अध्यात्म

शून्यताको महायात्रा

शुक्रबार, २४ माघ २०७६, १३ : १४ नागरिक

अनुपम पोखरेल
हलिउडका प्रसिद्ध अभिनेता जिम क्यारीले भनेका छन् कुनै अन्तर्वार्तामा, ‘संसारका सबै मान्छे बेलैमा धनी होऊन् । प्रसिद्ध होऊन् । बेलैमा यो थाहा पाऊन्, धनमा र प्रसिद्धिमा कुनै आनन्द छैन ।’

यस्तो सौभाग्य भने विरलै मान्छेले मात्र पाएका छन्, धन र प्रसिद्धिको शिखर चुमेर त्यसबाट विरक्तिने सौभाग्य पाएका केही मान्छेले त्यही कारण अध्यात्मको दुर्लभ उचाई चुमेका छन् । त्यस्तै दुर्लभ मान्छे मध्येका एक थिए, रिचर्ड अल्पर्ट अर्थात् राम दास ।  

साठी र सत्तरीको दशक जे जति कारणले प्रख्यात छ, ती कारणहरुका अभियन्ता, आध्यात्मिक गुरु, बेस्ट सेलिङ पुस्तकहरुका लेखक, मनोवैज्ञानिक बाबा राम दासको ८८ वर्षको उमेरमा हवाईस्थित आफ्नै घरमा मृत्यु भयो, २२ डिसेम्बर २०१९ का दिन । संसार नयाँ वर्षलाई स्वागत गर्ने तयारी गर्दैगर्दा बाबा राम दास भने अनन्तताको महायात्रामा निस्किए । भनियो, ‘शरीरमा रहँदा उनले सबैलाई प्रेम गरे, शरीर त्यागेर अब उनी स्वयम् प्रेम भए ।’

साठीको दशकको अन्त्यताका पहिलोपल्ट भारत पुगेका राम दास त्यसबेला राम दास थिएनन्, डाक्टर रिचार्ड एल्पर्ट थिए । स्टानफोर्ड विश्वविद्यालयबाट उत्पादित एक ख्यातिप्राप्त मनोवैज्ञानिक थिए । उनमा साइकाडेलिक्स भनिने, मस्तिष्कका सुषुप्त द्वारहरु खोल्छ भन्ने विश्वाश गरिएका औषधिहरु प्रतिको गहिरो चासो थियो । भारत भ्रमणमा उनको भेट भयो नीम करोली बाबा नामका साधुसँग, जसले उनको जीवनको दिशा नै मोडिदियो ।

यसपछि उनी रिचार्ड एल्पर्टबाट राम दास बन्न पुगे । पश्चिममा विकास हुँदै गरेको वैकल्पिक जीवनशैलीका पायोनियर मध्येका एक बन्न पुगे उनी त्यसपछि । यो जीवनशैलीको सूत्रः ‘बी हियर नाउ..’ रामदास ब्रान्डको पर्सनल सिग्नेचर हो भन्दा हुन्छ । अर्थात्, मनलाई वर्तमानमा केन्द्रित गर । राम दासले खोजेर ल्याएको उज्यालोमा तीन पुस्ताले आफ्नो आध्यात्मिक बाटो खोजे र पाए पनि ।  उनले कोरेको आध्यात्मिक पथ हिन्दू र बौद्ध दर्शनमा आधारित भक्ति योगदेखि सूफी र यहुदी तरिकाहरुको मीठो सम्मिश्रण हो । न्यु एज स्पिरिचुआलिटीका प्रमिथस हुन्, बाबा राम दास ।

हार्भर्डमा हुँदा राम दास एल्डस हक्सले जस्ता दार्शनिकदेखि एलेन गिन्सबर्ग जस्ता कविसम्मको संगत गर्थे र एलएसडी जस्ता ड्रगहरुको मस्तिष्कमा पर्ने प्रभावका बारेमा अध्ययन गर्थे । यस अध्ययनको फलस्वरूप उनले आफ्ना मित्रहरुसँग मिलेर ‘द साइकाडेलिक एक्सपिरिएन्स’ र ‘एलएसडी’ जस्ता किताबहरु प्रकाशित गरे । यस्तो विवादास्पद र स्वच्छन्दतावादी प्रयोग र अध्ययन अनुसन्धान हार्भर्ड विश्वविद्यालयलाई पाच्य भएन । उनी विश्वविद्यालयबाट निकालिए ।

