१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डाक्टर केसीविरुद्धको मुद्दा दुई वर्षपछि खारेज

काठमाडौं – सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्ध परेको अवहेलनासम्बन्धी रिट निवेदन खारेज भएको छ। न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउतको बृहत् पूर्ण इजलासले दुई वर्षपछि बिहीबार दुवै मुद्दा खारेज गर्ने फैसला गरेको हो।

डा. केसीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको दुई थरि उमेरलगायतका विषयमा राजीनामा माग राख्दै अनशन बस्ने बताउँदै विज्ञप्ति निकालेका थिए। त्यसै विज्ञप्तिलाई आधार मान्दै सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले अदालतप्रति अपहेलना गरेको र न्यायाधीशमाथि अपमानजनक शब्द बोलेको भन्दै केसीविरुद्ध २०७४ पुस २५ मा अदालतको अवहेलना भएको भन्दै निवेदन दर्ता गरेका थिए।

निवेदन दर्ता हुँदाकै दिन सर्वोच्चका न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले केसीलाई अदालतमा उपस्थित गराउन गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो। ‘अदालतमा बयान गर्दा न्याय सम्पादन गर्ने न्यायाधीशहरूलाई सम्मान गर्दछु। अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन, स्वच्छ आलोचना गरी अदालत र समाजलाई घच्घचाएको मात्रै हुँ भनी बयान गर्नुभएको देखिन्छ,’ आदेशमा भनिएको थियो।

‘प्रधानन्यायाधीश पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्यायपरिषद्बाट उमेरका सम्बन्धमा भएो निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि समेत झिकाउनु।’ सर्वोच्चको आदेशमा भनिएको थियो।

त्यसैगरी पूर्वप्रधानन्यायधीश पराजुलीका शैक्षिक तथा नागरिकता प्रमाणपत्र विषयलाई लिएर कान्तिपुरमा प्रकाशित भएको समाचारको विषयलाई लिएर अधिवक्ता तोयानाथ ढुंगानाले अदालतको अवहेलना गरेको भन्दै ०७४ फागुन १३ मा निवेदन दर्ता गरेका थिए। प्रन्या पराजुलीको एकल इजलासले जनमानसमा भ्रम पैदा गर्ने समाचार प्रकाशन हुन नदिनु भन्दै काउन्सिलका नाममा समेत आदेश जारी भएको थियो।

त्यसको एक महिनापछि पराजुलीले प्रधानन्यायाधीश पदबाट राजिनामा दिनु परेको थियो। नागरिकता, शैक्षिक प्रमाणपत्रमा जन्ममितीसम्बन्धी विवादमा मुछिएका पराजुलीलाई न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले पदावधि सकिएको जानकारी गराएपछि २०७४ फागुन ३० मा पदमुक्त भएका थिए।

प्रकाशित: २४ माघ २०७६ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App