१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट मर्ने ४९२ पुगे, अझै हुन सकेन नामाकरण

बेइजिङ (बिबिसी) – चीनको वुहानबाट देखिएको कोरोना भाइरसबाट मर्नेको संख्या ४९२ पुगेको छ। कोरोना भाइरसका कारण चीनमा ४९० व्यक्तिको मृत्यु भएको बेइजिङले पुष्टि गरेको छ। यस्तै, चीनबाहिर फिलिपिन्स र हङकङ एक–एक जनाको मृत्यु भएको छ।

मर्नेमा अधिकांश चीनको बुहानका रहेका छन्। कोरोना भाइरसका कारण चीनको मध्य क्षेत्र बढी प्रभावित भएको छ। यद्यपि यसको संक्रमण चीनका अन्य प्रान्त्मा पनि छिटफुट देखिएको छ भन् विश्वका दुई दर्जनभन्दा बढी मुलुकमा संक्रमित बिरामी पुगेका छन्। समस्या विश्वव्यापी बनिरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसबाट बच्न विश्वभर सतर्कता अपनाउन निर्देशन जारी गरेको छ। डब्लुएचओले चीनले संक्रमण फैलिनबाट रोक्न पछिल्ला दिनहरूमा गरेको पहलहरूको खुलेरै प्रशंसा गरेको छ।

डब्लुएचओले नयाँ कोरोना भाइरसविरुद्ध चीनले चालेका कदमले संक्रमणलाई विश्वव्यापी संकट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको जनाएको छ।

डब्लुएचओका महानिर्देशकले चीनको कदम ‘उपयुक्त’ भएको टिप्पणी गरे। प्रकोपलाई सुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा डब्लुएचओको त्यस्तो प्रशंसा आएको हो।

जेनेभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले प्रकोप सुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलिन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताए।

रोग विभिन्न स्थानमा सीमा बन्द गराएको छ तथा चीनका विभिन्न भागलाई बन्दजस्तै गराइदिएको छ। लामो समय हुँदासम्म पनि यसले अहिलेसम्म एउटा उपयुक्त नाम पाएको छैन।

यसलाई केवल ‘कोरोना भाइरस’ भनिएको छ। तर, त्यो नाम त योसहित विभिन्न भाइरस अर्थात् विषाणुहरू समाविष्ट एउटा समूहलाई जनाउने नाम हो। तत्कालका लागि ‘२०१९–एनसिओभी’ पनि भन्ने गरिएको छ। तर, त्यो नाम एकदमै क्लिस्ट छ।

वैज्ञानिकहरूको एउटा समूहले उक्त भाइरसलाई उपयुक्त नाम दिन बृहत् छलफल गरेका छन्। उनीहरूले आफूहरूले छिट्टै नयाँ नाम घोषणा गर्ने बताएको बिबिसीले जनाएको छ।

‘नयाँ भाइरसको नामकरण गर्न प्रायः ढिलो हुन्छ। अनि अहिलेसम्म जनस्वास्थ्यसम्बन्धी काममा ध्यान थियो,’ जन हप्किन्स सेन्टर फोर हेल्थ सिक्युरिटीका वरिष्ठ प्राज्ञ क्रिस्टल वाट्सनले भनिन्। तर, नामकरण पनि प्राथमिकतामा पर्नुमा विभिन्न कारण भएको उनी बताउँछिन्।

यो भाइरसको भेद निर्धारण गर्न वैज्ञानिकहरूले यसलाई नोभल अर्थात् नयाँ कोरोना भाइरस भन्दै आएका हुन्। सूक्ष्मदर्शक यन्त्रबाट हेर्दा तिनमा मुकुटजस्ता गुच्छा देखिने भएकोले भाइरसलाई कोरोना भाइरस भन्ने गरिएको हो।

डब्लुएचओले अस्थायी नाम ‘२०१९–एनसिओभी’ प्रयोग गर्न सिफारिस गरेको छ। यसमा पत्ता लागेको साल २०१९, नयाँ जनाउन अंग्रेजी अक्षर एन र कोरोना भाइरसका लागि सिओभी लेखिएको छ। तर, यो नाम त्यति चलेको छैन। ‘यसको अहिलेको नाम प्रयोग गर्न सजिलो छैन। सञ्चारमाध्यम र सर्वसाधारणले यो भाइरसका अन्य नाम प्रयोग गरिरहेका छन्,’ डा. वाट्सनले भनिन्।

‘आधिकारिक नाम नहुँदा मानिसहरूले ‘चाइना भाइरस’जस्ता पदावली प्रयोग गर्न सक्ने खतरा हुन्छ। अनि यसले केही समुदायलाई अप्ठ्यारो पार्न सक्छ,’ उनले थपिन्।

सामाजिक सञ्जालका कारण अनौपचारिक नामहरू चाँडै स्थापित हुने र तिनको प्रयोग कम गर्न गाह्रो हुने उनको बुझाइ छ।

उक्त भाइरसको औपाचारिक नामकरण गर्ने उत्तरदायित्व ‘इन्टरनेसनल कमिटी अन ट्याक्सनमी अफ भाइरसेज (आइसिटिभी) को हो। नाम हतारमा राख्दा परिपक्वता नहुने भएकाले केही ढिलाइ भएको उक्त संस्थाले जनाएको छ।

यसअघि फैलिएका भाइरसको नामकरण गर्दा उक्त समूहले केही पाठ सिकेको बताएको छ। सन् २००९ मा एचवनएनवन भाइरसलाई ‘स्वाइन फ्लु’ भनियो। उक्त भाइरस सुँगरले नभएर मानिसले फैलाउने भए पनि इजिप्टमा सुँगुर मार्ने अभियान नै चलेको थियो।

प्रकाशित: २३ माघ २०७६ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App