१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इयुबाट बहिर्गमनपछि बेलायत

काठमाडौं– जनमत संग्रहले दिएको मतादेशलाई कार्यान्वयनमा लाँदै बेलायत युरोपेली संघ (इयु)बाट बाहिरिएको छ ।
सन् २०१६ जुन २३ मा भएको जनमत संग्रहमा संयुक्त अधिराज्यका ५२ प्रतिशत मतदाताले बेलायतलाई इयुबाट अलग गर्ने (ब्रेक्जिट)को समर्थन गरेका थिए भने ४८ प्रतिशतले त्यसको विपक्षमा मतदान गरेका थिए ।

बेलायत आधिकारिक रूपमा शुक्रबारबाट इयुसँग अलग्गिएको छ । योसँगै इयु र बेलायतबीचको करिब आधा शताब्दी लामो सम्बन्ध नयाँ स्वरूपमा आउनेछ । यद्यपि बेलायतले आगामी ११ महिना संक्रमणकालबाट गुज्रिनेछ । यो समयमा बेलायतले इयुसँग पुरानै कानुनमा आधारित रहेर काम गर्नेछ ।

ब्रेक्जिटका लागि गत डिसेम्बरमा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यसहितको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री बोरिस जोनसनले संसदमार्फत यो पछिल्लो सम्झौता गरेका थिए । बेलायतले आफ्ना सबै साधन र स्रोतहरूलाई स्वतन्त्र र खुलारूपले प्रयोग गर्न पाउँदा मुलुकको आर्थिक तथा राजनीतिक उचाइ थप बढ्ने बताएका छन् । स्रोत र साधनको उपयोग गर्ने समय भएको र यसबाट मुलुकको साख उठाउन बेलायत एकताबद्ध भएर अघि बढ्न आग्रह प्रधानमन्त्री जोनसनले गरेका छन् । यद्यपि उनले आफ्नो सम्बोधनमा कसरी देशले समृद्धि प्राप्त गर्नेछ भन्नेबारे तर्कहरूलाई पुष्टि गर्ने व्याख्या भने सम्बोधनमा उल्लेख छैन ।  

ब्रेक्जिटबारे धारणा राख्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबारको सम्बोधनमा भने, ‘धेरै व्यक्तिका लागि यो आशाको आश्चर्यजनक क्षण हो, जसले यो क्षण आउने कल्पना गरेका थिएनन् । पक्कै पनि यहाँ ठूलो संख्याले चिन्ता र नोक्सानको भाव पनि प्रकट गरेका छन् ।’ ‘सम्भवतः सबैभन्दा ठूलो तेस्रो यस्तो समूह पनि छ, जसले सम्पूर्ण राजनीतिक झगडा कहिल्यै समाप्त नहुने भन्दै चिन्ता गरिरहेका थिए । म ती सबै भावना बुझ्छु र सरकारका रूपमा हाम्रो काम अर्थात् प्रधानमन्त्रीका रूपमा मेरो काम यो देशका सबै नागरिकलाई एकताबद्ध गरेर देशलाई अघि बढाउने हो ।’

उनले भने, ‘आफ्ना सामथ्र्य र प्रशंसनीय गुणका कारण इयुले आफ्नो झन्डै आधा शताब्दी यसरी बिताएको हो । अब यो बेलायतका लागि सान्दर्भिक छैन । सबैभन्दा महत्वपूर्ण कुरा के छ भने यो सम्बन्धको अन्त्य होइन, नयाँ सुरुआत हो र यो वास्तविक राष्ट्रिय नवीकरण र परिवर्तनको क्षण हो ।’

करिब साढे तीन वर्षपहिले जनताको निर्णयलाई आधार मान्दै बेलायती कानुनअनुसार बहिर्गमनको प्रक्रिया सुरु भएको थियो । तर, यसै विषयमा भएका विवादलाई लिएर बेलायतमा दुई–दुई पटक प्रधानमन्त्री पनि फेरबदल भए । जनमत संग्रहलगत्तै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरूनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

उनी ब्रेक्जिटको पक्षमा थिएनन् । त्यसपछि प्रधानमन्त्री बनेकी थेरेसा मेलाई जनमत संग्रहको मुख्य दायित्व ब्रेक्जिटको पूरा गर्नु वा लागू गर्नु थियो । तर, बे्रक्जिटका लागि मेले इयु नेताहरूसँग गरेको सम्झौतालाई बेलायतको संसदले स्वीकृति नदिँदा पटक–पटकको प्रयास विफल भयो । विभिन्न सर्तहरूबारे सांसदको समर्थन हासिल गर्न नसकेपछि उनले पनि राजीनामा दिए । अहिलेका प्रधानमन्त्री बोरिस जोनसनसमक्ष उक्त दायित्व आएको हो ।
ब्रेक्जिट पक्षधर र इयुको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवैले र्‍याली गरेका थिए ।  ब्रेक्जिट पक्षधरले त उत्सव र मैनबत्ती नै बालेर परिवर्तनलाई आत्मसात गरेका छन् ।

