१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

स्वास्थ्य क्षेत्रमा वास्तु र रङको प्रभाव

डा.राजकुमार सुवेदी
                                                                                                                                                                               जुन गतिले आवादी बढिरहेको छ । त्यो भन्दा पनि तेज गतिले रोग बढिरहेको छ । बिरामीको अवस्थाको हिसाबले अस्पताल, क्लिनिक, डायनोस्टिक सेन्टर, मेडिकल स्टोर पनि तीव्र गतिले बढिरहेको छ । हामीले विचार गर्नुपर्ने कुरा के छ भने वास्तु शास्त्रीय सिद्धान्तलाई पालना गर्दै व्यावसायिक सफलता बढाउँदै लैजान सकिन्छ । अस्पताल, क्लिनिकजस्ता स्वास्थ्य संस्था निर्माणका लागि भूमि चयन गर्दा राम्रोसँग सोचविचार गर्नु पर्दछ ।

बस स्ट्याण्ड, रेल्वे स्टेसन, एअरपोर्ट, नेसनल हाइवे, घना आवादी भएको ठाउँमा जमिन मिलेमा राम्रो हुन्छ । यातायातको सहज आवागमन एवं भूमिको अगाडि र आसपास खुला र पर्याप्त जमिन हुनु राम्रो हुन्छ । फोहोर थुपारेको भूमि, श्मशान, कब्रस्थान, ग्रेवयार्ड, नाला बग्ने खालको भूमिमा अस्पताल निर्माण गर्नु हुँदैन । बनाउनै पर्ने अवस्थामा भूमि शुद्धि र अन्य वैदिक शुद्धि गरेर मात्र अस्पताल बनाउनु पर्दछ ।

अस्पतालको मुख पूर्व वा उत्तर फर्काएर बनाउनु पर्दछ । आग्नेय अथवा बायव्य कोणमा मुख फर्काएर अस्पताल बनाउनु हुँदैन । अस्पतालको अगाडि र दायाँ बायाँ सकेसम्म खुला स्थान हुुनु आवश्यक छ । ढोकाबाट प्रवेश गर्ने बेलामा, अगाडि नै प्रत्यक्ष रुपमा बेडमा सुतेका बिरामीहरु देखिने गरी ढोका राख्नु राम्रो हुँदैन । ढोकाको ठीक सामुन्ने डाक्टर बसेर बिरामी जाच्ने खालको कोठा बनाउनु हुँदैन । इन्जेक्सन, मलमपट्टीकक्ष पनि ढोकाको ठीक अगाडि राख्नु हुँदैन । अस्पताललाई आवश्यक पर्ने जेनेरेटर, इन्भर्टर, विद्युतीय उपकरण, स्टेरेलाइजेसन, इन्जेक्सन, एक्सरे मेसिनआदिलाई अस्पतालको आग्नेय कोणमा व्यवस्थित गर्नु पर्दछ । त्यसैगरी अप्रेसन थिएटर, नर्सिङ स्टाफ कोठासमेत आग्नेय कोणमा राख्नु पर्दछ । ओ.पी.डी. को स्थापना भवनको वायव्य कोणमा, पूर्व वा दक्षिणमा गर्नुपर्दछ । इन्डोर वार्ड वायव्य वा दक्षिणमा बनाउनु पर्दछ ।

आपतकालीन वार्डको निर्माण अस्पतालको वायव्य अथवा नैऋत्य कोणमा बनाउनु पर्दछ । बिरामीलाई परीक्षण गर्ने बेला डाक्टरको मुख दक्षिणतर्फ हुनु आवश्यक छ । सम्भव नभए पूर्व वा पश्चिमतर्फ पनि डाक्टरलाई फर्काउन सकिन्छ । विचार गर्नुपर्ने कुरा के छ भने बिरामीलाई परीक्षण गर्दा रोगीको मुख दक्षिणतर्फ नहोस् भन्ने हो । परीक्षण कोठामा प्रकाशको राम्रो प्रबन्ध भएको हुनु पर्दछ । सकेसम्म सूर्यकै प्रकाश परीक्षण कक्षामा परेमा अति नै राम्रो हुन्छ । अप्रेसन थिएटरलाई पूर्व वा उत्तरतर्फ फर्काएर राख्नु पर्दछ । अप्रेसन गर्ने समयमा मुख्य डाक्टरको मुख पूर्व वा उत्तरमा हुनुपर्दछ ।