आफ्नो दिशालाई त्यसका बाबजूद परिवर्तन नगर्दै राम दास मेक्सिको गए र म्याजिक मसरूमको प्रयोग गर्दै त्यसमाथि अध्ययन गर्न थाले । यसरी उनी विभिन्न औषधि र पदार्थहरुको प्रयोग गरी आध्यात्मिक अनुभव प्राप्त गर्ने परम्पराको पितामह नै बन्न पुगे । अध्यात्मको बाटोमा लागेको मान्छे पश्चिमबाट पूर्व आउँछन् नै । यही क्रममा भारत गएका रिचर्ड एल्पर्टको जीवनको अर्को अध्याय सुरु भयो नीम करोली बाबाको सङ्गतमा परेर ।

१९३० मा अमेरिकाको मासाचुसेट्सको एक यहुदी परिवारमा जन्मिएका रिचर्ड एल्पर्टका पिता ख्यातिप्राप्त वकिल थिए । उनको बाल्यकाल राम्रै बित्यो । स्कूल सकेर उनी मनोविज्ञानको अध्ययन गर्नतर्फ लागे । टफ्टस युनिभर्सिटीबाट मनोविज्ञानमा स्नातक सकेर वेस्ल्यान युनिभर्सिटीबाट मनोविज्ञानमै स्नातकोत्तर गरे र अन्ततः स्टानफोर्ड युनिभर्सिटीबाट मनोविज्ञानमा डक्टरेट पनि गरे । त्यसपछि उनी साइकोएनालिसिसका प्रक्रिया सिक्दै स्टानफोर्ड युनिभर्सिटीमा मनोविज्ञान पढाउन थाले ।

सन् १९५८ मा उनले हार्भर्ड विश्वविद्यालयमा क्लिनिकल साइकोलोजीका सहायक प्राध्यापक भएर पढाउने अवसर पाए । जीवनलाई नजिकबाट बुझ्ने प्यास थियो मनमा । आफ्नै मनका गहिराइमा डुबी हेर्ने उत्कण्ठा थियो । मनोविज्ञान विभागमा अनेक थरिका प्रयोगहरु गरी हेर्ने क्रममा उनको भेट भयो, क्लिनिकल साइकोलोजीकै अर्का प्रोफेसर टिमोथी लियरीसँग । टिमोथी पनि मनका गहिराईमा डुबुल्की मार्न केही निश्चित लागु पदार्थहरु सहयोगी हुन सक्छन् भन्ने मान्यता राख्थे ।

उनीहरु साथै मिलेर यस विषयमा अध्ययन अनुसन्धान गर्न थाले । सुरुमा नास्तिक स्वभावका रिचर्ड एल्पर्ट एलएसडी लगायतका ड्रगहरुको प्रयोग पश्चात ईश्वरमा आस्था राख्ने भए । हार्भर्डमा उनीहरु आफ्ना जुनियर स्टाफ र विद्यार्थीहरुलाई यस्ता पदार्थ दिएर उनीहरुको चित्तमा भएको प्रभाव र परिवर्तन अध्ययन गर्दै थिए । यस्तो कार्यले उनीहरुलाई विश्वविद्यालयमा अध्यात्म र मुक्तिका अभियन्ताको रुपमा ख्याति दिलाउँदै थियो । साथै विश्वविद्यालयमा उनीहरुको यस्तो तरिकाको विपक्षमा एउटा जमात पनि खडा गराउँदै थियो । रिचर्ड र तिमोथी आफैँ पनि यस्ता प्रयोगहरुमा सहभागी भएर आफ्नै चित्तदशा अध्ययन गर्ने गर्थे ।

