१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लिभरपुलको फराकिलो अग्रता

लन्डन – साउथह्याम्पटनमाथि ४–० को सहज जितका साथ लिभरपुलले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा २२ अंकको अग्रता बनाएको छ। घरेलु मैदान एन्फिल्डमा कीर्तिमानी लगातार २०औं जित हात पार्ने क्रममा मोहम्मद सालाहले २ गोल गरे भने एलेक्स अक्सलेड चेम्बरलिन र जोर्डन हेन्डरसनले समान एक गोल गरे।

४७औं मिनेटमा अक्सलेड चेम्बरलिनले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो। लिभरपुलका खेलाडीले ड्यानी इङ्सलाई पेनाल्टी बक्समा लडाएपछि साउथह्याम्पटनले पेनाल्टीको अपिल गरे पनि त्यो सफल भएन। ‘साउथह्याम्पटनको अपिलमा पेनाल्टी दिइएको भए, खेलको नतिजा अर्कै हुन सक्थ्यो,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘हामीले दोस्रो हाफमा केही परिवर्तन ग-यौं, त्यसपछि खेलले गति लियो।’

६० औं मिनेटमा हेन्डरसनले लिभरपुलको अग्रता दोब्बर पारेका थिए। खेलको अन्तिम २० मिनेटमा थप २ गोलमा लिभरपुलले सहज जित पक्का गरेको हो। सालाहले ७२औं र ९०औं मिनेटमा गरी २ गोल गरेका थिए। लिभरपुल २५ खेलमा ७३ अंक जोड्दै शीर्ष स्थानमा यथावत् छ। एक खेल कम खेलेको साबिक विजेता म्यानचेस्टर सिटी ५१ अंकका साथ दोस्रो स्थामा छ। ४९ अंकका साथ लेस्टर सिटी तेस्रो स्थानमा बस्दा ४१ अंक जोड्दै चेल्सी चौथो स्थानमा र ३६ अंकका साथ सेफिल्ड युनाइटेड पाँचाैँ स्थानमा छ।

प्रिमियर लिगअन्तर्गत शनिबार भएका अन्य खेलमा एभर्टनले वाट्फोर्डलाई ३–२ ले हराउँदा म्यानचेस्टर युनाइटेड भने उल्भरह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ। यता पाँचाैँ स्थानमा उक्लिने क्रममा सेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० ले हराउँदा बर्नमाउथले एस्टन भिल्लालाई २–१ ले हरायो। वेस्ट ह्याम र ब्राइटोनले ३–३ को बराबरी खेल्दा नर्विच र न्युक्यासल युनाइटेड गोलरहित बराबरीमा रोकिए।

प्रकाशित: २० माघ २०७६ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App