बाँडेगाउँ (ल्चोक) – अविरल बहिरहेको इन्द्रावती नदी। नदी किनारनजिक सालको घना जंगल। हरियो जंगलको बीचमा हरियै रंगका जस्तापाताले सजिएका घरहरू। आधा रातो–कलेजी र आधा सेतो पोतिएका भित्ता। आधुनिक ‘युपिभिसी’ र ‘पिभिसी’ झ्याल, ढोकाजडित संरचना। हरियालीबीच हरियो, रातो–कलेजी र सेतो मिश्रणले रंगिन बनेर ठडिएको बस्ती टाढैबाट सुन्दर र चिटिक्क देखिन्छ।
इन्द्रावती गाउँपालिका–५, बाँडेगाउँ भदौरे पुग्दा ६० वर्षीया मिठु माझी बस्ती नियालिरहेकी थिइन्। एकै आकार र स्वरूपमा बनेको एकीकृत माझी बस्तीमा नजर डुलाइरहँदा उनको मुहारमा खुसी नाचिरहेको प्रष्ट देखिन्थ्यो। ‘टहरोको बदलामा पक्की घर पायौं,’ भित्र दबिएको खुसी छचल्काउँदे मिठुले भनिन्, ‘जंगलको बास छोडेर एकीकृत बस्तीमा बस्ने भयौं।’
माझी महिलाको व्यवस्थापकीय नेतृत्वमा ३६ घरधुरीको एकीकृत बस्ती ठडिएको हो। कहिले इन्द्रावतीको कहर, नदी कटान त कहिले विनाशकारी भूकम्पजस्ता प्राकृतिक प्रकोपको भुमरीमा पिल्सँदै आएका माझी समुदायमा बस्तीले खुसीको बहार ल्याइदिएको छ। बिहीबार बस्ती हस्तान्तरण समारोहमा उपस्थित माझीका भावभंगिमा हेर्दा यही प्रतीत हुन्थ्यो। बस्ती निर्माणको नेतृत्व गरेकी थिइन्, स्थानीय २५ वर्षीया शर्मिला माझीले।
स्थानीय महिला आत्मनिर्भरता केन्द्रसँगको साझेदारीमा अक्सफाम नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत बस्ती बनेको हो। एक वर्ष लगाएर यसै सातामात्र सम्पन्न बस्ती निर्माणमा तीन करोड १२ हजार रूपैयाँ खर्च भएको आत्मनिर्भरता केन्द्रका कार्यक्रम व्यवस्थापक कृष्ण गुरुङले जनाए। उनका अनुसार बस्ती निर्माणमा अक्सफामले दुई करोड ६२ लाख रूपैयाँ आर्थिक सहयोग गरेको थियो।
काखे बालक च्यापेर व्यवस्थापन समिति बनाउने बैठकमा आएकी शर्मिलाले ‘म बस्छु समितिमा। म गर्छु नेतृत्व,’ भन्दा संस्थाका प्रतिनिधि अक्क न बक्क परे। अरू कोही अघि नसरेकाले उनीहरूसँग अर्को विकल्प पनि थिएन।
२४ रोपनी क्षेत्रफलमा बनेको बस्तीमा प्युघर, भदौरे, गल्फुले गाउँका माझी समुदाय बस्नेछन्। गोला प्रथाद्वारा उनीहरूले आफू बस्ने घर छानिसकेका छन्। नदी कटान र भूकम्पपीडित उनीहरू जंगलमा अस्थायी टहरो बनाई बस्दै आएका थिए। माझी समुदायले पुनःनिर्माण प्राधिकरणले प्रतिपरिवार दुई लाख रूपैयाँका दरले उपलब्ध गराएको अनुदानले जग्गा किनेका थिए। इन्द्रावती गाउँपालिकाले घडेरी सम्याउन आठ लाख ९१ हजार रूपैयाँ सहयोग गरेको थियो।
निर्माण सकिँदा प्रतिघर लागत सात लाख २१ हजार रूपैयाँ रहेको छ। बस्तीका घरमा तीनवटा कोठा छन्। शौचालय र धारा घरमै जोडिएको छ। फराकिलो आँगन रहेको घरसम्म सडकको पहुँच छ। बस्तीमा खानेपानी आपूर्तिका लागि १० हजार लिटर क्षमताको ट्यांकी बनाइएको छ। अगाडि र पछाडि दुइटा पिँढी निकालिएको घरमा दुवैतर्फ ढोका छन्।
‘जंगलमा छरिएर बसेका थियौं। अब सबै एकै बस्तीमा बस्दै छौं,’ काखमा बच्चा खेलाउँदै ३५ वर्षीया चण्डिका माझीले भनिन्। उनीसँगै भेटिएकी २६ वर्षीया गंगा माझी झनै गमक्क थिइन्। उनी मख्ख पर्नुको कारण थियो, बस्तीको खानेपानी सुविधा। ‘तीन किलोमिटर टाढा पुगेर खानेपानी जोहो गरिरहेका थियौं,’ उनले सुनाइन्, ‘अब सुख पाइने भयो।’
यहाँका माझी समुदाय आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रूपमा निकै पिछडिएका छन्। नदी कटानका साथै मध्यपहाडी राजमार्गले उनीहरू सुकुमवासी भएका छन्। अधिकतरको घर बनाउने घडेरीसम्म थिएन। केहीको थोरै जग्गा बचे पनि नदी कटानको उच्चजोखिम छ। मजदुरी नगरी उनीहरूको बिहान–बेलुकी चुल्हो बल्दैन। इन्द्रावतीमा माछा मारेर र बालुवा चालेर उनीहरू गुजारा चलाउँछन्।
