१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'सरकार कब्जाको बाटोमा गयाे'

कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौला। तस्बिर : टंक/नागरिक

सर्लाही – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चिनियाँ कम्युनिस्ट पार्टीबाट प्रशिक्षण लिएको वर्तमान सरकार दुईतिहाइको दम्भ देखाएर एकतन्त्रीय बन्दै गइरहेको आरोप लगाएका छन्। कांग्रेससम्बद्ध तरुण दल लालबन्दी नगर समितिद्वारा सहिदको सम्झनामा आयोजित सम्मान एवं कार्यकर्ता भेलामा बोल्दै उनले सरकारले सुरक्षा निकाय, कर्मचारीलगायतलाई आफ्नो सेवक बनाएको आरोप लगाए। ‘वर्तमान सरकारले सुरक्षाकर्मी एवं कर्मचारीलाई राष्ट्रसेवकभन्दा पनि आफ्नो सेवक हो भन्दै धमाधम नियन्त्रणमा लिइराखेको छ,’ पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका सिटौलाले भने, ‘क्रमशः न्यायपालिकालाई समेत कब्जामा लिने बाटोमा सरकार दू्रतगतिमा अगाडि बढिरहेको छ।’

मुलुकको इतिहासमै पहिला छिमेकी देशको कम्युनिस्ट पार्टीलाई बोलाएर सरकारले खुल्ला रूपमा प्रशिक्षण लिएको उल्लेख गर्दै कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले सरकार क्रमशः अधिनायवादउन्मुख बनेको आरोप लगाए। ‘मुलुकको इतिहासमै देशका प्रधानमन्त्री अनि मन्त्रीहरूले खुल्ला रूपमा चिनको कम्युनिस्ट पार्टीबाट प्रशिक्षण लिएका छन्,’ सिटौलाले प्रतिप्रश्न गर्दै भने, ‘के चीनको कम्युनिस्ट पार्टीले न्यालय बलियो हुनुपर्छ, पूर्ण प्रेस स्वतन्त्रता हुनुपर्छ भनेर सिकायो होला त ? पक्कै सिकाएन, के चिनमा त्यस्तो व्यवस्था छ त ?’

प्रधानमन्त्री, मन्त्रीदेखि सत्ताधारी दलका नेताले खुला रूपमा त्यस्तो प्रशिक्षण लिनुले देश एकतन्त्रीय प्रणालीतर्फ उन्मुख हुँदै गएको नेता सिटौलाको ठोकुवा थियो। ‘प्रधानमन्त्रीदेखि मन्त्री अनि सत्ताधारी दलका नेताहरू खबरदार न्यायाधीशले जानिराखुन्, हाँमीसँग दुईतिहाइ छ भन्दै खुला रूपमा भाषण गरिरहेका छन्,’ सिटौलाले थप सशंकित हुँदै भने, ‘अनि प्रधानन्यायधीशज्यू भने संविधानतः काम गर्छु भन्नेभन्दा पनि सरकारलाई गाह्रो पार्दिन भन्दै सार्वजनिक रूपमा भाषण गर्दै हिँड्नुहुन्छ, यस्तो अवस्थामा कसरी स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता सहितको मजबुत लोकतन्त्रको परिकल्पना हुन सक्छ ?,’

भावना, विचार, संस्कारहिन हुँदै गएकाले कांग्रेसको अवस्था इतिहासमै कमजोर बनेको पार्टीका प्रभावशाली नेता सिटौलाले स्वीकार गरे। ‘पार्टीका नेता कार्यकतामा भावना, विचार र संस्कार मर्दै गएको छ,’ उनले भने, ‘त्यसैले मुलुकमा भएका हरेक परिवर्तनको नेतृत्वदायी कांग्रेसको हालत आज यो अवस्थामा पुगेको हो।’

घरमुलीले समन्वयकारी भूमिका निर्वाह गर्दै परिवारका सबै सदस्यहरुलाई योग्यता र क्षमताअनुसार सम्मान गर्नुपर्नेमा सो नहुँदा कांग्रेस कमजोर बनेको उनको भनाइ थियो। नेता कार्यकर्ताको गुण खादापनि दोष देखाउने प्रवृत्ति हावी हुँदै गएको उल्लेख गर्दै नेता सिटौलाले घरमुलीको रूपमा रहने केन्द्रदेखि हरेक तहका सभापतिले परिवारका सबैलाई मिलाएर हिँड्न नसकेको बताए। ‘आफ्नो घर बलियो नहुँदा छिमेकीले हेपिरहेका छन्’, उनले भने, ‘त्यसैले पहिला आफ्नो घर बलियो बनाऔं।’

तरुण दल लालबन्दी सभापति सुदेश ढुंगानाको अध्यक्षता रहेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतलगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: १७ माघ २०७६ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App