बेलायतले अबका ११ महिनासम्म ‘संक्रमणकाल’ सुरु गर्ने भएकाले परिवर्तनचाहिँ खासै देखिने छैन । सदस्यता त्यागे पनि धेरैजसो युरोपेली संघका कानुनहरू कायमै रहनेछन् । ब्रेक्जिट लागू भए पनि संक्रमणकालभरि (डिसेम्बरको अन्त्यसम्म) मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन् । सरकारले इयुसँग सङ्क्रमणकालभित्रै स्थायीरूपमा खुला व्यापार सम्झौता गरिसक्ने लक्ष्य राखेको छ ।

ब्रेक्जिटपछि दिएको संक्षिप्त प्रतिक्रियामा लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि ‘देश अगाडि बढ्नुपथ्र्यो’ र इयुसँग ‘राम्रो सम्बन्ध बनाइरहनुपथ्र्यो’ भनेका छन् । उनले बिना आधार अमेरिकासँग व्यापार सम्झौताका लागि हतार नगर्न सुझाव दिएका छन् । जनमत संग्रहमा जुन तरिकाले मत खसेको भए पनि इयुबाट बाहिरिने दिन सबैका लागि एक महत्वपूर्ण समय भएको पनि उनले बताएका छन् ।

जनमतसंग्रहका बेला इयुसँगै बस्नुपर्ने अभियानको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले पनि ब्रेक्जिट कार्यान्वयनमा जाने दिनबारे भने, ‘आज बेलायतका लागि ठूलो दिन होे । उनले बेलायतका जनताको ‘रोजाइ सफल हुने’ विश्वास आफूलाई रहेको बताए ।

त्यस्तै, ब्रेक्जिट पार्टीका नेता नाइजल फराजले भने, ‘अन्त्यमा त्यो दिन आएको छ, जब हामी स्वतन्त्र हुन्छौँ । संस्थापनको विरुद्ध लड्ने मानिसका लागि जनवरी ३१ ऐतिहासिक दिन हो र विशेष जितको पल हो ।’

नाइजेल फराजको ब्रेक्जिट पार्टीले सन् २०१९ को मेमा भएका युरोपेली चुनावमा संयुक्त अधिराज्यका तर्फबाट सबभन्दा धेरै सिट जितेको थियो । ब्रेक्जिट पार्टीका नेता तथा बेलायतले इयु त्याग्नुपर्ने पक्षका मुख्य अभियानकर्ता नाइजेल फराज ती ७३ ब्रिटिस युरोपेली सांसदमध्ये हुन्, जसको पद स्वतः समाप्त हुँदैछ किनभने ब्रेक्जिटको समयमा बेलायतले इयुका सबै राजनीतिक निकाय तथा संस्था त्याग्नेछ ।

संक्रमणमा संयुक्त अधिराज्यले इयुको नियम मानिरहनेछ र इयुलाई तिर्नुपर्ने पैसा पनि तिरिरहनेछ । कति कुरा पहिलाकै जस्ता हुनेछन् भने केही बदलिनेछन् ।

ब्रेक्जिट कार्यान्वयनसँगै युरोपेली संसदमा रहेका बेलायती सदस्यहरू पदमुक्त भएका छन् । तर, बेलायतले संक्रमणमा इयुको नियम मान्नुका साथै युरोपेली न्यायालयलाई कानुनी विवादमा अन्तिम निरूपणको अधिकार प्राप्त भइरहनेछ । अब इयू शिखर सम्मेलनमा बेलायत सहभागी हुन पाउनेछैन । बेलायती प्रधानमन्त्रीलाई विशेष निमन्त्रणा गरिएको अवस्थामा बाहेक आगामी दिनमा हुने इयु परिषद् शिखर सम्मेलनमा सहभागी हुन अवसर मिल्ने छैन । साथै बेलायती मन्त्रीहरू पनि विभिन्न युरोपेली नियमहरू बसाल्ने नियमित इयु बैठकहरूमा सहभागी हुने छैनन् ।

वस्तु तथा सेवाको किनबेचका नयाँ नियम बसाल्न बेलायतले विश्वभरका देशहरूसँग वार्ता गर्न सक्नेछ । यसअघि इयुको सदस्य रहेको भन्दै बेलायतले अमेरिका तथा अस्ट्रेलियासँग औपचारिक व्यापार वार्ता गर्न पाएको थिएन । ब्रेक्जिट समर्थकहरूको भनाइमा स्वतन्त्रतापूर्वक आफ्नो व्यापार–नीति बनाउन पाउँदा बेलायतको अर्थतन्त्रलाई फाइदा हुनेछ ।

अनि इयुसँग अझै धेरै छलफल बाँकी छन् । बेलायत–इयु व्यापार सम्झौता उच्च प्राथमिकतामा छ, त्यसैले संक्रमणको अन्त्यसँगै वस्तु तथा सेवामा अतिरिक्त कर तथा अन्य व्यापार अवरोध आवश्यक पर्ने छैन । कुनै व्यापार सम्झौता हुने हो भने त्यो संक्रमण सकिएपछि मात्र सुरु हुनेछ ।