पुस्तौंनी इन्द्रावतीको कहर भोग्दै आएका माझी समुदाय २०६४ देखि नदी कटानको मारमा पर्न थाले। २०६७ मा आइपुग्दा कटानले प्युघर, भदौरे र गल्फुले बस्ती उजाड बनायो। बाँच्ने धुनमा उनीहरूले जंगललाई आश्रयस्थल बनाए। कोही बचेखुचेको सुरक्षित जमिनमा सरे। केही वर्षअघि गाउँको बीचबाट मध्यपहाडी लोकमार्ग बनेपछि उनीहरू पनि जंगलतिरै लखेटिए। त्यहाँ पनि उनीहरूले सुख पाउन सकेनन्। यत्रतत्र छरिएर बल्लतल्ल बनाएर बस्दै आएको टहरो पनि २०७२ वैशाख १२ को भूकम्पले भत्काइदियो।
सुरक्षित एकीकृत बस्ती पाएपछि माझी समुदायले सबै दुःख हटेको अनुभव गर्न थालेका छन्। ‘घर पायौं, अरू के चाहियो र !’ ३३ वर्षीय सूर्यबहादुर माझी भन्छन्, ‘हातमुख जोड्न पाखुरा बजारौंला !’ बस्तीमा पूर्वाधार विकासको काम सुरु हुँदै छ। यसपछि बस्ती नमुना र अझै सुन्दर बन्ने एकीकृत माझी बस्ती व्यवस्थापन समितिकी अध्यक्ष शर्मिला बताउँछिन्। उनका अनुसार प्राधिकरणले पूर्वाधार विकासको काम गर्न प्रतिघर चार लाख रूपैयाँका दरले अनुदान उपलब्ध गराएको छ। यसबाट सामुदायिक भवन बन्नुका साथै सडक, बाटोघाटो, आँगन, संरक्षण पर्खाल, खानेपानी व्यवस्थापनको काम हुनेछ।
महिलाको नेतृत्व, महिलाकै श्रमदान
एकीकृत बस्ती बन्ने भएपछि निर्माणमा सघाउन उपभोक्ता समिति बनाउनुपर्ने भयो। कमाउन बाहिर निस्कनुपर्ने भएकाले समितिमा बस्ने पुरुष भेटिएनन्, महिला अघि सरेनन्। निरक्षर उनीहरू लाजले हिच्किचाए। संस्थालाई आपत् प¥यो। यस्तैमा काखे बालक च्यापेर व्यवस्थापन समिति बनाउने बैठकमा आएकी शर्मिलाले प्याट्टै भनिन्, ‘म बस्छु समितिमा। म गर्छु नेतृत्व।’ कलिलै उमेरकी, हेर्दैमा सोझी देखिने उनको प्रस्तावले संस्थाका प्रतिनिधि अक्क न बक्क परे। अरू कोही अघि नसरेकाले उनीहरूसँग अर्को विकल्प पनि थिएन।
२०७५ माघ १६ गते बस्ती निर्माणको शिलान्यास थालनी भएसँगै कुशल व्यवस्थापकीय नेतृत्व देखाएर उनले सबैलाई चकित बनाएको सहयोगी संस्थाका अधिकारी स्मरण गर्छन्। एक घर एक जनले श्रमदान गर्नुपर्ने संस्थाको सर्त थियो। कमाउन घर बाहिर रहेकाले पुरुष सहभागिता जुटाउन गाह्रो थियो। काखे बालक पिँठ्युमा बोकेर शर्मिला आफैं दैनिक श्रमदानमा निस्किइन्। श्रमदानमा महिला सहभागिता जुटाइन्।
‘बस्तीकै कामले अन्यत्र जानुपर्दा र बैठकमा बस्नुपर्दाका केही दिनबाहेक पूरै एक वर्ष श्रमदान गरें,’ शर्मिलाले भनिन्। उनका अनुसार बस्ती निर्माणमा ९५ प्रतिशतभन्दा बढी श्रमदान महिलाले गरेका छन्। दैनिक ३५ जनासम्म श्रमदानमा जुट्दा दुई–तीन जना पुरुष मात्र सहभागी हुन्थे। स्थानीयले २७ लाख रूपैयाँ बराबर श्रमदान गरेको उनले बताइन्।
बस्ती हस्तान्तरण गर्न सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङ र इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ भदौरे गाउँ पुगेका थिए। उनीहरूले संयुक्त रूपमा बस्ती हस्तान्तरण गर्दै स्थानीयलाई थप सघाउने आश्वासन दिए। गाउँपालिका अध्यक्ष तामाङले माझी महिलालाई आयआर्जनको कार्यक्रम दिने बताए। स्थानीयको मागअनुसार ढाका बुनाइको कार्यक्रम दिने तयारी गाउँपालिकाले गरेको उनले जानकारी दिए।
‘उत्पादित ढाकाका सामग्रीको बजारीकरण गाउँपालिकाले नै गर्दिनेछ,’ तामाङले भने। एकीकृत बस्ती निर्माणको सफल नेतृत्व गरेको भन्दै उनले माझी समुदायका महिलालाई बधाई र धन्यवाद दिए।
प्रकाशित: १८ माघ २०७६ ०२:१६ शनिबार