१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अब लक्ष्य सफल प्रशिक्षकको

पुरुषोत्तम बज्राचार्य

काठमाडौं -  नेपालले मंसिरमा घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत टेबल टेनिसमा समेत ऐतिहासिक सफलता हात पारेको थियो। नेपालले पुरुष टिम इभेन्टमा रजत जित्नुका साथै पुरुष एकलमा समेत कांस्य पदक जितेको थियो। त्यो सफलताका एक सदस्य थिए, पुरुषोत्तम व्रज्राचार्य। नेपाली टेबल टेनिसमा २२ वर्ष सक्रिय खेलजीवन बिताएका पुरुषोत्तम अब भने सक्रिय खेलजीवनबाट बिट मार्ने योजनामा छन्।

साग खेलकदुअन्तर्गत टेबल टेनिसमा यसअघि कहिले पनि नेपाली खेलाडीले फाइनलमा स्थान बनाउन सकेका थिएनन्। ११औंं र १२औं सागमा समेत प्रतिस्पर्धा गरेका पुरुषोत्तम इतिहास बनाउन सफल भए। पुरुषोत्तम, शिवसुन्दर गोथे, स्यान्टु श्रेष्ठ, संयोग कपाली र दिनेश खानी सहभागी सम्मिलित टोलीले रजत पदक जित्दा पुरुष एकलमा उनले कांस्य पदक जिते। नेपाल टिम इभेन्टमा फाइनलमा भारतसँग ३–० ले निराश भएको थियो। पुरुष एकलमा पनि नेपाली खेलाडीको यात्रा अहिलेसम्म क्वार्टरफाइनलभन्दा माथि उठ्न सकेको थिएन। पुरुष एकलमा यस पटक स्यान्टु पनि सेमिफाइनल प्रवेश गरेका थिए।

‘सबै कुराको सही समय हुन्छ, मलाई खेलजीवन टुंग्याउने यो नै सही समय भएको लाग्छ,’ पुरुषोत्तमले भने, ‘मैले टेबल टेनिसबाट धेरै कुरा पाएँ। अब म नेपाली टेबल टेनिसलाई एक कुशल प्रशिक्षकका रूपमा आफ्नो अनुभव साट्न चाहन्छु।’ ‘मैले नेपाली टेबल टेसिनमा दुई दशकभन्दा बढी समय बिताएँ। अब मैले खेल जीवन टुंग्याउने समय आएको छ,’ पुरुषोत्तमले भने, ‘अहिलेका युवा खेलाडी प्राविधिक रूपमा  बलिया छन्। अनुभवले मात्र पनि उनीहरूलाई हराउन सम्भव छैन। त्यसैले मैले संन्यासको योजना बनाएको हुँ।’

नेपाली टेबल टेनिसमा २२ वर्ष बिताएका पुरुषोत्तमले खेलजीवनको अन्तिममा हात पारेको सफलताले आफ्नो बिदाइ सुखद भएको पुरुषोत्तमको बुझाइ छ, यद्यपि उनको जीवनमा एउटा कुरा सधैँ खड्किरहन्छ, त्यो हो— राष्ट्रिय च्याम्पियन बन्न नसक्नु। सधैँ उत्कृष्ट हुँदाहुँदै पनि उनको राष्ट्रिय च्याम्पियन हुने धोको भने अधुरो नै रहनेछ। म सधैं राष्ट्रिय च्याम्पियनका लागि हुने प्रतियोगिताको फाइनल प्रवेश गर्थें, तर उपविजेतामै सीमित हुन्थें,’ पुरुषोत्तमले भने, ‘यो मेरो सपना नै थियो,जुन पूरा हुन भने पाएन। अहिले नयाँ खेलाडी आइसकेका छन्। आफ्नो सपना पूरा गर्नकै  लागि खेलिरहनु भन्दा पनि नयाँ खेलाडीलाई अवसर दिन पनि मैले संन्यास लिन लागेको हुँ।

‘अहिलेका युवा खेलाडी प्राविधिक रूपमा पनि बलिया छन्। अनुभवले मात्र उनीहरूलाई हराउन सम्भव छैन। त्यसैले मैले संन्यासको योजना बनाएको हुँ ।’

ललितपुरको पाटन सुन्धारामा खेलकुद गतिविधि भइरहन्थ्यो। पुरुषोत्तम पनि त्यहीँ जन्मिए। उनी सानैदेखि टोलका दाइहरूले खेलेको हेर्थे। त्यही वातावरणले उनलाई टेबल टेनिस खेलप्रति आकर्षित ग¥यो। त्यस बेला पनि उनको टोलमै पनि विभिन्न प्रतियोगिता हुन्थे र विजेतालाई नगद पुरस्कार दिइन्थ्यो। उनलाई सधैँ एक दिन म पनि उत्कृष्ट खेल्छु र पैसा जित्छु भन्ने लाग्दथ्यो। ‘मैले आफ्नो टोलका दाइहरूले खेलेको देखेरै यो खेलमा लाग्ने प्रेरणा पाए,’ पुरुषोत्तमले भने, ‘टेबल टेनिसबिना मेरो जीवनको केही अर्थ छैन। किनभने मैले टेबल टेनिसबाट सबै थोक पाएँ। आज मलाई जति मान्छेले चिन्दछन्, त्यो टेबल टेनिसकै कारण हो।

२०६० सालमा राष्ट्रिय टोलीबाट डेब्युको अवसर पाएका पुरुषोत्तमले एपिएफबाट पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाए। सागको ११औं देखि १३औं संस्करणसम्म लगातार सहभागिता जनाएका पुरुषोत्तमले २०१० को ग्वान्जाओ र २०१४ को इन्चोन एसियाली खेलकुदमा समेत सहभागिता जनाएका छन्। ३६ वर्षे पुरुषोत्तम विगतबाटै सक्रिय खेलजीवनसँगै प्रशिक्षणलाई पनि सँगै अघि बढाइरहेका छन्। उनले हाल आदर्श विद्या मन्दिर स्कुलमा प्रशिक्षण गराउँदै आएका छन्। उनी बिहान लैनचौरमा टेबल टेनिस प्रशिक्षणका लागि आउँथे। दिउँसो क्लबमा  सिकेका कुरा अन्य युवा खेलाडीलाई सिकाउँथे। राखेपको एनएस कोर्स पूरा गरेका उनले प्रशिक्षकको लेवल वान कोर्ससमेत पूरा गरेका छन्। खेलाडीका रूपमा दुई दशक बिताएँ। यसबीच मैले धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनले भने, ‘अब म प्रशिक्षकका रूपमा त्यो अनुभव अरू खेलाडीलाई पनि सिकाउन चाहन्छु। साथै एपिएफ क्लबले पनि प्रशिक्षणको अवसर दिए, त्यो जिम्मेवारी  सम्हाल्न तयार छु। यो खेलबाट अलग हुन सक्दिनँ।

पछिल्लो समय नेपालमा टेबुल टेनिसको अवस्था विगतको भन्दा धेरै राम्रो भएको बताउने पुरुषोत्तम अहिलेका खेलाडीहरूले प्रशिक्षकबाट मात्र नभई प्रविधिको विकाससँगै नयाँ टेक्निक सिक्न सक्ने बताए ।

प्रकाशित: १८ माघ २०७६ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App