१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चीनबाट उद्धारपछि राख्ने ठाउँ टुंगो लागेन

काठमाडौं – नोवल कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तको वुहानमा रहेका नेपालीलाई स्वदेश फिर्ता गरेर कहाँ राख्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन। सोही विषय टुंग्याउन सरकारी निकाय तथा अधिकारीहरूबीच बुधबार बैठक बसे पनि सहमति जुट्न सकेन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बुधबार सरकारका उच्च अधिकारीहरूबीचको बैठकले चीनबाट फिर्ता ल्याएकालाई कहाँ राख्ने भन्ने टुंगो लगाउन नसकेको बताए। उनले ठाउँ टुंगो लगाउन बिहीबार फेरि बैठक जानकारी दिए। ‘चीनबाट विमान चार्टर गरेर ल्याएकालाई राख्न विभिन्न ठाउँको चर्चा भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘बैठकले ठाउँ यकिन गर्न सकेन, फेरि अर्को बैठकबाट यसको टुंगो लाग्छ होला।’ राख्ने ठाउँको टुंगो नलागेसम्म फिर्ता ल्याउने कामसमेत नहुने पनि उनले स्पष्ट पारे। कम्तीमा १५ दिन निगरानीमा राख्नुपर्ने भएकाले ठाउँको टुंगो नलागी फिर्ता ल्याउँदा समस्या हुने प्रवक्ता श्रेष्ठको भनाइ छ।

फिर्ता गरिएकालाई भक्तपुरको खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा राख्ने तयारी भइरहेका बेला स्थानीय विरोधमा उत्रिएपछि सरकार त्यस निर्णयबाट सरकार पछि हटेको हो। प्राधिकरण भवनमा राखिने समाचार बाहिर आएपछि बुधबार स्थानीयवासीले नाराजुलुस गरी त्यहाँं राख्न नदिने घोषणा गरेका हुन्। बस्तीका बीचमा रहेको सो क्षेत्रमा उनीहरूलाई राख्दा स्थानीय पनि संक्रमित हुन सक्ने भन्दै आफूहरूले विरोधमा उत्रिएको स्थानीयले बताए। नाराजुलुसपछि नजिकैको चाँंगुनारायण नगरपालिकाको कार्यालय पुगी उनीहरूले कुनै हालतमा पनि त्यहाँं राख्न नदिने बताएका थिए।

वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी सरकारले थालेपछि एक सय ८० जनाले फिर्ताका लागि आवेदन दिइसकेका छन्। चीनमा रहेको नेपाली दूतावासले विमान चार्टर गरेर स्वदेश फिर्ता लाने भन्दै इच्छुकलाई फाराम भर्न अह्वान गरेको थियो। सरकारले उद्धार गर्ने भएपछि फाराम भरेर नेपाल आउन ठिक्क परेकाहरूलाई व्यवस्थापन गर्ने विषयमा सरकारी निकायहरूबीच समन्वय नहुँदा निर्णय हुन नसकेको हो। समयमै निर्णय नहुँदा कहिले फिर्ता ल्याउने हो भन्ने विषयमा सरकारी अधिकारीहरू नै अन्योलमा परेका छन्।

प्राणघातक कोरोना भाइरसको महामारी फैलिएसँग विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकाल घोषणा गरेको छ। चीनमा करिब पाँच सयको ज्यान गुमाइसकेको र २० हजारभन्दा बढी संक्रमित भएको तथ्यांक सार्वजनिक भएपछि सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्ने प्रयास थालेको हो। कोरोना भाइरसको संक्रमण अहिले नेपालसहित भारत, श्रीलंका, जापान, थाइल्यान्ड, सिंगापुर, हङकङ, दक्षिण कोरिया, भियतनाम, मकाउ, युएई, अस्टे«लिया, ताइवान, मलेसिया, फ्रान्स, स्पेन, जर्मनी, बेलायत, इटाली, अमेरिका, क्यानडा, कम्बोडिया, फिनल्यान्ड गरी करिब २५ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

प्रकाशित: २३ माघ २०७६ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App