१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संशोधन प्रस्ताव अायातित हाे, छलफल गर्न लायक नै छैनः महासेठ

काठमाडौं– नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुविर महासेठले संविधान संशोधन प्रस्ताव राष्ट्रहितविपरीत भएकोले यो प्रस्ताव संसदमा छलफल नै गर्न लायकको नभएको टिप्प्णी गरेका छन्। सरकारले संविधान संशोधन प्रस्तावमा उल्लेख गरेका विषयहरु राष्ट्रको हितमा नभएकै कारण आफ्नो पार्टीले यसको विरोध गरिरहेको उनले स्पष्ट पारे।

‘वर्तमान सरकारले अघि सारेको प्रदेशको सीमांकनको संशोधन प्रस्ताव कुनै हालतमा राष्ट्रको हितमा छैन,’ रिपार्टर्स क्लबमा शुक्रबार उनले भने, ‘यो त मदारीले बाँदर नाँच देखाएको जस्तो हो, नाँच्ने बाँदरलाई केही थाहा हुँदैन्।’

उनले नागरिकताको सवालमा अंगीकृत नागरिकताको विषय संशोधन प्रस्तावमा उठाइएको कुरामा आफूहरु कुनै हालतमा सहमत हुन नसक्नेसमेत ठोकुवा गरे। ‘स्वयं मधेशी मोर्चाले उठाएका कुन चाहीं माग यो संशोधन प्रस्तावले पूरा गर्छ, मलाई देखाउनुहोस् त,’ उनले भने, ‘अंगीकृत नागरिकतालाई अब कडाभन्दा कडा बनाइनुपर्छ, मधेशमा जन्मसिद्ध नागरिकता लिनलाई समस्या छ, तिनीहरुको भविष्यको बारेमा कुनै चिन्ता छैन, अनि अंगीकृतलाई नागरिकता दिने कुरा किन गरियो?’
उनले एमाले कुनै हालतमा मधेशविरोधी पार्टी नभएको समेत जिकिर गरे। ‘एमाले कसरी मधेश विरोधी पार्टी भयो?,’ उनले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको लागि साँढे चार अर्ब बजेट निकासा भयो, बृद्ध भत्ता दोब्बर भयो, यो मधेशविरोधी काम हो र? म प्रश्न गर्न चाहन्छु।’

उनले सरकारले अघि सारेको संशोधन प्रस्तावको पक्षमा कतै पनि आवाज उठेको दाबी गर्दै भने, ‘बरु यो संशोधन प्रस्तावको विरुद्धमा ७५ वटै जिल्लामा आन्दोलन भएको छ।’

उनले मधेशी मोर्चाले संविधान संशोधन प्रस्ताव पारित नभए कुनै पनि निर्वाचन हुन नदिने भनेर शुक्रबार गरेको निर्णय मधेशी मोर्चाको निर्णय नभएको समेत ठोकुवा गरे। महासेठले अघि थपे, ‘यो उहाँहरुको निर्णय होइन, यो इम्पोर्टेड(आयातित) निर्णय हो, किनकी यो संशोधन प्रस्तावमा मधेशी मोर्चाका साथीहरुको कुनै पनि माग समावेश छैन।’
नेता महासेठले मधेशी मोर्चालाई आफ्ना कार्यकर्ता र पार्टीमा पनि स्वयं विश्वास नभएको बताए। ‘उहाँहरुलाई स्वयम आफ्नो पार्टी र कार्यकतासँग विश्वास छैन, चुनावमा के हुने हो भनेर।’

वर्तमान सरकारका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिप्रति कडा रुपमा प्रस्तुत भएका नेता महासेठले भने, ‘गृहप्रशासन अहिले निधिकरण भैरहेको छ, काँग्रेसीकरण भए त बेग्लै कुरा, निधिकरण भएको छ, पूरा देशमा तरस्करी र भ्रष्टाचार बढेको छ, सरकारका जुन मन्त्रीले काम विगारे पनि त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ, आज बोर्डर खुल्ला छ, तर पुलिसको अत्तोपत्तो छैन, कोही पुलिसका हाकिमहरु गृहमन्त्रालय वरिपरि घुमिरहेका छन्, कोही चुप लागेर बसेका छन्।’
उनले प्रमुख दलहरु काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनाव गर्ने हो भने कसैको विरोधले केही अर्थ नराख्ने जिकिर गरे।

‘यी तीन दल मिलेर चुनावमा होमिने हो भने देशमा चुनाव हुन्छ,’ उनले भने, ‘तराई, पहाड र हिमाल कसैको दाइजो होइन।’  
 

प्रकाशित: १५ पुस २०७३ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App