१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काभ्रे रेडक्रसको चुनाव स्थगित

बनेपा – नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको शनिबार हुने जिल्ला समितिको निर्वाचन स्थगित भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेको शुक्रबारको आदेशअनुसार निर्वाचान स्थगित भएको हो।

कार्यालयले रेडक्रसलाई लेखेको पत्रमा भनिएको छ, ‘वर्तमान जिल्ला सभापति रघुवर चौप्रधानसहितका पदाधिकारीले अनियमितता गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको हुँदा आयोगबाट आवश्यक कारबाही गर्न भनी लेखि आएकोले अर्को आदेश नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गर्नुहोला।’

४४औं जिल्ला सभामा प्रस्तुत लेखा परीक्षण प्रतिवेदनलगायत अन्य धेरै विषयमा वर्तमान समितिले अनियमितता गरेकाले अख्तियार गुहार्नु परेको स्रोतको भनाइ छ। केही वर्ष अगाडिसम्म मुलुकभरकै रेडक्रसका शाखाहरुमध्ये उत्कृष्ट रहँदै आएको काभ्रे शाखामा २०७२ को विनाशकारी भूकम्पपछिका परियोजनामा व्यापक अनियमितता भएको गुनासो आइरहेको थियो।

२०७२ को भूकम्पपछि रेडक्रस केन्द्रले भूकम्प प्रभावित १४ जिल्लामा भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको थियो। सो कार्यक्रम काभ्रेमा पनि लागू हुँदादेखि नै कर्मचारी भर्नालगायतमा पदाधिकारीका आफन्त राखिएको, कार्यक्रम पारदर्शी नभएको, दोहोरो सुविधा लिएको र आकस्मिक लाभबापतको कर नबुझाएकोजस्ता आरोप लाग्दै आएका थिए। यतिखेर पनि काभ्रे जिल्ला शाखामा डेनिस रेडक्रस कन्सोर्टियम, क्यानेडियन रेडक्रस, अमेरिकन रेडक्रसलगायतबाट विभिन्न परियोजना सञ्चालन भइरहेका छन्। ती परियोजनाबारे पनि रेडक्रसकर्मीले पारदर्शिताको आवाज उठाइरहेका छन्।

शनिबार हुने भनिएको निर्वाचनको उम्मेदवारीमा समेत राजनीति हावी भएको छ। १७ सदस्यीय जिल्ला कार्यसमितिका लागि रेडक्रसकर्मी नेकपा र नेपाली कांग्रेसबाट प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका छन्। वर्तमान जिल्ला सभापति रघुवर चौप्रधानले नेकपा पक्षधर प्यानलको नेतृत्व गरेका छन् भने २०६७ मा शाखा उपसभापति भएका विदुरप्रसाद घिमिरेले कांग्रेस पक्षधर प्यानलको नेतृत्व गरेका छन्।

प्रकाशित: २५ माघ २०७६ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App