१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना भाइरस संक्रमणको आशंकामा वीपीबाट एक बिरामी टेकु रिफर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्ष । तस्बिर : रोहित राई

धरान- दक्षिण कोरियाबाट केही दिनअघि मात्र घर फिरेका धरानका एक व्यक्तिलाई कोरोना भाइरस संक्रमणको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रिफर गरेको छ।

तीन दिनदेखि उच्च ज्वरो र घाँटी निरन्तर दुखेपछि प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गर्न पुगेका ती बिरामीलाई प्रारम्भिक उपचारपछि चिकित्सकहरुले महाशाखा रिफर गरेका हुन्। प्रतिष्ठानले यो विषयमा स्वास्थ्य मन्त्रालयमा पनि जानकारी गराएको जनाएको छ। प्रतिष्ठानको आकस्मिक कक्षका इञ्चार्ज डा.ज्ञानेन्द्र मल्लका अनुसार ती व्यक्ति बिहीबार दिउँसो करिब ३ बजे आकस्मिक कक्षमा उपचार गर्न पुगेका थिए। उपचारको क्रममा उनी ५ दिनअघि मात्र दक्षिण कोरियाबाट आएको खुलेको थियो। डाक्टरहरुसँगको कुराकानीकै क्रममा कोरोना भाइरसको सन्दर्भ आएपछि बिरामीले नै आफूलाई कतै संक्रमण पो भयो कि भन्ने आशंका व्यक्त गरेको डा.मल्लको भनाई छ।

बिरामी आफैले नेपाल आउनु अघि कोरियामा पनि केही व्यक्तिलाई कोरोना संक्रमण भइसकेको खुलाएपछि उनलाई थप उपचारको लागि टेकु रिफर गरिएको डा.मल्लले बताए। ‘लगातार ३ दिनदेखि बिरामी उच्च ज्वरो र घाँटी दुखेर उपचार गर्न आएका थिए, उपचारको क्रममा बिरामी आफैले नै कोरियाबाट आफू फर्कदा केही व्यक्ति संक्रमण भइसकेको सुनेको बताए। कतै मलाई पनि पो भयो कि भनेर आफैले भने,’ डा.मल्लले भने,‘हामीले तत्काल मेडिसिन विभागलाई खबर गर्‍यौं, र टेकु रिफर गर्‍यौं। भाइरस संक्रमणको आशंका मात्र हो।’ प्रतिष्ठानका अनुसार दिउँसो करिब ३ बजेतिर उपचारको लागि आएका ती बिरामीलाई राति ७ बजे रिफर गरिएको थियो।

वीपीमा र्‍यापिड रेस्पोन्स कमिटि गठन
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि र्‍यापिड रेस्पोन्स कमिटि गठन गरिएको छ। भाइरसको संक्रमण फैलिन नदिनका लागि प्रतिष्ठानमा पूर्वतयारी एवं सर्तकता अपनाउन अस्पताल निर्देशकको अध्यक्षतामा ११ सदस्यीय कमिटि गठन गरिएको प्रतिष्ठानले जनाएको छ।

कमिटिको अध्यक्षमा अस्पताल निर्देशक डा. गौरीशंकर साह छन् भने सदस्यहरुमा सहायक अस्पताल निर्देशक डा.विकास साह, इर्मेजेन्सी इञ्चार्ज डा.ज्ञानेन्द्र मल्ल, एनेस्थेसियोलोजी विभागका डा.कृष्णा पोखरेल, माइक्रोबायोलोजी विभागका डा.नारायणराज भटराई, कम्युनिटी मेडिसिन विभागका डा.विजय खनाल रहेका छन्। यस्तै, इएनटि विभागका डा.दिपक पौडेल, पेडियाक्ट्रिक्स विभागका डा.मुकेश भट्ट, गाइने विभागका डा.मनोज साह, इन्टरनल मेडिसिन विभागका डा.रोशन क्षेत्री सदस्य छन् भने सदस्य सचिवमा अस्पताल प्रशासन महाशाखाकी सुपरभाइजर कमला लिम्बु रहेकी छिन्।

कमिटिका सदस्य एवं इर्मेजेन्सी इञ्चार्ज डा.मल्लका अनुसार तत्काल विदेशबाट आएकाहरुको पहिचान गर्ने र लक्षण देखिएकाहरुलाई अलग्गै राखेर उपचार गर्ने व्यवस्था प्रतिष्ठानमा गरिनुपर्ने बताए। ‘लक्षण देखिएमा कुन देशबाट फर्किएका हुन्, त्यो पुष्टि गर्न एयर टिकट मागेपछि प्रष्ट हुन्छ,’उनले भने,‘लक्षण देखिएपछि अलग्गै राख्ने, मास्क लगाउने जस्ता व्यवस्थापन हुनुपर्छ।’

प्रकाशित: १७ माघ २०७६ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App