‘कालजयी’ भ्रष्टाचार !

शुक्रबार, २४ माघ २०७६, १० : ३६ सरोज धिताल

पत्रपत्रिका फेरि भ्रष्टाचारका कथाले भरिन थालेका छन्। कर्मचारीका तहमा हुने गरेका खुद्रे भ्रष्टाचार त जताततै जहिले पनि छ्यास्छ्यास्ती देखिने, भोगिने नै थिए, छन्। तर तिनले त्यति धेरै तरंग ल्याउने गरेका छैनन्। कतै सञ्चारमाध्यममा आइहालेछन् भने पनि ती जसरी आउँछन्, त्यसैगरी हराउँछन् पनि। बानी नै परिसकेपछि त हरेक दिनको भोगाइले मानिसलाई चिमोट्नै छाड्नेरहेछ। यतिबेला पत्रपत्रिकामा स्थान पाइरहेको  त्यस्ता खुद्रे भ्रष्टाचारका कुराले होइन, तिनका जन्मदाता र पालनकर्ता बनेको प्रणालीगत भ्रष्टाचारले हो। भ्रष्टाचारविरुद्ध स्वर सुनिनु र त्यो आवाज झन्झन् घन्किन थाल्नु कुनै पनि कालखण्डका निम्ति शुभ–संकेत हो। विगतका दशकमा लोकतन्त्र, सामाजिक न्याय र गणतन्त्रका निम्ति जनताले गरेको संघर्ष पूरै खेर गएको त रहेनछ भन्ने प्रमाण पनि हो यो।  तिनै संघर्षबाट आर्जित जनताको सशक्तीकरण अलिकति पनि बाँकी नरहँदो हो त अहिलेसम्ममा भ्रष्टाचारका विभिन्न तह र रूपमध्ये सबभन्दा खतरनाक ठानिने राजकीय भ्रष्टाचार (ग्यान्र्ड करप्सन)ले मज्जैले टाउको उठाइसक्ने थियो र त्यसले हिंसा, अस्थिरता, अराजकताका नयाँ–नयाँ र डरलाग्दा रूप निरन्तर जन्माइरहने थियो। धन्न ! त्यतिसम्म अझै भइसकेको छैन, किनकि जनताका आँखा यति चनाखा त अझै रहेछन्। तर के पनि सत्य हो भने भ्रष्टाचारविरुद्ध आवाज उठ्न थाल्नु नै भ्रष्टाचारबाट मुक्ति पाउनु होइन। र, अहिलेको प्रणालीगत भ्रष्टाचार रोक्न सकिएन भने, यसलाई मौलाइरहन दिइरहने हो भने, अन्ततोगत्वा त्यसले ल्याउने त भ्रष्टाचारको उही सबभन्दा डरलाग्दो रूप (राजकीय भ्रष्टाचार)कै राज चल्नेछ।

सत्तामा रहेका ‘साम्यवादी’ कामरेडहरू आफ्नो मौलिक ‘समाजवाद–उन्मुखता’मा व्यक्तिगत सम्पत्ति, आर्थिक स्वतन्त्रता आदिलाई मलजल गर्दै अघि बढिरहनुभएको देखिन्छ।

भ्रष्टाचारविरुद्ध संघर्षका उदाहरण देशैपिच्छे फरक–फरक छन्। सफल ठानिएका कुनै पनि किसिमका संघर्ष सजिला थिएनन्÷छैनन्। भ्रष्टाचारले ल्याउने बर्बादी भने कतै पनि साना छैनन्। गरिबी मात्र होइन, आतंकवाददेखि ‘प्राकृतिक’ ठानिने आपद् विपद्सम्म, अराजकतादेखि अहिलेको नयाँ कोरोना भाइरसजस्ता प्रकोपसम्म, खाद्य असुरक्षादेखि पृथ्वी नै ध्वस्त पार्ने हदसम्मका वातावरण विनाससम्म, यावत् बर्बादीका कारण खोज्दै जाने हो भने जरोमा पुग्दा कतै न कतै, कुनै न कुनै रूपमा भ्रष्टाचारकै भूमिका देखिन्छ।