यस्तैमा केही विद्यार्थीहरुले यस्तो रिसर्च प्रोग्रामका कारण आफूमा केही नराम्रा असरहरु देखिन थालेको भनेर प्रशासनसमक्ष गुनासो गरेपछि विद्यार्थीहरुलाई पर्याप्त अनुसन्धान नगरिएका औषधिहरुको प्रयोग गर्न उक्साएको आरोपमा विश्वविद्यालयबाट उनीहरुलाई निकालियो । तापनि उनीहरुले आफ्नो अध्ययन बन्द भने गरेनन् । न्यूयोर्कमा एउटा घर भाडामा लिएर उनीहरु सामूहिक रुपमा एलएसडीको प्रयोग गर्ने र त्यसका प्रभावको अध्ययन गर्न थाले ।

साइकाडेलिक्सको प्रयोगका बेलामा भएका केही अभूतपूर्व आनन्ददायी क्षणहरुको बाबजूद रिचर्ड वास्तविक जीवनमा खुसी हुन सकिरहेका थिएनन् ।  ती पदार्थहरुको असर रहुञ्जेल उनलाई आफू स्वर्गमा छु जस्तो महसूस हुन्थ्यो तर तिनको असर सधैं कहाँ रहन्थ्यो र ? त्यसपछि फेरि पुरानै सांसारिक नर्कमा झर्नु पथ्र्याे । यसर्थ आनन्द र मुक्तिको सपना बोकेर उनी भारतको यात्रामा निस्किए, भारतीय हिमालहरुको काखमा उनको भेट भयो साधु बनेर बसेका एक पूर्व हिप्पी भगवान दाससँग । भगवान दासले नै उनलाई नीम करोली बाबाकहाँ जाने सल्लाह दिए । यसरी भेट भएको थियो रिचर्डको उनका गुरु नीम करोली बाबासँग ।

पहिलो भेटमै पाश्चात्य मनोविज्ञान पूर्वीय अध्यात्मको वजन देखेर छक्क पर्‍यो, सधैँ मुसुमुसु मुस्कुराइरहने नीम करोली बाबाले रिचर्डलाई देख्नेबित्तिकै सोधे, ‘हिजो राति आमाको मृत्यु र उनलाई लागेको फियोको क्यान्सरका बारेमा सोच्दै थियौ ?’

रिचर्डले यस बारेमा कसैसँग कुरा गरेकै थिएनन् । आफ्नो कोठामा आफू एक्लैले सोचेको कुरा कसरी थाहा पाए बाबाले ? रिचर्ड रनभुल्लमा परे । यहाँसम्म आउँदा रिचर्डको जीवन कुनै स्ट्याटस सिम्बोलभन्दा कम थिएन । तीव्र गतिमा महँगा गाडी कुदाउनु, सुन्दरीहरुसँग रमाउनु, आकर्षक लुगा लगाउनु उनको दैनिकी जस्तो नै थियो । नीम करोली बाबा भने सम्पत्तिको नाममा आफूले ओढ्ने गरेको खास्टोबाहेक अरु केही राख्दैन थिए । किन हो खै, रिचर्डलाई भेटेकै दिन बाबाले रिचर्डसँग उनीहरु चढेर आएको ल्यान्डरोभर गाडी उपहार मागे । यो मान्छेसँग आनन्दको कुनै गोप्य सूत्र छ भन्ने पत्तो रिचर्डले पाइसकेका थिए । एक क्षण पनि नसोची उनले गाडीको साँचो बाबाको हातमा थमाइदिए ।  

आध्यात्मिक विकासको सम्भावना भएका तर विद्वताको दम्भले आकासिएका मान्छेहरुलाई उनीहरुको भुइँ देखाइदिन साधुसन्तहरु कहिलेकाहीँ यस्ता चमत्कार गरिदिने गर्छन् । त्यही एक क्षणमा रिचर्डको मन मस्तिष्कमा आमूल परिवर्तन आयो र उनी नीम करोली बाबाको शिष्य बन्न तयार भए । बाबाले रिचर्डको नाम ‘राम दास’ राखिदिए र उनलाई भक्ति योगको अभ्यास गराए । बाबाकै आदेशमा राम दास १९६९ मा अमेरिका फर्किए र आफ्नै पिताको बङ्गलाको चौरमा आश्रम खडा गरी आफूले सिकेका कुरा अरुलाई सिकाउन थाले । यसरी अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरुमा पढेको र सोही कोटीका विश्वविद्यालयमा पढाउने प्रोफेसर रिचर्ड जगल्टे कपाल पालेर, धोती लगाएर खाली खुट्टा भारतबाट अमेरिका फर्कियो, स्वामी राम दास बनेर ।

