१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संशोधन विधेयक संसदमा पेस गर्ने काँग्रेस र मोर्चाकाे सहमति

काठमाडौँ–  नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधन विधेयक संसद्मा पेस गर्ने सहमति भएकाे छ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको काँग्रेस र मोर्चाबीचको बैठकमा सो सहमति भएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसका नेता गोपालमान श्रेष्ठले अब बस्ने व्यवस्थापिका–संसद्को बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन ऐन प्रस्तुत गरिने जानकारी दिँदै नेकपा एमालेसँग सो विषयमा छलफल गरिने तर संसद् अवरोध भए पनि विधेयक पेस गर्ने कुरा नरोकिने बताए।

मधेसी जनाधिकार फोरम नेपाल (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले काँग्रेसको सहमतिमा सरकारले संशोधन प्रस्ताव दर्ता गरेकाले पेस गर्ने कुरामा आफूहरुले पूर्ण रुपमा सहयोग गर्ने बताउँदै विसं २०७४ माघभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले संशोधन प्रस्ताव पारित गराउने कुरामा मोर्चा लाग्ने स्पष्ट गरे।

बैठकमा काँग्रेसका सभापति शेरबहादुर देउवा, नेता श्रेष्ठ र प्रकाशमान सिंह, मोर्चाका तर्फबाट तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत नेताको उपस्थिति थियो । रासस

प्रकाशित: १५ पुस २०७३ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App