१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आपको ह्याट्रिक, लगातार दोस्रो पटक दुईतिहाई बहुमत

नयाँ दिल्ली (एजेन्सी) – सत्ताधारी दल आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभामा लगातार तेस्रो पटक सरकार बनाउने भएको छ।

मंगलबार सार्वजनिक मतपरिणाममा स्पष्ट दुईतिहाई सिट आएपछि आपले लगातार तेस्रो पटक सरकार बनाउने भएको हो।

विधानसभामा चुनावी नतिजा सार्वजनिक भएका ६८ सिटमध्ये आपले ६२ सिटमा विजयी हासिल गरेको छ। यस्तै, भारतीय जनता पार्टी (भाजपा)ले ८ सिटमा जित निकालेको छ। दिल्ली विधानसभामा ७० सिट छन्।

नयाँ दिल्ली सिटमा आप संयोजक एवं दिल्लीका मुख्यमन्त्री केजरीवाल भारी मतले विजयी भएका छन्। उनले भाजपाका सुनीलकुमार यादवलाई २१ हजार ६ सय ९७ मतअन्तरले पराजित गरे। केजरीवालले ४६ हजार सात सय ५८ मत पाउँदा यादवले २५ हजार ६१ मत ल्याए।

चुनावमा आपले लगातार दोस्रो पटक दुईतिहाई बहुमत पाएको छ। दिल्ली विधानसभामा दुईतिहाई बहुमतका लागि ४७ सिट आवश्यक पर्छ।

मतगणनाको प्रारम्भिक नतिजाकै क्रममा अग्रता देखिएपछि आपका राष्ट्रिय संयोजक तथा मुख्यमन्त्री अरविन्द केजरीवालले आइटिओस्थित पार्टी मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले आफ्नो पार्टीलाई बहुमत दिएकोमा दिल्लीका मतदातालाई ‘आई लभ यु’ भनेका छन्।

केजरीवाललाई बधाईको ओइरो
विधानसभा चुनावमा दुईतिहाई बहुमत हासिल गरेसँगै केजरीवाललाई बधाईको ओइरो लागेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटर ह्यान्डलवाट ट्विट गर्दै केजरीवाललाई बधाई दिएका छन्। उनले ट्विटमा लेखेका छन्– ‘आप तथा अरविन्द केजरीवाललाई दिल्ली विधानसभा चुनावमा जित हासिल गरेकोमा बधाई। उनले दिल्लीका जनताको आकांक्षा पूरा गर्न सकुन्, यसका लागि शुभकामना।’

यस्तै, कांग्रेस पूर्वअध्यक्ष राहुल गान्धी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, केरलाका मुख्यमन्त्री पिनाराई विजयन, समाजवादी पार्टीका अध्यक्ष र उत्तर प्रदेशका पूर्वमुख्यमंत्री अखिलेश यादवलगायतले केजरीवाललाई बहुमत जित हासिल गरेकोमा बधाई दिएका छन्।

विधानसभा पराजयलाई स्वीकार्छाैं 
भाजपा यसैबीच, भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाले विधानसभामा पराजयलाई स्वीकार गरेको बताएका छन्। ‘भाजपा दिल्लीका जनताले दिएको जनादेशको सम्मान गर्छ। सबै कार्यकर्ताले यस चुनावमा अथक परिश्रम गरे तथा दिनरात चुनावमा सक्रिय रहे। सबै कार्यकर्तालाई हृदयबाट अभिनन्दन तथा साधुवाद,’ उनले आफ्नो ट्विटर ह्यान्डलवाट ट्विट गरेका छन्।

कांग्रेसका ६७ उम्मेदवारको धरौटी जफत
विधानसभा चुनावमा भारतीय कंग्रेसका ७० मध्ये ६७ उम्मेदवारको धरौटी जफत हुने भएको छ। कूल मतको ६ प्रतिशत मत नपाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ।

कंग्रेसले कूल मतको पाँच प्रतिशतभन्दा कम मत पाएको छ। भारतीय निर्वाचन आयोगका अनुसार कंग्रेसका अधिकतर प्रत्यासीले पाँच प्रतिशतभन्दा कम मत पाएका छन्।

दिल्ली कांग्रेसका अध्यक्ष सुभाष चोपडाकी छोरी शिवानीको कालकाजी सिटबाट धरौटी जफत भएको छ। यस्तै, विधानसभाका पूर्वअध्यक्ष योगानन्द शास्त्रीकी छोरी प्रियंका सिंहले आफ्नो धरौटी जफत हुनबाट जोगाउन सकिनन्। यस्तै, कांग्रेस प्रचार समिति अध्यक्ष कीर्ति आजादको पनि संगम विहार सिटबाट धरौटी जफत भएको छ।

कंग्रेसले जनादेश स्वीकार गरेको तथा राष्ट्रिय राजधानीमा पार्टीको नवनिर्माणको संकल्प लिने बताएको छ। दिल्ली प्रदेश कांग्रेस कमिटी अध्यक्ष सुभाष चोपडाले हारको नैतिक जिम्मेवारी लिने बताउँदै पदबाट राजीनामा गरेका छन्।

कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले पत्रकारसँग भने, ‘जनताले आफ्नो जनादेश दिएका छन्। जनादेश कांग्रेसको विरुद्ध छ, हामी कांग्रेसको तर्फबाट यो जनादेशलाई विनम्रतापूर्वक स्वीकार गर्छाैं।’
यसअघि सन् २०१५ को विधानसभा चुनावमा आपले ६७ सिटमा र भाजपाले ३ सिटमा विजय हासिल गरेका थिए। 

प्रकाशित: २९ माघ २०७६ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App