१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वुहानका नेपालीलाई फर्काउन देउवाको आग्रह

फाइल तस्बिर

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको बढी संक्रमण देखिएको चीनको वुहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन माग गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै अन्य देशले आफ्ना नागरिक स्वदेश फिर्ता ल्याइसक्दा समेत नेपाल सरकारले कुनै चासो नदेखाएको गुनासो गरे।

‘त्यहाँ रहेका करिब एक सय नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन अनुरोध गर्छु।’ देउवाले त्यहाँ रहेका नेपालीको उद्धारपछि स्वास्थ्य परीक्षणको प्रतिवेदन आउने अवधिभर अलग्गै राख्ने व्यवस्था गर्नसमेत सरकारलाई सुझाए। ‘नेपाल प्रवेशका सबै अन्तर्राष्ट्रिय नाकामा विशेष हेल्थ डेस्क प्रभावकारी ढंगले सञ्चालन गर्न अपिल गर्छु,’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘ताकि कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकियोस्।’ संक्रमण परीक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्न पनि उनले सरकारलाई आग्रह गरे।

कोरोना भाइरस संक्रमणको जोखिम र पूर्वसतर्कताबारे सरकारले विविध माध्यमबाट नागरिकमा व्यापक सूचना सम्प्रेषण गर्नु जरुरी रहेको पनि औंल्याउँदै उनले आफ्नो दलका नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे। ‘नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्वसाथ महŒवपूर्ण भूमिका निर्वाह गर्न कांग्रेसका साथीहरूसहित सबै राजनीतिक दल, संघसंस्था, सबै सञ्चारमाध्यमलाई विशेष आग्रह गर्छु,’ उनले भने। देउवाले कोरोना भाइरसको प्राणघातक संक्रमणप्रति संयमपूर्वक सतर्कता अपनाउन पनि स्वदेश तथा विदेशमा रहेका सबैमा आग्रह गरे।

प्रकाशित: १८ माघ २०७६ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App