अप्रेसन थिएटरलाई यसरी मिलाएर राख्नु पर्दछ कि अप्रेसनको बेला रोगीहरु नडराऊन् । अप्रेसनका लागि आएका बिरामीका आफन्त एवं नातेदारलाई बस्नका लागि बाहिरपट्टि प्रतिक्षालय बनाउनु पर्दछ । टेलिभिजन ज्ञानवद्र्धक, धार्मिक पत्रिका र पिउने पानीको राम्रो व्यवस्था हुनुपर्दछ । इशान कोणलाई खाली एवं सबैभन्दा हलुका राख्नु उचित हुन्छ । पूर्वको तुलनामा उत्तरमा बढी झ्याल राख्नु पर्दछ । वार्डमा हावा एवं प्रकाशको समुचित व्यवस्था हुनुपर्दछ साथै भ्याण्टीलेसन बनाउँदा पूरा ध्यान दिई बनाउनु पर्दछ । कार पार्किङ स्थल अस्पतालको पूर्व वा उत्तरमा राख्न सकिन्छ । अस्पतालको वरिपरि विभिन्न प्रकारका फलफूल र वृक्षहरु लगाउनु पर्दछ ।

अन्धकार, घृणा, अहंकार, अस्वच्छता, अज्ञानता, लालच एवं फोहरका कारण मनुष्यको मस्तिष्कमा नकारात्मक ऊर्जा उत्पन्न हुन्छ यसकारण अस्पताललाई सकारात्मक ऊर्जाले ओतप्रोत राख्नुपर्दछ । अस्पतालमा मेडिकल स्टोर राखिन्छ भने त्यसको ढोका उत्तर वा पूर्वमा हुनुपर्दछ । अस्पतालमा भएका बिरामीलाई उत्तर दिशामा राख्नुपर्दछ । विकल्पमा पश्चिम वा वायव्यकोणमा पनि राख्न सकिन्छ । अस्पतालमा पिउने पानीको व्यवस्था इशानकोणमा हुनुपर्दछ । अस्पतालको  दक्षिण–पश्चिम दिशातर्फ क्यास काउण्टर राख्नु पर्दछ । आवत–जावतका लागि ढोका उत्तर वा पूर्वतर्फ खुल्ने गरी बनाउनु पर्दछ । शल्य चिकित्सा कक्ष   अस्पतालको पश्चिम दिशामा बनाउनु पर्दछ । अप्रेसन कक्षामा जुन रोगीको अप्रेसन गर्नु छ, उसको शिर दक्षिण दिशामा हुनुपर्दछ । अस्पतालको शौचालय दक्षिण वा पश्चिममा हुनुपर्दछ । स्नान घर पूर्व वा उत्तर दिशामा बनाउनु पर्दछ । अस्पतालका भित्ताहरुको रङ सफेद वा हल्का निलो लगाउनु पर्दछ । अस्पतालमा बिरामीहरुको ओछ्याउने विस्तराको रङ सेतो र ओढ्ने रङ गुलावी एवं रातो हुनु पर्दछ । किनभने बिरामीहरुका लागि रातो रङ स्वास्थ्यवर्धक हुन्छ ।

अस्पतालको रङ – वास्तुशास्त्रमा अस्पतालको सजावट एवं रङले हाम्रो मनमा प्रभाव पर्दछ भन्ने विषयाम चर्चा भएको पाइन्छ । ऋषि, ज्योतिषी एवं वास्तुशास्त्रीहरुले मनका भावलाई नौ वटा रसमा वर्गीकरण गरी विभिन्न रङसँग सम्बन्ध जोडिएको पाइन्छ । अस्पतालको उच्च सजावटका लागि विभिन्न प्रकारका रङ आवश्यक हुन्छ । सूर्यको प्रकाशमा सात रङ मिसिएको हुन्छ । प्रकाशको परावर्तन सँगसँगै त्यहाँ भएका विभिन्न एवं विशिष्ट रङ, कीरणद्वारा वातावरणमा फैलिएको हुन्छ । यस्ता रङ र तरंगले हाम्रो मानसिक स्थितिलाई विशेष प्रभाव पार्ने गर्छ । रङ शास्त्रीहरुले भनेका छन्, रातो एवं केशरी जस्तो पहेँलो रङले हाम्रो मनमा उत्तेजना पैदा गर्दछ । सामान्य पहेँलो छिरबिरे रङले उत्साह एवं उल्लास बढाउँछ । निलो वा हल्का खैरो रङले हाम्रो मनमा शान्ति र प्रशन्नता पैदा गर्दछ । कालो रङले शोक र निराशा पैदा गर्दछ ।