भ्रष्टाचार यति डरलाग्दो हुन्छ भनेर मानिसलाई थाहा भएको अहिलेदेखि मात्रै पनि होइन। मानव इतिहासको अहिलेसम्म थाहा भएका कुनै  कालखण्ड, भूखण्ड, सभ्यता, भ्रष्टाचारबाट मुक्त देखिँदैन। र, जहिले पनि भ्रष्टाचारविरुद्ध कुनै न कुनै गतिविधि– कहिले जनस्तरबाट, कहिले राज्यस्तरबाट, कहिले राज्यको सीमा भित्रबाट, कहिले सीमा बाहिरबाट भइरहेका छन्। एउटा राज्यले अर्को राज्यमा आक्रमण गर्ने र आफ्नो साम्राज्य बढाउने निहुँ पनि हरेक युगमा भ्रष्टाचार नै बन्ने गरेका छन्। र, प्रकारान्तरले कुनै न कुनै रूपमा यो कायमै छ। विभिन्न कालखण्डमा उदाएका जुनसुकै धर्म–सम्प्रदाय, आध्यात्मिक दर्शन, नीतिशास्त्र आदि विद्याले भ्रष्टाचारलाई ‘पाप’ वा दुष्कर्म ठानेकै छन्। तर अझै यसविरुद्धको युद्धमा मानव जातिले विजय प्राप्त गर्न सकेको छैन।

केले बनाउँछ भ्रष्टाचारलाई यस्तो ‘कालजयी’ ?  के गर्दा मान्छे मुक्त हुने होला, भ्रष्टाचारबाट ? यो प्रश्न संसारका जुनसुकै कुनामा रहेका मानिस सोधिरहेका छन्। सबैका लागि महत्वपूर्ण प्रश्न हो यो। तर धनी र शक्तिशाली ठानिने देशका नागरिकका निम्ति जति महत्वपूर्ण छ, त्यसभन्दा कैयौं गुणा महत्वपूर्ण गरिब र कमजोर ठानिने देशका नागरिकका लागि छ। भ्रष्टाचारका अनेक कारण देखाइने गरेका छन्। जसको चर्चा गर्दा आआफ्ना दृष्टिकोण, आस्था र स्वार्थका आधारमा विज्ञ बाँडिनु र भिन्दाभिन्दै कुरामा जोड दिनु स्वाभाविक हो। उदाहरणका लागि–  कतिले बजारमा एकाधिकार, आर्थिक स्वतन्त्रताको अभाव, सम्पत्तिमा कम अधिकार आदिलाई भ्रष्टाचारको मुख्य कारण मानेका छन्। (नव)उदारवादी बजार अर्थतन्त्र नै भ्रष्टाचार नियन्त्रणको ‘अग्र्यानिक’ उपाय हो भन्ने धारणामा आधारित सोच हो यो। यति नै बेला हाम्रा निम्ति भने  सम्भवतः यी आफैंमा भ्रष्टाचारका मूल कारण नहोलान्। सत्तामा रहेका ‘साम्यवादी’ कामरेडहरू आफ्नो मौलिक ‘समाजवाद–उन्मुखता’मा व्यक्तिगत सम्पत्ति, आर्थिक स्वतन्त्रता आदिलाई मलजल गर्दै अघि बढिरहनुभएको देखिन्छ। उहाँहरूको ‘मौलिक’ समृद्धिका नारामा आसेपासे पुँजीवादले केही हदसम्म ‘एकाधिकार’को खतरा निम्त्याइरहे पनि सम्भवतः यो अझै मूल प्रवृत्ति बनिसकेको छैन होला। बरू कार्य–कारणका हिसाबकिताबमा अहिले देखिएको प्रणालीगत भ्रष्टाचार नै पो यो आसेपासे पुँजीवादका कारण बनेको छ कि भन्ने डर देखिँदै छ।

तर नेताहरूमै सद्गुणको भयावह अभाव हुन्जेल आफ्नो पार्टीलाई सबभन्दा सद्गुणयुक्त मानिसको संघ बनाउने इच्छा–शक्ति कहाँबाट आओस् ? र, राजनीतिक नेताहरूमा यो इच्छा–शक्ति नआउन्जेल कर्मचारीतन्त्र कसरी भ्रष्टाचारमुक्त होस् ?

कमजोर लोकतान्त्रिक पद्धति, कमजोर राजनीतिक पारदर्शिता, नागरिक सहभागिता तथा प्रेस स्वतन्त्रता अभाव आदि लोकतान्त्रिक मान्यतासँग सम्बद्ध तत्वलाई पनि भ्रष्टाचारका मूल कारण नै मानिन्छ। लोकतन्त्रका निम्ति त्यति लामो र कठिन संघर्ष गरेका हामी नेपालीका लागि यी निश्चय नै अत्यन्त महत्वपूर्ण कुरा हुन् र यिनका बारेमा हामी संवेदनशील नभई हुँदैन। तर कम्तीमा अहिलेसम्म भ्रष्टाचारविरुद्धको आवाज त यिनै लोकतान्त्रिक मान्यतामा टेकेरै निस्किरहेका छन्। बरु विद्यमान भ्रष्टाचारले हाम्रो लोकतान्त्रिक यात्रा नै अवरुद्ध पार्छ कि भन्ने खतरा भने जहिले  भइरहन्छ, अहिले पनि छ।

