१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहगाउँमा सहिद र आमा सम्झँदै भक्कानिए सभामुख

गृहगाउँ सिन्धुपाल्चोक कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४३ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटा । तस्बिर : ध्रुव/नागरिक

कुविण्डे (सिन्धुपाल्चोक)- माओवादी ‘जनयुद्ध’ का सहिद र आमा सम्झिएर सभामुख अग्निप्रसाद सापकोटा गृहगाउँमा भक्कानिएका छन्। चौतारा–साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४३ औँ वार्षिकोत्सवमा शनिबार सहभागी भएका सापकोटा भावुक हुँदै भक्कानिन पुगे।

वार्षिकोत्सवको प्रमुख अतिथिको रुपमा मन्तव्य राख्ने क्रममा सभामुख सापकोटा दुई पटक भक्कानिए। जनयुद्धमा होमिएर साहदत पाएका गाउँका दाजुभाइलाई सम्झँदै भक्कानिएका उनी आफ्नी आमालाई स्मरण गर्दै भावविह्ल हुन पुगे। सभामुख निर्वाचनपछि पहिलो पटक उपत्यकाबाहिर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा उनी गृहगाउँ आइपुगेका थिए।

‘यो एउटै गाउँबाट २२ जनाको सहादत भएको छ,’ भावुक हुँदै सहिदको नाम लिएर भाषण सुरु गरेका सापकोटा एक्कासी भक्कानिन पुगे। गाउँका दाजुभाइ, दिदीबहिनीले गरेको आन्दोलन र सहिदको बलिदानीले ल्याएको परिवर्तनले आफूलाई गरिमामय तहमा पुर्‍याएको भन्दै उनले सभामुख पद उनीहरुप्रति समर्पित गरे। ‘पदको गरिमा सदैव उच्च राख्ने छु,’ कार्यक्रमको मञ्चमा राखिएका सहिदका तस्बिरलाई साक्षी राख्दै सभामुख सापकोटाले बाचा गरे, ‘संसदमा सके राम्रो गर्छु। नराम्रो चाहिँ गर्दिन।’

कुविण्डे त्यो गाउँ हो, जुन तत्कालीन माओवादीले सुरु गरेको १० वर्षे बिद्रोहमा रोल्पाको लिवाङ, थवाङ, घर्तीगाउँ जत्तिकै चर्चित छ। माओवादीले २०५२ फागुन १ गतेदेखि जनयुद्ध घोषणा गर्नु एक महिना अगावै यहाँका धेरै स्थानीय भूमिगत भइसकेका थिए। त्यसको नेतृत्व सापकोटाले नै गरेका थिए। युद्धका क्रममा उनका एकाघरमा भतिजा, भतिजी, आफन्तसहित २२ जनाले ज्यान गुमाएका थिए। उनीहरुमध्ये अधिकांश यसै विद्यालयका पूर्व विद्यार्थी थिए। त्यसैले विद्यालयले हरेक कार्यक्रममा उनीहरुलाई सम्झने गर्छ।

आन्दोलनमा लागेबापत तत्कालीन राज्यले २०५२ माघ १८ गते धरपकड गर्दा गाउँ रित्तो भएको उनले सुनाए। सभामुख सापकोटाले मन्तव्य अवधिभर जनयुद्ध, माओवादी, कमरेड जस्ता शब्दावली भने प्रयोग गरेनन्। शब्द छनोटमा उनी चनाखो देखिन्थे। १५ वर्ष लामो शिक्षण पेसा त्यागेर २०४६ मा पूर्णकालीन राजनीतिमा होमिएका सापकोटाले शिक्षण यात्रकाका दिनहरु पनि सम्झिए। ‘तत्कालीन पञ्चहरु मलाई मार्न र जेल हाल्न षड्यन्त्र गर्थे। तर म तिनैका छोराछोरीलाई भेदभाव नगरी असल शिक्षा दिन प्रयत्न गर्थेँ,’ पञ्चायती दिन स्मरण गर्दै उनले भने।

शिक्षण यात्राकै क्रममा आफ्नी आमा बिरामी परेको प्रसंग जोड्दै उनी फेरि भक्कानिन थाले। ‘म साँगाचोकको जनजागृति माविमा पढाउँथे। त्यतिबेला घरमा आमा बिरामी हुनुहुन्थ्यो। म बिरामी आमा भेट्न नगइ पढाएरै बसेँ,’ रुवाइ थाम्दै सापकोटाले आफूलाई सम्हाले, ‘अहिले सम्झँदा कस्तो–कस्तो लाग्छ!’ राजनीतिमा पूर्णकालीन हुनुअघि उनले पछिल्ला सात वर्ष यसै विद्यालयको प्रधानाध्यापक चलाएका थिए।

उमेरले ६२ वर्ष भएको बताउँदै सभामुख सापकोटाले आजसम्म बिदेश नगएको र व्यक्तिगत स्वार्थका लागि एक सेकेण्ड पनि नसोचेको दाबी गरे। जनता र देशबाहेक अन्य केही नसोचेको भन्दै उनले भने, ‘बाँकी जीवन पनि देशकै लागि काम गर्छु।’ सभामुख पदलाई उच्च र ओझपूर्ण बनाउन उनीले स्थानीयसँग आशिर्वादसमेत मागे।

संसदमा स्वतन्त्र भूमिका खेलेर पदको गरिमालाई उच्च बनाउने प्रतिवद्धता दोहोर्‍याउँदै सापकोटाले सभामुखको हैसियतमा आफ्ना पाँच प्रथामिकता सुनाए। सभामुख सापकोटाका अनुसार निष्ठामा प्रतिवद्ध, संसदको गरिमा बढाउँने, संसदलाई गतिशील बनाउने, सुशासन कायम गर्ने र व्यवस्था स्थापना उनका प्राथमिकता हुन्।

यसअघि सभामुख जस्तो उच्च पदमा पुगेको भन्दै सापकोटालाई जिल्ला समन्वय समितिले सदरमुकाम चौतारामा सम्मान गरेको थियो। सोही कार्यक्रममा जिल्लाका दर्जनभन्दा बढी अगुवा संघसंस्थाले सार्वजनिक अभिनन्दनसमेत गरेका थिए।

 

 

प्रकाशित: २५ माघ २०७६ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App