१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माटो पुर्न ६४ लाख खर्च, उपलब्धि शून्य

प्राविधिक मूल्यांकनमा ६४ लाख रकमको माटो पुरिएको रंगशाला। तस्बिर : नागरिक

बारा – प्रदेश सरकारबाट सञ्चालन गरिएका याेजनाहरूको भुक्तानी नपाएको भन्दै प्रदेशसभा अवरोध भइरहेको अवस्थामा बारामा प्रदेश सरकारबाट सञ्चालन गरिएका योजनाहरूमा व्यापक अनियमित भएको पाइएको छ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट सञ्चालन गरिएको एउटै योजनामा ४८ लाख रुपैयाँ माटो पुर्ने काममा भुक्तानी गरिए पनि त्यसको उपलब्धि शून्य रहेको बताइएको छ।

माटो पुर्ने काम र गरिएको भुक्तानी हेर्दा कागजी प्रकिया पूरा गरेर नै बजेट रकममा अनियमितता भएको प्रष्ट हुने स्थानीयको आरोप छ।

महागढीमाई नगरपालिका–१० स्थित पसाह खोलाकिनारमा रंगशाला निर्माण गर्न आर्थिक वर्ष २०७५/०७६ मा सहरी विकास तथा भवन कार्यालय पर्सा, वीरगन्जले ४८ लाख रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरिको थियो।

रंगशाला निर्माणस्थलमा पुरिएको माटोको मूल्यांकन, श्रमदान र कन्सन्टेन्सी गरेर ६४ लाख रकमको बिल–भरपाई आए पनि रंगशाला निर्माण उपभोक्ता समितिलाई ४८ लाख रुपैयाँ भुक्तानी गरिएको सहरी विकास तथा भवन कार्यालय पर्साका प्रमुख सरोजकुमार गोइतले बताएका छन्।

विनयकुमार यादवको अध्यक्षतामा रहेको रंगशाला निर्माण उपभोक्ता समितिबाट रंगशाला निर्माणको नाममा खोला किनारमा पुरिएको माटोले खासै उपलब्धि नदिने गन्ज–भवानीपुरका स्थानीयको भनाइ छ।

योजनाका साइट–इन्चार्जले गरेको प्राविधिक मूल्यांकनका आधारमा नै ६४ लाख रुपैयाँ माटो पुर्ने काममा रकम खर्च भएको र त्यसमा श्रमदान र कन्सन्टेन्सी गरेर ४८ लाख रुपैयाँ भुक्तानी गरिएको प्रमुख गोइतले तर्क गरे।

योजनाका साइट–इन्चार्ज रहेका सहरी विकास तथा भवन कार्यालय पर्साका सब–इन्जिनियर वीरेन्द्र साहले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट माटो पुर्ने नाममै बजेट आएकोले त्यसलाई माटो पुर्ने काममै खर्च गरिएको बताएका छन्। माटो पुर्ने काममा खर्च गरिएको बजेट भौतिक पूर्वाधार निर्माणमा खर्च गरिँदा बढी उपलब्धिमूलक हुने भए पनि बाध्य भएर माटो पुर्ने कामको भुक्तानी गर्नुपरेको साहले बताए।

कागजी प्रक्रियामा ६४ लाख रुपैयाँको माटो पुरिएको भनिए पनि रंगशालास्थलमा हेर्दा माटो पुरिएको भनिएका जग्गाहरूमा स्थानीयले खेतीपाती गरेको देखिन्छ भने कुनै भागमा पुरिएको माटो नमिलाई त्यसै छोडिएको छ।

माटो पुर्ने काममा उपभोक्ता समितिका पदाधिकारी, वाड नम्बर १० का वडाध्यक्ष चन्दनकुमारको सहयोगमा थोरै काम गरेर धेरै रकमको बिल–भरपाई पेस गरी सहरी विकास तथा भवन कार्यालय पर्सा वीरगन्जका कर्मचारीहरूको मिलोमतोमा रंगशाला निर्माणको लागि आएको बजेट रकममा दुरूपयोग भएको गन्ज–भवानीपुरका स्थानीय इन्द्रदेव यादवले आरोप लगाए।

यादवका अनुसार बजेट रकम दुरूपयोग गर्न वडाध्यक्ष चन्दनले गुपचुप तरिकाले उपभोक्त समिति गठन गर्न लगाएको र रंगशाला निर्माणमा नाममा सर्वसाधारणले खनजोत गर्दै आएको जग्गामा जबरजस्ती थोरै माटो पुरिएको छ। माटो पुरिएको जग्गामा अहिले पनि वडाध्यक्ष गुप्ताले आफ्नानजिकका व्यक्तिहरूलाई खेतीपाती गर्न दिएर बजेट रकम दुरूपयोग गरेको यादवको भनाइ छ। कलैया, गन्ज–भवानीपुर सडक खण्डको पसाह पुलभन्दा पूर्व र उत्तरतर्क रंगशालाको लागि सार्वजनिक जग्गाहरू १० लाख जति माटो पुर्ने काममा खर्च गरेर बाँकी रकमलाई बाँडीचुँडी खाएको यादवले बताए।

गाउँमा रंगशाला निर्माण गर्नु जरुरी रहेकाले प्रदेश सरकारबाट बजेट माग्न आफूले पहल र सहयोग गरे पनि खर्च गरिएको रकमका बारेमा आफूलाई थाहा नभएको वडाध्यक्ष चन्दन गुप्ताले बताए। प्राप्त रकमबाट धेरै क्षेत्रफलमा मात्र माटो पुर्न पुगेकाले खर्च गरिएको कामको प्रगति नदेखिएको गुप्ताको भनाइ छ।

प्रकाशित: २७ माघ २०७६ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App