राष्ट्रवाद जागेको वर्ष सन् २०१६

बिहिबार, १४ पुष २०७३, ११ : ३८ दीपेश केसी

डोनाल्ड ट्रम्पका अश्लील बोलीदेखि विवादास्पद क्रियाकलापको विगतका प्रामाणिक दस्तावेज र फुटेलदेखि वर्तमानका अराजक व्यवहारले उनलाई अमेरिकी राष्ट्रपति बन्नबाट रोक्न सकेन। जितको श्रेय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइए पनि अमेरिकी जनादेश ट्रम्पको पक्षमा गयो। जे/जस्ता टिकाटिप्पणी भए पनि जितको मुख्य कारण थियो राष्ट्रवाद। चुनावमा उनको नारा नै थियो– अमेरिका फस्ट अर्थात् पहिलो प्राथमिकता अमेरिका। अमेरिकी हित रक्षार्थ जस्तोसुकै कठोर कदम चाल्ने संकेत गरे। मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनेदेखि मुसलमानहरूलाई अमेरिका प्रवेश रोक्नेसम्मको मुद्दा उठाए। आप्रवासी प्रवेशमा कडाई गर्नेदेखि स्वदेश छाडेका लगानीलाई पुनः फर्काएर रोजगारीको अवसर बढाउनेसम्ममा जोड दिएका थिए। बाह्य जगतका लागि अपाच्य भए पनि अमेरिकी जनताको हितमा थियो ट्रम्पले उठाएका मुद्दा। जसका कारण यी अर्बपति व्यापारी आफ्ना प्रतिद्वन्द्वी हिलारी क्लिन्टनभन्दा कम चुनावी खर्च गरेर विजयी भएका थिए। महाशक्ति अमेरिकी चुनावको घटनाक्रम नियाल्दा राष्ट्रवादको मुद्दाले विशेष महत्व पाएको सन्देश हो यो।

विश्वभर उठेको राष्ट्रवादको लहरले देशहरूको विभाजन रोक्न भूमिका खेल्नसक्छ तर त्यो लहरले उग्र रूप लिए अर्को संकट निम्त्याउन सक्छ।

रूसमा पुटिनको राष्ट्रवाद झन् सशक्त बन्दै गयो। अमेरिकादेखि युरोपेली युनियनसँगको तिक्तताको परिणाम क्रिमिया युद्ध र सिरियाली युद्धमा पुटिनले अडान छाडेनन्। तेल र ग्यासमा बढी निर्भर रूसको अर्थतन्त्र मूल्यमा व्यापक गिरावट भई अर्थतन्त्र खस्किँदा पुटिन टसमस भएनन्। डलर र पाउन्डको तुलनामा रूबल निकै खस्कँदा, आयातीत तरकारीदेखि खाद्यान्नमा चर्को मूल्य तिर्नुपर्दा पनि 'राष्ट्रवादी' पुटिनलाई रूसी जनताले साथ दिए। राष्ट्रवाद जगेर्ना गर्न जनता महङ्गी र आर्थिक समस्याको चुनौती झेल्न तयार हुन्छन् भन्ने उदाहरण हो यो। जनताको साथ पाएका पुटिनले रूससँग जोरी खोज्ने युरोपेली युनियन सम्बद्ध कतिपय देशका उत्पादन रोकिदिए। रूसमात्र नभई अमेरिकासम्म राष्ट्रवादको मुद्दा बलियो गरी उठ्यो। पुटिन लगातार चौथो पटक फोब्स म्यागाजिनले तयार गरेको सूचीमा विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति बने। फिलिपिन्समा विवादास्पद राष्ट्रपति रोड्रिगे डुटेर्‍टेको राष्ट्रवाद उत्तिकै चर्चामा आयो। देशभित्र लागु औषध कारोबारलाई नियन्त्रण गर्न चालेको ड्रग्सविरूद्धको युद्धमा हालसम्म करिब चार हजारको ज्यान गइसकेको अनुमान छ। अर्कोतर्फ, डुटेर्‍टेले तीस लाख लागु औषधको प्रयोगकर्ता र कारोबारीको सफाया गर्ने विवादास्पद अभिव्यक्ति दिए। उनको कदम मानव अधिकारको गम्भीर उल्लंघन भनी पश्चिमाहरूले आवाज उठाउँदा उल्टै चुनौतीको भाषा बोले। बरू 'हिटलर' बन्न तयार हुने तर कदमबाट पछि नहट्ने बताए। देशको हितका लागि आफूले जुनसुकै कदम चाल्ने तर पछि नहट्ने अभिव्यक्तिमात्र दिएनन्, मानव अधिकार उल्लंघनको विषय उठाउने अमेरिकी राष्ट्रपति बाराक ओबामाबारे सार्वजनिकरूपमै नकारात्मक टिप्पणी गरे। अमेरिकासँगको सम्बन्ध टुटाउनेसम्मको चेतावनी दिए। जबकि फिलिपिन्समा अमेरिकी सेनाको उपस्थिति रहँदै आएको छ।

सि चीनफिङ नेतृत्वको चीन ट्रम्पको उदयसँगै सतर्क बनेको छ। चीनले अमेरिकी अर्थतन्त्रमाथि बलात्कार गरेको भन्दै कठोर अभिव्यक्ति दिँदै आएका ट्रम्पले ताइवानका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेको घटनापछि तरंग आयो। एक चीन नीतिमाथिको चुनौतीका बुझाईका आधारमा चीनभित्र राष्ट्रवादी भावना बलियो गरी प्रदर्शित हुने संकेतहरू देखापरे। चीनले छिमेकीदेखि बलिया देशहरूसम्म एक चीन नीतिको प्रत्याभूति चाहेको देखिँदैछ। भारतमा निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाको गतिविधि बढ्नु र नेपालमा समेत त्यसको प्रभाव देखिनुले चीनले सतर्कता व्यवहारमै देखाइरहेछ। अर्कोतर्फ, साउथ चाइना सीमा मानव निर्मित टापु बनाएर सैन्य उपस्थिति बढाएर प्रभाव देखाइरहेछ। अमेरिकासँग निकट फिलिपिन्सलगायतका देशहरूलाई आफ्नो पक्षमा ल्याउने चिनियाँ भूमिका देखिइरहेछ। यी घटनाक्रमसँगै चीनले सैन्य खर्चमा व्यापक वृद्धि गर्दै विश्वभर प्रभाव बढाउने रणनीति चालिरहेछ।

भारतमा नरेन्द्र मोदीको राष्ट्रवादको मुद्दा झन् कठोर बन्दै गयो। पाकिस्तानलाई चुनौतीमात्र दिएनन् त्यहाँ सर्जिकल स्ट्राइकको आदेश दिए। राष्ट्रको हितमा लक्षित रहेको सन्देश दिने क्रियाकलाप बढाइरहेका मोदीले कालो धनमाथि प्रहार भन्दै नोटबन्दीको घोषणा गरे। जसका कारण जाली नोटको कारोबारदेखि भारतबाहिर पुगेका धन संकटमा पर्‍यो। मोदीले नोटबन्दीको आलोचना खेपिरहे पनि पछि नहट्ने अडान राख्दै यसलाई आफ्नो देशको हितमा चालेको कठोर कदम भनिरहे। छिमेकीसँगको व्यवहार होस् या शक्तिशाली देशहरूसँगको सम्बन्धमा नै किन नहोस्, मोदीले आफूलाई सच्चा राष्ट्रवादीका रूपमा प्रस्तुत गर्न खोजिरहेका छन्। मोदी राष्ट्रवाद भारतको विदेश नीतिदेखि आन्तरिक राजनीतिक निर्णयहरूमा देखिइरहँदा त्यहाँको जातीय र क्षेत्रीय पहिचानका मुद्दाहरू कमजोर बनाउने कदम चालिएका छन्। मोदी स्वयं जातीय र क्षेत्रीय मुद्दाभन्दा राष्ट्रिय सोच र व्यवहारमा जोड दिँदै आएका थिए।

विश्वका शक्तिशाली देशहरूमा बढेको राष्ट्रियताको मुद्दाका पछाडि ती देशमा पहिचानका नाममा बढेको आन्तरिक संकट नै मुख्य कारण हो। अमेरिकामा आफूलाई रैथाने दाबी गर्ने गोराहरूले संकट महसुस गरे। काला जातिबाट पहिलोपटक राष्ट्रपति बनेका बाराक ओबामाको उदारवादले अमेरिकी हितको रक्षा गर्न नसकेको सन्देश प्रवाह भयो। मेक्सिकोदेखि बाह्य दुनियाँबाट आप्रवासी बढ्दा अमेरिका गोराहरूको मात्र होइन भन्ने बलियो सन्देश प्रवाह हुँदै गयो। त्यसैले अमेरिका गोराहरूको हो भन्ने समूह हावीमात्र भएनन् उग्र राष्ट्रवादी हिटलरले प्रयोग गर्ने गरेको नारा बोल्न थाले। पहिचानका नाममा गोराहरू अल्पमतमा पर्दा अमेरिकी अखण्डतामाथि चुनौती बढ्न सक्नेसम्मका विषय उठे। हुन पनि ट्रम्पको जितपछि केही राज्यमा स्वतन्त्र राष्ट्रको माग उठे। अमेरिकी कर्मचारीतन्त्रदेखि गोराहरूले अमेरिकी हितका लागि राष्ट्रवादको मुद्दालाई प्राथमिकतामा राखे। ट्रम्पको जित यसैको परिणाम थियो।

पहिचान र क्षेत्रीयताको मुद्दाले बल पाउँदा सोभियत संघ विघटन भएको थियो। विभाजनको पीडा भोगेको रूसले रणनीतिक महत्वको क्रिमियामाथि हस्तक्षेप गर्नुका पछाडि रूसी स्वार्थ र रूसी समुदायको हित रक्षाको उद्देश्य थियो। रूसीहरू क्रिमियामा प्रतिष्ठाको लडाइँ ठानेर लडे। रूसी राष्ट्रवादको उपज थियो क्रिमिया युद्ध। चेचेन्यादेखि गैररूसी बहुमतमा रहेका क्षेत्रमा समेत पहिचानको मुद्दाभन्दा राष्ट्रवाद नै बलियो बनाउने नीति रूसले देखाउँदै आएको छ। चीनमा उठ्दै गरेको जातीय पहिचानको मुद्दा ओझेलमा पर्‍यो। म्यान्मामा रोहिन्ग्या मुसलमानहरूलाई त्यहाँका रैथानेहरूले कठोर व्यवहार देखाएर पलायन हुन बाध्य बनाए। अल्पमतमा रहेर जातीय अधिकारको माग गर्ने विश्वका धेरै क्षेत्रका समुदाय कि त चुप लाग्न बाध्य पारिए कि लखेटिए। श्रीलंकामा पृथकतावादी गतिविधि गर्ने तमिलहरूको आवाज कुनै बेला विश्वका कुनाकाप्चासम्म पुग्थ्यो। सैन्य कारबाहीमार्फत विद्रोही निमिट्यान्न पारिएपछि श्रीलंकाली तामिलहरूको आवाज शायदै सुनिन्छ। जुनसुकै हतकण्डाबाट किन नहोस्, राष्ट्रवादले विश्वका कुनाकाप्चामा पुनर्जागृत हुने वातावरण पायो।

नेपालमा राष्ट्रवाद

राष्ट्रवादको मुद्दा जोडतोडले उठ्दै गर्दा नेपाल पनि त्यसबाट मुक्त छैन। नाकाबन्दीका बखत एक सय रुपियाँ मूल्यको तेल कालोबजारमा पाँच सय तिरेर दैनिकी चलाएका थिए नेपालीले। तेब्बर मूल्य तिरेका थिए उपभोग्य सामग्रीको। राष्ट्रवादको भावना झन् बढ्दै जाँदा यही मुद्दामा राजनीतिक दलहरूले अवसर देखे। राज्यविहीन समाजको मार्क्सवादी दर्शनबाट दीक्षित केपी शर्मा ओली सबैभन्दा राष्ट्रवादी नेताका रूपमा आफूलाई चिनाउन चाहन्छन्। ओली 'राष्ट्रवाद' ले जातीय र क्षेत्रीय पहिचानको मुद्दालाई कडा चुनौती दिइरहेछ। संघीयतामाथि ओलीले प्रश्न तेर्साउन थालिसके। पञ्चायती पृष्ठभूमिका कमल थापाले समेत राष्ट्रवादलाई प्राथमिकतामा राखेर राजनीतिक भविष्य बलियो बनाउन खोजिरहेछन्। नेपाली कांग्रेसदेखि माओवादी केन्द्रसम्मका दोस्रो पुस्ताका प्रभावशाली नेताहरूले आफूलाई राष्ट्रवादीका रूपमा चिनाउन जातीय र क्षेत्रीय मुद्दामाथि कडा प्रतिवाद गर्न थालिसके। विश्वभर आएको राष्ट्रवादको लहरबाट नेपालसमेत मुक्त हुन सक्दैन। यसले आन्तरिक र बाह्य प्रभावको उपज बढेको जातीय र क्षेत्रीय पहिचानको मुद्दामाथि धक्का पर्न सक्छ।

पहिचानको मुद्दाले एक अर्का जाति, समुदाय र क्षेत्रका बासिन्दामाथि घृणाभाव बढाउनेसम्मको अवस्था आयो। यतिसम्म कि देशको अखण्डतामाथि नै चुनौती आउन सक्ने अवस्था बन्दै गयो। आफूलाई रैथाने दाबी गर्नेहरूले संकटमा परेको महसुसमात्र गरेनन्, असुरक्षित पनि ठाने। अहिले उनीहरू संगठित र सशक्त बन्दै गएका छन्। आफ्नो मात्र नभएर यो देश आफूहरूकै कारण बनेको दाबी गर्नेहरूले अस्तित्व रक्षार्थसमेत राष्ट्रवादको मुद्दा उठाउँदै लगेका छन्। यो आन्तरिक राजनीतिमा आएको हलचलका कारण मात्र नभएर बाह्य जगत्मा बढ्दो राष्ट्रवादको मुद्दाको उपज हो। राष्ट्रवाद जागृत हुनु राष्ट्रको हितमा छ। तर उग्र राष्ट्रवादले सीमा नाघ्दा देश नै संकटमा पर्न सक्छ। उग्र राष्ट्रवादका कारण हिटलरले जर्मनीलाई विश्वयुद्धमा पुर्‍याए। जर्मनी पराजित भयो र हिटलर इतिहासमा कलंकित बने। विश्वभर उठेको राष्ट्रवादको लहरले देशहरूको विभाजन रोक्न भूमिका खेल्नसक्छ तर त्यो लहरले उग्र रूप लिए अर्को संकट निम्त्याउन सक्छ। हरेक विषयको एउटा हद हुन्छ। हद नाघे विनाश हुन्छ। राष्ट्रवाद सही छ तर उग्र राष्ट्रवाद कुनै पनि समाज र देशका लागि घातक छ।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad