१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनआरएनलाई सगुनमा लगानी गर्ने अवसर, २ अर्बको आइपिओ खुल्दै

काठमाडौं– अमेरिकी स्टक मार्केटमा सूचिकृत हुने तयारीमा रहेको सामाजिक सञ्जाल सगुनमा गैरआवासीय नेपाली (एनआरएन)ले लगानीको अवसर पाउने भएका छन्।

अमेरिकी जब्स एक्टअनुसार मिनी आइपिओ जारी गर्ने अनुमति पाएको सगुनले यस वर्ष सर्वसाधारणलाई मिनी इनिसियल पब्लिक अफरिङ (मिनि आइपिओ) गरेर २ करोड डलर (२ अर्बभन्दा बढी) संकलन गर्ने योजना सार्वजनिक गरेको छ।

अमेरिकामा बसेर सूचना प्रविधी क्षेत्रमा काम गरिरहेका एनआरएन गोविन्द गिरीको नेतृत्वमा स्थापना भएको सगुन इंक पब्लिक कम्पनीमार्फत आइपिओ जारी गर्न लागेको हो।

फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याटलगायका सामाजिक संजाल तथा म्यासेन्जरहरु स्थापित कम्पनी भई अर्बौं रुपैयाँ कमाइरहेको अवस्थामा नेपालीकै पहलमा स्थापना भएको सामाजिक सञ्जालले पनि लगानीको अवसर प्रदान गर्न लागेको हो।

सन् २०१५ देखि कार्यान्वयनमा आएको यस कानुनअनुसार यसरी मिनी आइपिओ जारी गर्न अनुमति पाउने सगुन पहिलो सामाजिक संजाल भएको यसका नेपाल प्रतिनिधी अजयबाबु शिवाकोटी बताउँछन्।

अन्य सामाजिक सञ्जालको तुलनामा फरक रुपमा प्रयोगकर्तालाई नयाँ स्किम ल्याएको सगुन प्रतिनीधि  शिवाकोटीले बताए। ‘सगुनले साइट चलाउनेबाट पैसा लिँदैन,’ उनले भने, ‘कमाएको नाफा यसका प्रयोगकर्ताहरुलाई समेत बाँड्ने योजना बनाएको छ ।

यो योजना चाँडै कार्यान्वयनमा आउने उनले बताए। विदेशमा रहेका नेपालीलाई लगानीको राम्रो अवसर भएको उनले बताए। अमेरिकी जब्स एक्ट नामक उक्त ऐनअनुसार उदाउँदा कम्पनीहरुले आफ्ना भावी परियोजना र वस्तु तथा सेवामा लगानी जुटाउन वर्षमा ५ करोड डलरसम्मको मिनी आइपिओ जारी गर्न पाउँछन्। सोही योजना अनुसार सगुनले मिनी आइपिओ जारी गर्न लागेको हो।

सामाजिक सञ्जाहरुले निकै प्रगति गरेका छन्। फेसबुक १ खर्ब डलर (१ सय १० खर्ब रुपैयाँ) बजार पूँजीकरणतिर उन्मुख होला भनेर सायद सपनामा पनि सोचेका थिएनन्। जानकारहरु भन्छन्, ‘सगुनको बजार मूल्य त्यस्तै नहोला भन्न सकिन्न।’
नेपालबाट सगुनमा लगानी गर्ने अवसर नपाए पनि नेपालबाहिर विभिन्न पेशा व्यवसायका नेपालीले पनि यो अवसर पाएका हुन्। विदेशमा खाता भएका यहाँका नागरिकदेखि विदेशमा वैधानिक रुपमा बस्दै आएका हरेकले लगानी गर्ने अवसर पाउने छन्।
सर्वसाधारणका लागि कम्पनीले मिनी आइपीओमार्फत कम्पनीको कुल भ्यालुको २१ प्रतिशत अर्थात् ८ लाख ७० हजार कित्ता शेयर जारी गर्ने जनाएको छ। त्यति सेयरमध्ये हरेकले कम्तिमा प्रतिकित्ता २३ डलरका दरले १३ कित्ता शेयर खरिद गर्न २ सय ९९ डलर (करिव ३३ हजार रुपैयाँ) लगानी गर्ने अवसर छ। यो विदेशमा रहेका नेपालीको लागि राम्रो अवसर हो ।

आइपिओ जारी गर्ने तयारी रहेकोले लगानीकर्ताले सगुन डटकममा आफूले कति कित्ता किन्न चाहेको भन्ने इच्छा जाहेर गर्न सक्छन्। अहिले इच्छा जाहेर गर्नेलाई सगुनले शुरुमै आइपिओ खुल्न लागेको इमेलमार्फत जानकारी दिनेछ।

आइपिओ खुलेपछि www.sagoon.com/invest अनलाइनबाटै आवेदन गर्न सकिने जनाइएकाे छ। आइपिओ किन्दा लाग्ने रकम आफ्नो खाताबाटै ट्रान्सफर गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ। नेपालबाट विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था नभएकाले यहाँबाट सगुनको आइपिओमा लगानी गर्ने अवसरबाट बञ्चित भएका हुन्। अहिलेसम्म कम्पनीको वेवसाइटमा २ हजार १ सय ५७ जनाभन्दा बढीले ३८ लाख १३ हजार डलरभन्दा बढी लगानी गर्ने इच्छा जाहेर गरेको कम्पनीले जनाएको छ।

नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल भए पनि यसमा विदेशी लगानीकर्ता पनि आकर्षित भएका छन्। यसमा खाता खोल्दा, साथी बनाउँदा, साथीलाई म्यासेज पठाउँदा नगद (रिवार्ड) प्राप्त गर्ने कम्पनीले जनाएको छ। नेपालमा सगुनको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए।

 

प्रकाशित: १५ पुस २०७३ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App