साठी र सत्तरीको दशकमा भारत आएका धेरै अमेरिकीहरुले गुरुका रुपमा फेला पारेका साधु थिए, नीम करोली बाबालाई । उनी आफ्ना भक्तहरुमाझ महाराज जी भनेर चिनिन्थे । भारतको उत्तर प्रदेशमा सन् १९०० ताका जन्मेका नीम करोली बाबा एघार वर्षको उमेरमा साधु बन्न घर छाडी हिँडेका थिए, कालान्तरमा उनले आफ्ना पिताको अनुरोधमा घर फर्केर गृहस्थ जीवन पनि बिताए । दुई छोरा र एक छोरीका पिता पनि बने । अन्ठाउन्न वर्षको उमेरमा उनी फेरि घर छाडेर निस्किए ।

राम दासले नै सुनाउने गरेको कथा हो यो आफ्ना गुरु नीम करोली बाबाको बारेमा कि घर छाडेर निस्केका बाबा एक दिन बिना टिकट रेलमा यात्रा गर्दै थिए । रेल उत्तर प्रदेशको नीब करोरी नामक गाउँ हुँदै जाँदा यो कुरा कन्डक्टरले थाहा पाए र बाबालाई रेलबाट उतारे, उनलाई रेलबाट उतारेपछि रेल सुरु नै भएन । यात्रुहरुले सल्लाह दिए, जबर्जस्ती निकालिएका ती साधुलाई फेरि बोलाएर रेलमा बसाल्ने । कन्डक्टर अब बाबालाई फकाउन गए । बाबाले रेल चढ्न दुई शर्त राखे । एक– उक्त गाउँमा एउटा रेल्वे स्टेसन बनाउन लगाउने, दुई– आइन्दा रेल्वे कर्मचारीले साधुहरुलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने । उनका सर्तहरु स्वीकार गरिएपछि उनी रेल चढे र रेल चल्यो पनि ।

कालान्तरमा त्यस गाउँमा उनको इच्छा बमोजिम रेल्वे स्टेसन बनाइयो । उनी पनि केही समय उक्त गाउँमा बसे । त्यहीँबाट उनी नीब करोरी बाबा भनेर चिनिन थाले, उनको खास नाम भने लक्ष्मण दास शर्मा थियो । सेवा र भक्तिलाई आफ्नो प्रमुख आध्यात्मिक मार्ग बनाएका यी साधुले पश्चिमका धेरै गन्यमान्य व्यक्तिहरुलाई हिन्दू धर्म र भक्ति योगप्रति आकर्षित गरे । यिनैमध्येका एक थिए राम दास । हाल न्यु एज म्युजिक जानरामा प्रसिद्धि कमाउँदै गरेका जय उत्तल, ट्रेभर हल, भजन गाएरै ग्रामी अवार्ड्समा मनोनित भएका भक्ति गायक कृष्ण दास आदि पनि नीम करोली बाबाकै  शिष्य हुन् ।

१९७४ मा हिन्दु धर्मको अध्ययन गर्न भनी भारत र नेपालको भ्रमण गरेका स्टिभ जब्स पनि नीम करोली बाबालाई भेट्न तम्सेका थिए । उनको दुर्भाग्य, त्यसबेला नीम करोली बाबाको देहान्त भइसकेको थियो । स्टिभ जब्सबाट प्रभावित भएर फेसबुकका संस्थापक मार्क जुकरबर्ग, गुगलका ल्यारी पेज र इबेका जेफरी स्कोलले पनि नीम करोली बाबाको आश्रम भ्रमण गरिसकेका छन् ।