अब अस्पतालमा कुन रङ कहाँ लगाउने भन्ने विषयमा चर्चा गरिन्छ – भोजन बनाउने तथा खानाखाने कक्षमा, खेल (मानसिक उपचार) सम्बन्धि कक्षमा, दिनमा वस्ने कक्षमा एवं बैठक कक्षमा रातो रङ लगाउनु पर्दछ । अस्पतालको शयन कक्ष, लवी एवं मानसिक (मनोरञ्जन) कक्षमा गुलावी रङ लगाउनु पर्दछ । त्यसले गर्दा अस्पतालका बिरामीलाई सदैव आनन्दको अनुभूति प्राप्त हुन्छ । भोजन कक्ष, रोग अध्ययन कक्ष, भगवान् कक्ष आदिमा पहेँलो, रातो र मिश्रित रङ लगाउनु पर्दछ । यसबाट बिरामीको मनमा उमंग, उत्साह एवं हर्ष बढ्न जान्छ । अस्पतालको प्यासेज वा बाहिरी पर्खालमा सेतो वा हल्का पहेँलो वा हल्का निलो रङ लगाउनु राम्रो हुन्छ ।

यसले गर्दा उत्साह एवं मनोबल बढ्न गई राम्रोसँग कार्य सम्पादन हुन्छ । बिरामीले पत्रिका पढ्ने ठाउँ, आगन्तुक बस्ने कक्ष र शयन कक्षमा हल्का पहेँलो रङ लगाउनु पर्दछ । पहेँलो रङ प्रशन्नता र शान्ति दुवै प्रदान गर्ने रङ हो । अस्पतालको दक्षिणतर्फको शयन कक्ष, पूजा घरको वाहिरी वाल, धेरै चलखेल गर्ने खालको कोठामा गाढा निलो रङ लगाउनु पर्दछ । यसको प्रभावले बिरामीहरुले रोग र अन्य तनावबाट शीघ्र मुक्ति प्राप्त गर्न सक्दछन् । शयन कक्ष एवं अस्पतालको प्रवेशद्वारमा जामुनी रङ लगाउनु पर्दछ । यस रङको शक्तिले आत्मविश्वास बढाउने र मानसिक तनावबाट मुक्तिदिने हुन्छ ।

त्यसैगरी बिरामीहरुको खाना बन्ने कक्ष, स्नान कक्ष, र दिनमा धेरै प्रयोग हुने कक्ष आदिमा हरियो रङ वा हल्का निलो रङ लगाउनु पर्दछ । यस्तो रङको प्रभावले मनमा आशा, हर्ष, उल्लास, परस्पर स्नेह, सौहाद्रभाव एवं सुख सन्तोष प्राप्त हुन्छ । रङको मनुुष्य जीवनमा निकै ठूलो एवं विशिष्ट योगदान छ । विभिन्न ग्रहका दुष्प्रभाव तथा व्यापार व्यवसायमा समस्या हटाउन रङको महत्वपूर्ण भूमिका रहेको हुन्छ । अस्पतालमा रहेका बिरामीहरु शीघ्र स्वास्थ्यलाभ गर्न र अस्पतालको उन्नतिका लागि समेत रङको र वास्तुको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

अस्पतालको प्रवेश मार्गमा वृक्ष, खम्बा, कुवा, नलकुव, सेफ्टीट्याङकी, दूषित हावा निस्कने पाइप आदि हुनुहुँदैन र अस्पतालको मुख्य प्रवेश मार्गका भित्तामा कालो रङ लगाउनु हुँदैन । यस्ता वास्तुसम्बन्धी नियम पालना गर्नाले अस्पतालमा धनात्मक ऊर्जा उत्पन्न भई छिटो रोग निको हुने र बिरामीलाई  सुख शान्ति मिल्दछ । सबै प्रकारका बाधक तत्व निवारणार्थ मुख्य भवनको उचाइ अधिक हुनु पर्दछ । ढोका एवं गेट राख्दा वास्तु नियम पालना गरी राख्नु पर्दछ । उत्तर वा पूर्व दिशातर्फ अस्पतालको मुख्य गेट राख्नु उपयुक्त हुन्छ । गेट वा ढोकामा रातो वा पहेँलो रङ लगाउनु पर्दछ । कालो र खैरो रङ गेटमा कहिल्यै लगाउनु हुँदैन ।

 

प्रकाशित: २८ माघ २०७६ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App