१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भलिबलमा १५ वर्षपछि आर्मीको स्वर्ण

इटहरी- अनुभवी विभागीय टोली आर्मीको पुरुष भलिबल टोलीले १५ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेको छ। बुधबार आर्मीले एपिएफलाई ३–२ सेटमा हराउँदै स्वर्ण जित्यो। पछिल्लो पटक आर्मीले नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको थियो।

'१५ वर्षयता बृहत् राष्ट्रिय खेलकुदको भलिबलतर्फ आर्मीले पहिलोपटक स्वर्ण पदक हात पार्दा धेरै खुसी लागेको छ,' आर्मी भलिबल टोलीका व्यवस्थापक राजु श्रेष्ठले भने।

इटहरी रंगशालामा भएको फाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई हराएर आर्मीले स्वर्ण पदक जितेको हो। 'अन्य खेल सबैमा आर्मीको टोली राम्रो भए पनि सबैभन्दा कमजोर भलिबलमै भएकाले जसरी पनि जित्नुपर्ने सोच थियो। सोचअनुसार सफलता पनि पाइयो,' श्रेष्ठले भने, 'अब आर्मीको भलिबलमा टोलीमा पनि उत्साह थपिएको छ।'

आर्मीले भलिबलमा स्वर्ण जित्न प्रशिक्षकलाई विशेष प्राथमिकतामा राखी खेल्न खेलाडीलाई निर्देशन दिएका थिए। 'भलिबलमा लामो समयपछि स्वर्ण पदक जित्यौं,' आर्मीका कप्तान दीप खड्काले भने, 'अब आर्मी कुनै पनि खेलमा कमजोर छैन भन्ने भलिबलको स्वर्ण जितेर प्रमाणित गर्न सफल भयौं।'

एपिएफले रजत पदक जित्यो। पुरुष भलिबलमा पश्चिमाञ्चल खेलमा सहभागी नभएपछि सोझै नेपाल पुलिस क्लबले कांस्य पदक पायो। पश्चिमाञ्चलका खेलाडीले मंगलबार सेमिफाइनल खेलमा रेफ्री विनय राईमाथि हातपात गरेको थियो। बुधबारको खेलमा पश्चिमाञ्चलका टोली व्यवस्थापक र प्रशिक्षकलाई कुनै घटना हुन नदिने प्रतिबद्धतासहितको लिखित गराएरमात्र खेल खेलाइने सहमति भएको थियो। तर, पश्चिमाञ्चल टोली खेल खेल्न मैदानमै उत्रेन।

महिलातर्फ भलिबलमा सशस्त्र प्रहरीको एपिएफले स्वर्ण पदक जित्यो। एपिएफले मध्यमाञ्चललाई ३–० सेटले जित्यो। एपिएफले छैटौं राष्ट्रिय खेलकुदमा तेस्रो भएर कांस्य पदक जितेको थियो। 'यसपटक भने जसरी पनि स्वर्ण पदक जित्ने ढंगले खेलेका थियौं, सफल भयौं। खुसी लागेको छ,' खेलाडी विनिता बुढाथोकीले भनिन्। महिला भलिबलमा पश्चिमाञ्चलले तेस्रो भएर कांस्य पदक जित्यो। पश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई ३–२ सेटले हरायो। पुरुष–महिला दुवै भलिबलमा ५ विकास क्षेत्रसहित ३ विभागीय टीमको सहभागिता थियो।

प्रकाशित: १४ पुस २०७३ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App