सत्तरीको दशकका युवाहरुलाई बुद्धत्वको, सत्–चित्–आनन्दको सपना देखाएका यी आइकनको जीवन कथा कुनै फिल्मको भन्दा कम छैन । एलएसडीको प्रयोग र उपादेयता माथि बनाइएका थुप्रै डकुमेन्ट्रीहरुमा यिनलाई फिचर गरिएको पनि छ । आध्यात्मिक मार्ग एउटा मिठो एडभेन्चर हुन सक्छ भनेर पाश्चात्य संसारलाई देखाउने अभियन्ताहरुको पहिलो पुस्ता हुन्, बाबा राम दास । उनको पुस्तक ‘बी हियर नाउ’ हिप्पीहरुको ‘क ख’झैँ बनेको थियो सत्तरीको दशकमा । अझै पनि उक्त पुस्तक आध्यात्मिक जानराको बेस्ट सेलर नै मानिन्छ ।   

स्टानफोर्ड युनीभर्सिटीको पीएचडी डिग्री थियो राम दाससँग । हार्भर्ड युनिभर्सिटीको जागीर थियो । ती सबैलाई लात मारेर उनी बुद्धत्वको खोजमा निस्किए । मनोविज्ञान, रहस्यवाद, अध्यात्म र साइकाडेलिक ड्रगहरु सम्मिश्रण गरेर यिनले आफ्नै एउटा आध्यात्मिक बाटो कोरे । पूर्वीय अध्यात्म र पाश्चात्य मनोविज्ञानको मिठो ब्लेन्ड गरेर लेखिएको उनको पुस्तक बी हियर नाउलाई कुनै धर्मग्रन्थ सरह नै मान्दा हुन्छ । ३२८ पल्ट एलएसडी लिएको स्वीकार गरेका छन् राम दासले । भनिन्छ, एलएसडीको प्रयोग एक पल्ट मात्र ग¥यो भने पनि मान्छे संसारै अर्कै देख्न थाल्छ । त्यो पनि स्थायी रुपमा ।

आफ्ना गुरु नीम करोली बाबासँग भेटी केही समयको साधना गरेर अमेरिका फर्किएपछि एउटा स्थानीय रेडियोलाई अन्तर्वार्ता दिँदै राम दासले भनेका थिए, ‘महाराजजीको साथमा रहँदा मैले आनन्द र शान्तिको यस्तो गहिराई चाख्ने अवसर पाएँ, मैले त्यस्तो प्रेम र आनन्द जीवनमा पहिला कहिले महसूस नै गरेको थिइनँ । ती दिन सम्झँदा मात्र पनि मेरा आँखा खुसीले रसाउँछन् ।’

नीम करोली बाबा र राम दासको बारेमा सबै भन्दा प्रसिद्ध कथा सायद यही होला, भारतमा कुनै योगी वा साधुले त्यसमाथि थप प्रकाश पार्न मद्दत पुर्‍याउला भन्ने आशले उनले एलएसडी पनि साथै ल्याएका थिए ।
बाबालाई भेट्न गएका राम दाससँग बाबाले सोधे, ‘केही नलिई आयौ मेरा लागि ?’

राम दासको पालो तीन वटा निकै हाइ डोजका एलएसडीका चक्की निकालेर दिए । बाबाले तीन वटै चक्की एकैपल्ट मुखमा हाले । राम दास र अरु अमेरिकी शिष्यहरु अब के गर्छन् बाबाले भनेर उत्सुकतापूर्वक नियालिरहे तर बाबालाई एलएसडीले छुँदै छोएन । राम दासले बुझे, योग र ध्यान अनि भक्तिले दिने आनन्द कुनै लागु औषधले दिने आनन्द भन्दा धेरै हुन्छ । त्यसैले साधु सन्तलाई त्यस्ता पदार्थले छुँदै छुँदैन । यसपछि नै आफूले खोजेको आनन्द र शान्ति यहाँ सम्भव छ भनेर राम दास विश्वस्त भए । यद्यपि अमेरिका फर्केपछि राम दासले जब आफ्ना साथीहरुलाई यस घटनाको बारेमा सुनाए, उनीहरुले पत्याएनन् ।