सन् १९८८ मा बेलायतको नीलो पासपोर्टलाई इयुअन्तर्गतको कलेजी पासपोर्टले विस्थापन गरेको थियो । पुरानो नीलो रंगको बेलायती पासपोर्टको रंगलाई पुनः प्रयोगमा आउनेछ । हालको कलेजी रंगको पासपोर्टले त्यसलाई ३० वर्षअघि विस्थापन गरेको थियो । आगामी केही महिनाहरूमा नयाँ पासपोर्ट चरणबद्ध रूपमा लागू गरिनेछ । यस वर्षको मध्यसम्ममा सबै पासपोर्ट बदलिसक्नेछन् ।

ब्रेक्जिटको संस्मरणस्वरूप बेलायतले ५० पेन्सका ३० लाख सिक्कालाई शुक्रबारदेखि चलनचल्तीमा ल्याएको छ । तिनमा जनवरी ३१ को मिति तथा ‘शान्ति, सम्पन्नता र सबै देशसँग मित्रता’ कुँदिएको छ । सिक्काले मिश्रित प्रतिक्रिया पाएको छ । ब्रेक्जिट विरोधी कतिपयले यसलाई नस्वीकार्ने भन्दै आएका छन् । यसअघि सरकारले यो सिक्का पहिले तोकिएको ब्रेक्जिट मिति अक्टोबर ३१ मा नै चलनचल्तीमा ल्याउन खोजेको थियो । तर, ब्रेक्जिटको मिति परिवर्तन भएपछि ती सिक्का फेरि पगालेर नयाँ बनाइएको हो ।

ब्रेक्जिट प्रक्रियालाई अघि बढाउन इयुसँग वार्ता गर्न गठित टोली तथा अन्य सम्बद्ध तयारीहरू अब स्वतः अन्त्य भएका छन् । पूर्वप्रधानमन्त्री टरिजा मेले सन् २०१६ मा इयू बहिर्गमन विभाग स्थापना गरेकी थिइन् । आगामी वार्ताका लागि बेलायतको वार्ता टोली प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमै रहनेछ ।

अब जर्मनी भागेका केही सन्दिग्ध अपराधीलाई बेलायत फिर्ता ल्याउन सम्भव हुने छैन । जर्मनीको संविधानले इयु सदस्य राष्ट्रबाहेक अन्यत्र उसका नागरिकलाई सुपुर्दगी गर्न अनुमति दिँदैन । बेलायतका नागरिकलाई इयु नागरिकझैँ व्यवहार गरिनेछ । विमान, पानीजहाज र रेलहरू साबिकझैँ चल्नेछन् । अध्यागमन वा पासपोर्ट नियन्त्रणको सन्दर्भमा चाहिँ संक्रमणको अवधिमा बेलायतका नागरिकहरूलाई अझै पनि इयु आगमनलाई तोकिएको क्षेत्रमा लाइन बस्न दिइनेछ । चालक अनुमतिपत्र तथा घरपालुवा जनावरका पासपोर्ट म्याद नसकिँदासम्म मान्य रहिरहनेछन् । तर, नवीकरण गर्दा अब नयाँ नियम लागू हुनेछ ।

बेलायतका नागरिकलाई इयुमा स्वास्थ्य सेवा लिन मिल्नेगरी बनाइएका यी विशेष स्वास्थ्य सेवाका लागि वितरण भएको परिचयपत्र संक्रमणकालसम्म मात्र मान्य हुनेछन् । बिरामी वा दुर्घटनाका बेला बेलायत नागरिकहरूलाई युरोपमा सरकारी स्वास्थ्यसेवा लिनका लागि गराउँछ । ती कुनै पनि इयू सदस्य राष्ट्रसहित स्विट्जरल्यान्ड, नर्वे, आइसल्यान्ड र लिक्टेन्स्टाइनमा संक्रमणकालीन अवधिभरि लागू भइरहनेछन् ।

संक्रमणकालीन अवधिमा आवतजावतको स्वतन्त्रता रहिरहनेछ । त्यसैले यो अवधिमा बेलायतका नागरिकले अहिलेको जस्तै इयुमा बस्न र काम गर्न पाउनेछन् । त्यस्तै, व्यवस्था बेलायतमा बस्न र काम गर्न चाहने इयुका नागरिकको हकमा पनि लागू हुनेछ ।

इयुमा बस्ने बेलायतका नागरिकहरूले सरकारी पेन्सन तथा वार्षिक वृद्धि पाइरहनेछन् । संक्रमणकालभरि बेलायतले इयुलाई बजेट योगदान दिइरहनेछ । यसको अर्थ इयुको अनुदानबाट सञ्चालित साबिकका कार्यक्रमहरू चलिरहनेछन् । बेलायत–इयु व्यापार कुनै अतिरिक्त कर वा चेकजाँचबिना निरन्तर चल्नेछन् ।

प्रकाशित: १९ माघ २०७६ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App