सामाजिक न्यायका आयाममा रहेका अनेक तत्व– स्वास्थ्य र शिक्षाको छाडा बजारीकरण, साम्प्रदायिक विभेद, नातावाद/कृपावाद/गुटवाद, लैंगिक असमानता, गरिबी, साँच्चैको लोककल्याणकारी नीति अभाव, भएका राम्रा नीति कार्यान्वयन गर्न नसक्नु आदिले गर्दा भ्रष्टाचार कसरी मौलाइरहेको छ, यसबारे भने हुनुपर्ने जति विचार/विमर्श अझै नभइरहेको प्रतीत हुन्छ। समृद्धिलाई छाडा बजारसँग जोड्ने लालसाले जहिले पनि लोकतन्त्र र सामाजिक न्यायको आवाज कमजोर पारिरहेको हुन्छ। लोकतन्त्र र लोकतान्त्रिक स्वतन्त्रताबारे अमूर्त कुरा गरिरहँदा जति ठूलो स्वर निस्किए पनि जब छाडा बजारलाई सानोभन्दा सानो मात्र धक्का पर्ने कुनै वस्तुगत कुराको सामना गर्नुपर्ने हुन्छ, तब सामाजिक न्याय र लोकतन्त्रका नारा कमजोर हुन थाल्छन्। राज्यबाट होस् वा नागरिकका पंक्तिमा रहेका विभिन्न व्यक्तिबाट प्रायः यस्तै हुने गरेका छन्।   

‘डच रोग’का रूपमा चिनिने ‘प्राकृतिक सम्पदाको श्राप’लाई पनि भ्रष्टाचारको महत्वपूर्ण कारणका रूपमा देखाइन्छ। अहिलेसम्म हामीकहाँ अत्यन्त छाडा र सस्तो रूपमा देखिने गरेको छ यो रोग। अहिलेसम्म त गिटी, बालुवा, ढुंगा खानीजस्ता कुरमा मात्र सीमित थियो यो। यही बाटो हुँदै अब युरेनियम खानीको सपनाका कारण अर्को स्तरमा हामीले यो श्राप भोग्नुपर्ने भयो भने भ्रष्टाचारबाट उन्मुक्ति पाउन अझै गाह्रो हुँदै जाने पक्का छ।

भ्रष्टाचारका कारणका रूपमा अलि बढी चर्चामा आउने गरेका यस्ता कारणबाहेक अरू पनि कारण छन् जुन अझै बढी महत्वपूर्ण होलान्। लोभ, अशिक्षा, सामाजिक जिम्मेवारी बोधको अभाव, फजुल खर्चजस्ता दुर्गुण वा करुणा, प्रेम, नैतिकताजस्ता सद्गुणको कुरा गर्दा धेरै शासक, नेता, अभियन्ताको अनुहारमा त्यस्तो भाव झल्किन्छ जस्तो स्कुलका माथिल्लो कक्षाका किशोर–किशोरीका मुहारमा ‘नैतिक शिक्षा’को क्लासका बेला झल्किन्छ। अफसोच ! यी दुर्गुण र सद्गुणको वास्ता नगर्ने हो भने माथि उल्लिखित भ्रष्टाचारका कुनै पनि कारणसँग जुझ्न असम्भव छ। निर्लोभ, सम्यक् शिक्षा, करुणा, प्रेम, सामाजिक उत्तरदायित्व बोध, नैतिकता आदि हुर्काउन असम्भव बिलकुलै छैन। यी सबै यस्ता कुरा हुन् जसलाई हुर्काउन अहिल्यै हामीसँग अत्यन्त उपयुक्त ‘इन्क्युबेटर’ र ‘नर्सरी’ छन्। ती इन्क्युबेटर र नर्सरी भनेका अरू केही नभएर हामी वाक्क–दिक्क भएका राजनीतिक दल नै हुन्। वास्तवमा ती जति संगठित, फैलिएका, ठूला र प्रभावशाली अरू कुन संस्था हुन सक्छन् र ? तर नेताहरूमै यी सद्गुणको भयावह अभाव हुन्जेल आफ्नो पार्टीलाई सबभन्दा सद्गुणयुक्त मानिसको संघ बनाउने इच्छा–शक्ति कहाँबाट आओस् ? र, राजनीतिक नेताहरूमा यो इच्छा–शक्ति नआउन्जेल कर्मचारीतन्त्र कसरी भ्रष्टाचारमुक्त होस् ? यस्तो बेला समय स्वयंले खोज्छ– नागरिक नै सचेत, संवेदनशील र जागरुक भइदिउन्। सायद त्यस्तै भइरहेको पनि छ।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad