१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्रिकेट प्रशिक्षकको राजीनामा

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग–२ को प्रतिस्पर्धा नजिकिँदै गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन्।

पटवालले उक्त प्रतियोगितापछि लागू हुने गरी राजीनामा दिएको स्रोतले बताएको छ। नेपाल क्रिकेट संघ (क्यान) विघटन रहेको अवस्थामा आइसिसी र नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्को प्रयासमा पटवाललाई प्रशिक्षकमा नियुक्त गरिएको थियो। हाल वैधानिकता पाएको क्यानलाई भने प्रशिक्षक पटवालले राजीनामा दिएको जानकारी गराएका छैनन्। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आधिकारिक रूपमा प्रशिक्षक राजीनामाका बारेमा जानकारी नआएको बताए।

‘प्रशिक्षकको राजीनामाको बारेमा हामीलाई जानकारी आइसकेको छैन। त्यसैले राजीनामा हो भन्ने आधिकारिता हामीसँग छैन,’ क्यान अध्यक्ष चन्दले भने। यता, तत्कालीन समयमा क्यान विघटन रहँदा राखेपले प्रशिक्षक नियुक्तिमा समन्वयकारी भूमिका खेलेको थियो। राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललाई प्रशिक्षक राजीनामाबारे जानकारी लिन खोज्दा उनी सम्पर्कमा आएनन्।

नेपालले लिग–२ मा अमेरिका र ओमानसँग २/२ गरी ४ खेल खेल्नेछ। पछिल्ला समय पटवालको प्रशिक्षणमा नेपालले खराब नतिजा बेहोरेसँगै तलबमा कर लगाइएपछि उनले जिम्मेवारी छोड्न लागेको स्रोतले जनाएको छ। पटवालले मासिक ७ हजार डलर पाउँथे। आइसिसीले उपलब्ध गराएको उक्त पारिश्रमिक परिषद्मार्फत पटवालले पाउनुपर्ने थियो। तर, पारिश्रमिकमा ३५ प्रतिशत आयकर लगाइएपछि राखेपले दिएको चार महिनाको तलब पनि पटवालले लिन अस्वीकार गरेको राखेप स्रोतको भनाइ छ।

सम्झौतामा आयरकरबारे उल्लेख नभएकाले पटवालले पूरै रकम दाबी गर्दै आएका थिए।

प्रकाशित: २१ माघ २०७६ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App