जीवनमा पहिलोपल्ट एलएसडीको प्रयोग गरेको मान्छेले नौ सय माइक्रोग्राम एलएसडी एक्लैले एकै सासमा बुत्यायो र त्यसका बाबजूद उसलाई केही भएन भनेर कसैले पत्याओस् पनि कसरी ? झन् त्यसमाथि उनीहरु त पाश्चात्य मनोवैज्ञानिक थिए । साथीहरुको सन्देहले राम दासलाई पनि सोच्न बाध्य बनायो । उनले सोचे, सायद बाबाले ती चक्की आफ्नो मुखमा नहाली छल गरेर पछाडि फालेका थिए होलान् । यसको समाधान पनि उनले छिट्टै नै पाए । भारतमा घटेको त्यस अनौठो घटनाको तीन वर्षपछि उनी फेरि बाबालाई भेट्न आएका थिए । यसपालि पनि केही एलएसडी उनले साथै ल्याएका थिए ।

एक बिहान बाबाले आफैँ उनलाई सोधे, ‘यसपालि पनि अस्तिनैको औषधि ल्याएका छौ ?’
रामदासले तीन सय माइक्रो ग्रामका पाँच चक्की एलएसडी निकालेर बाबालाई दिए ।
एउटा चक्की थोरै फुटेको थियो । बाबाले त्यसलाई छाडेर बाँकीका चार चक्की आफ्नो हातमा लिए र राम दासले देख्ने गरी बिस्तारै मुखमा राखे अनि सोध्न थाले, ‘पानी खाँदा हुन्छ ?’
‘हुन्छ ।’
‘तातो कि चिसो ?’
‘जस्तो खाँदा पनि हुन्छ ।’
बाबाले थोरै पानी पिए अनि फेरि सोधे, ‘कति समय लाग्छ यसको असर देखिन ?’
‘बीस मिनेटदेखि एक घण्टा ।’
छेवैमा बसेको एउटा शिष्यको घडी हेर्न थाले उनीहरु ।
‘यसले मलाई पागल बनाउन सक्छ ?’
‘नसक्ला भन्न सकिन्न ।’
तर एक घण्टा बितिसक्दा पनि बाबालाई केही भएन । त्यसपछि उनले सोधे, ‘यो भन्दा कडा केही छ तिमीसँग ?’
‘अहँ, छैन ।’

‘उसोभए ध्यान दिएर सुन, हिमालयको काखमा अवस्थित कुल्लु उपत्यकाका साधुहरुले यो औषधीको प्रयोग जमानामा गरेका थिए । अहिले भने त्यो चलन हरायो । जसको चित्त ईश्वरमा एकाकार भएको छ, उसलाई यस्तो औषधिले केही असर गर्दैन ।’

आफूले त्यसको प्रयोग गर्दा हुन्छ वा हुँदैन भनेर राम दासले  प्रश्न गर्दा बाबाको उत्तर थियो, ‘गर्मी ठाउँमा नगर्नू, शितल र शान्त स्थानमा एक्लै वा अन्य शान्त मान्छेहरुको उपस्थितिमा चित्तलाई ईश्वरमा केन्द्रित गरेर यो योगी औषधीको प्रयोग गर्दा हुन्छ ।’

राम दासको आध्यात्मिक निचोड उनले १९७१ मा प्रकाशित गरेको पुस्तक ‘बी हियर नाउ’ हो भन्दा हुन्छ । यो पुस्तक बीस लाखभन्दा बढी बिक्री भयो र त्यसपछि राम दासको ख्याति अन्तर्राष्ट्रिय बन्यो । पूँजीवाद र संसारबाट विरक्तिएर वैकल्पिक जीवनशैली खोजी हिँडेका युवाहरुको मसिहा नै बन्न पुगे राम दास ।

उनको आकर्षण उनको दर्शनको उन्मुक्तताको आकर्षण हो । जागरुक युवापुस्ता कहिले कुनै एक विचार र दर्शनमा बाँधिन चाहँदैन । कुनै एक धर्म मात्र मान्नुलाई डरलाग्दो कट्टरपन्थ ठान्छ । राम दासको आध्यात्मिक दर्शन कुनै एक धर्म वा सम्प्रदायको मात्र पक्षपोषण गर्ने खालको छैन । राम दास कतै सूफी सन्तहरुलाई उद्धृत गर्छन् त कतै गीताका श्लोक । अमेरिकाको कोलोराडोस्थित नारोपा इन्स्टिच्युटमा राम दासले गीतामाथि दिएको प्रवचन यसै कारणले प्रख्यात छ ।

एउटा यहूदी विद्वानले हिन्दू ग्रन्थमाथि बौद्ध विश्वविद्यालयमा दिएको प्रवचन ! मृत्युलाई उनले न सामान्य मान्छेहरुझैँ भयभित भएर हेरे, न अन्य साधुसन्तहरुले झैं अमूर्त रुपले । बूढो हुँदै जान थाल्दा उनी आफ्नो मृत्युको बारेमा सामान्य ढंगले चर्चा गर्थे, भन्थे, ‘आस गर्छु, मृत्युको क्षण टाइट जुत्ता खोल्दाको क्षणझैँ हुँदो हो ।’
१९९७ मा उनलाई स्ट्रोक भयो । बोल्न र लेख्न समस्या हुन थाल्यो । हलचल गर्न नसक्ने भए ।

यसले पनि उनको आनन्द र ऊर्जामा फरक पारेन । उनी पहिलाझैं आनन्द र मस्तीमै देखिन्थे, ती अप्ठेरा दिनहरुमा पनि । आध्यात्मिक हुँ भन्नेहरुको परिक्षण आखिर यही न हो ! आफ्नो दर्शन आफ्नै जीवनमा लागू गर्न नसक्ने मान्छे आध्यात्मिक हैनन्, पाखण्डी हुन् । राम दासले जे जति सिकाए, आफूले पनि त्यस्तै जीवन बाँचे ।
‘शरीरमा हुञ्जेल म एउटा छु, मृत्यु भएपछि म अनन्त हुन्छु,’ उनी भन्ने गर्थे, ‘म असंख्य हृदयमा हुन्छु । हावामा हुन्छु, पानीमा हुन्छु, आकाशमा हुन्छु, धर्तीमा हुन्छु ।’
शरीर त्यागेर अनन्त भएका राम दासलाई अनन्त र असीम शुभकामना ।

राम दासको दर्शन
एक दिन मर्नुपर्छ भन्ने सम्झिनू र जीवनका हरेक क्षणलाई जाग्रत भएर पूर्णतामा बाँच्नू ।
पूर्वीय आध्यात्मिक, दार्शनिक परम्परामा मृत्युलाई एक अभूतपूर्व घटना मानिन्छ । मान्छे आफ्नो मृत्युको क्षण होस् र बोधको क्षण होस् भन्नका लागि पूरा जीवन अभ्यास गर्छ । एउटा बगैंचामा प्रेस कन्फरेन्सलाई सम्बोधन गर्न उभिएका महात्मा गान्धी जब गोली लगेर ढले, उनको अन्तिम शब्द थियो, ‘हे राम ।’

मान्छे जस्तो जीवन बाँच्छ, त्यस्तै मृत्यु मर्छ । डराएर बाँचेकाहरु डराएरै मर्छन् । जीवनभर लोभ गरेका लोभीहरुलाई आफ्नो सारा सम्पत्ति छाडेर जानुपर्ने भयो भन्ने पीडा हुन्छ मर्ने बेला । हरेक क्षण होशपूर्वक बाँचेको मान्छेले मृत्युलाई पनि एउटा मीठो यात्राका रुपमा हेर्छ र मर्ने बेलामा पनि व्यथित हुँदैन । वर्तमानका हरेक क्षण होशपूर्वक बाँच्ने मान्छेले समय पनि ढिलो चलेको अनुभव गर्छ र त्यसैले उसलाई कुनै कुराको हतार हुँदैन ।

त्यस्तो मान्छेको मन त्यसैले सधैँ शान्त रहन्छ । जिससको वचन, ‘हेर म अब सबैथोक नयाँ बनाइदिन्छु’ को अर्थ पनि त्यही हो । होशपूर्वक वर्तमानमा बाँच्ने मान्छेका लागि हरेक क्षण नयाँ हो । जीवनको अर्थ नै यही हो, होशपूर्वक वर्तमानमा बाँच्नु, हरेक क्षण आनन्दपूर्वक बाँच्नु । यसरी बाँच्न जानेको मान्छेका लागि मृत्यु कष्टप्रद र भयावह घटना हैन ।

एलएसडी लगायतका साइकाडेलिक पदार्थहरुको बारेमा चर्चा गर्दै राम दासले भनेका छन्, ‘जसरी संसार साधारण मान्छेको पिँजडा हो, त्यसै गरी स्वर्ग साधुहरुको पिँजडा हो ।’

साइकाडेलिक्सको प्रयोग गरेर ध्यान अवस्थाको स्वाद चाखेकाहरुले जाने, त्यो अवस्थाको अन्त्य छ । यसर्थ त्यो अवस्था समाधिको अवस्था पक्कै हैन । नीम करोली बाबाले राम दासलाई कुनै एउटा क्षणमा यही कुरा बताउँदै भनेका थिए रे, ‘यी औषधिको प्रयोगले केही समयका लागि ईश्वरको नजिक पुर्‍याउँछ तर फेरि फर्किएर त यही संसारमा झर्नु छँदैछ त्यसपछि । ईश्वरलाई भेट्न जानुभन्दा आफैँ ईश्वर बन्ने बाटोमा लाग्नु । प्रेम र भक्ति हो त्यो बाटो । यी औषधिहरुले जे कुराको एक झलक मात्र दिन्छन्, प्रेमले र भक्तिले तिमीभित्रै त्यही लोकको निर्माण गरिदिन्छ ।’
आफ्नो पहिलो साइकाडेलिक अनुभवको वर्णन गर्दै राम दासले भनेका छन्, ‘एलएसडीको प्रयोग गरेर १९६४ को एक रात म एउटा हल्का उज्यालो कोठामा बसेको थिएँ । बाहिर हिउँ परिरहेको थियो । असाध्यै राम्रो देखिएको थियो वातावरण ।

एक्कासि मैले कोठामा कसैको उपस्थिति महसूस गरेँ, नियालेर हेर्दा उक्त व्यक्ति म स्वयम् थिएँ । मनोविज्ञानको भाषामा जेलाई डिसअसोसिएटिभ एक्सपिरिएन्स भनिन्छ, मलाई त्यही हुँदै थियो । मैले उक्त व्यक्तिलाई एउटा प्रोफेसरका रुपमा देखिरहेको थिएँ । आफू बसिरहेको कुर्सीमा आरामले बसेर मैले सोचेँ, मलाई यो प्रोफेसर चाहिएन । त्यसपछि उक्त उपस्थिति एउटा जवान, लोकप्रिय र सबैको प्यारो मान्छेमा रुपान्तरित भयो, मैले आफैँलाई भनेँ, ‘मलाई यो पनि हुनु छैन ।

त्यसपछि त्यो स्वरूप पनि विलिन भयो । मलाई बिस्तारै डर लाग्दै जान थाल्यो । सोचेँ, यसरी म भित्रका एक–एक टुक्रा बिलाउँदै गएर म सकिएँ भनेँ ? फेरि सोचेँ, ठीकै छ । जे जति बिलाउनु छ, बिलाओस् । फेरि अर्को नयाँ स्वरूप र व्यक्तित्व खोजौँला आफ्नालागि । त्यसपछि त म भित्रको रिचर्ड अल्पर्ट पनि विलिन भयो । म हेरिरहेँ चुपचाप । अन्त्यमा म बसेको कुर्सी मात्र कोठामा थियो । यो मीठो शून्यतालाई म आनन्द मानेर हेरिरहेँ ।’





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad