेका छौँ, अर्थमन्त्रालयबाट निर्णय भएपछि घरगोठ र बोटबिरुवाको मुआब्जा वितरण सुरु हुन्छ।’

असार अगावै वितरण गरिसक्ने योजना रहेको कार्कीले बताए। ह्रासकट्टी नहुने संभावना धेरै रहेको आयोजनाले जनाएको छ। गोरखा तर्फ साविकको १४ गाविसका एक हजार छ सय ७२ घरधुरी विस्थापित हुने आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ। घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा कति दिने भन्ने यकिन भने भईसकेको छैन।

आयोजनाबाट विस्थापित हुने सरकारी संरचना र डुबानमा पर्ने जग्गाको सट्टा अन्यत्र व्यवस्थापन गर्ने योजना रहेकाले मुआब्जा दिनु नपर्ने योजना कार्यालयले जनाएको छ। सरकारी विद्यालय, स्वास्थ्य चौकी लगायत संस्थाको मुआब्जा दिने योजना भने आयोजना कार्यालयको छैन। बस्ती पुर्नबास गरिएको ठाउँमा ती संरचना पनि स्थानान्तरण गर्ने योजना रहेको इकाई प्रमुख कार्कीले बताए। बजार क्षेत्रमा रहेका घरगोठको लगत लिन केही दिनमै प्राविधिक टोली जाने जिल्ला मुआब्जा समितिले निर्णय गरिसकेको छ।

अलमलमा पुर्नस्थापना
आयोजना कार्यालयले पुर्नस्थापना गर्ने ठाउँको जग्गा रोक्का गरेपनि विस्थापित हुनेहरु खुसी छैनन्। पाएक नपर्ने ठाउँमा आयोजनाले कुनै छलफल बिना वस्ती पुर्नस्थापना गर्ने गरी जग्गा रोक्का गरेको आरोप स्थानीयको छ। गाउँपालिका एवं वडा कार्यालयले पनि कुनै जानकारी नभएको जनाएको छ। भिमसेन थापा गाउँपालिका-८ का अध्यक्ष बासु थापाले विस्थापित हुने वडाबासीलाई उनीहरुले इच्छा गरेको र पाएक पर्ने ठाउँमा राख्नुपर्ने बताए। ‘हामीले रोक्का गरेको ठाउँ बारे थाहा पाएपछि त्यहाँ हुँदैन भनेर निवेदन दिएका छौँ’ उनले भने।

आयोजना कार्यालयले गोरखा तर्फ साविकको दर्बुङ गाविसको ५, नाम्जुङ, बोर्लाङ, आरुघाटको साविकको वडा नम्बर १ र २ मा स्थानान्तरण गर्ने गरी ती ठाउँको जग्गा रोक्का राखेको छ। धावा गाविसको ३,८ र ९ नम्बर वडामा पनि जग्गा रोक्का गरिएको छ। आयोजना प्रमुख कृष्णबहादुर कार्कीले पहिले वातावरणीय प्रभाव मूल्याङ्कनका क्रममा ती ठाउँ सिफारिस भएको बताउँदै भने ‘विस्थापित हुने जनताको असन्तुष्टि र ठाउँबारे हामीले उर्जा मन्त्रालयमा पत्राचार गरेका छौँ, मन्त्रालयले निर्णय गरिसकेको छैन।’

 

प्रकाशित: २९ माघ २०७६ ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App