१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हवाई इन्धन ढुवानी सुचारु

काठमाडौं - हवाई इन्धन ढुवानी रोकेर पाँच दिनदेखि आन्दोलनमा उत्रिएका ट्यांकर चालकले बुधबारदेखि नियमित ढुवानी सुरु गरेका छन्। नेपाल आयल निगममा मंगलबार भएको छलफलमा कार्यदल बनाएर एक महिनाभित्र माग सम्बोधन गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरेर बुधबारबाट इन्धन लोड लिएका छन्।

समस्या अध्ययन गर्न समय माग गरेर निगमले कार्यदल गठन गरेकाले आन्दोलन रोकेको ढुवानी सुरु गरेको नेपाल यातायात स्वतन्त्र मदजुर संगठन हवाई इन्धन ढुवानी एकाइ समितिका अध्यक्ष पशुपति पाठकले बताए। ‘समस्या समाधान गर्न कार्यदल बनाएपछि आन्दोलन स्थगित गरेर इन्धन ढुवानी सुरु गरेका छौं,’ पाठकले भने।

हवाई इन्धन ढुवानी गर्ने चालकहरूले तोकिएको नोक्सानीभन्दा ५० लिटर बढी तेल चुहावट हुँदा प्रचलित बजार मूल्यभन्दा दोब्बर बढी जरिवाना तिराउने व्यवस्था हटाउन माग राख्दै गत शनिबारबाट ढुवानी ठप्प पारेका थिए। चालकले माग पूरा गर्न दबाब दिन गत सोमबार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोरालाई बुझाएका ट्यांकरका साँचो बुझेर ढुवानी सुरु गरेका छन्।

पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणमा अवरोध गर्न नपाउने व्यवस्था भए पनि त्यसको उल्लंघन गर्दै चालक हडतालमा उत्रिएका थिए। निषेधित क्षेत्रमा हडताल गर्नेलार्ई ६ महिनासम्म सजाय गर्न सक्ने कानुनी व्यवस्था भए पनि निगमले कारबाही गरेको थिएन। चालकले विभिन्न समयमा हडताल गरेर आफ्ना माग पूरा गराउँदै आएका छन्। यसपालि हडताल नरोके निगमले आवश्यक सेवा सञ्चालन ऐन प्रयोग गरी कारबाही गर्ने तयारी गरेको थियो। निगमले आइओसीबाट दैनिक पाँच/सात सय किलोलिटर इन्धन ढुवानी गर्छ।

निगमका अधिकारी, चालक, पेट्रोलियम ढुवानी व्यवसायी मंगलबार भएको छलफलमा चारबुँदे सहमति भएको छ। रक्सौल डिपोमा ट्यांकर हुने लोडिङ कार्यमा निगमको संलग्नता रहने भएकाले समस्या समाधानका लागि निगमबाट निर्देशन दिने, निगमको केन्द्रबाट छुट्टै प्राविधिक कमिटी रक्सौल डिपोमा गई लोडिङ कार्यको निरीक्षण तथा सहजीकरणको व्यवस्था मिलाउने सहमति भएको छ। त्यसैगरी, विभिन्न बहानामा ट्यांकर चालकलाई जरिवाना गर्ने र प्रताडना दिने काम भइरहेको भन्ने गुनासोमा निगम व्यवस्थापनले सूक्ष्म अध्ययन थालेको तथा त्यस्ता कार्य रोक्न निर्देशन दिने जनाएको छ।

लोडिङ परिमाणको एक प्रतिशतभन्दा बढी तापक्रमजन्य नोक्सानी हुने अवस्थामा एक प्रतिशतभन्दा बढी नोक्सानीको मूल्य तिनुपर्ने अवस्था भएको सन्दर्भमा इन्धन लोडिङ गर्ने डिपोमा ट्यांकरमा भएको इन्धनको तापक्रम र ट्यांकर खाली गर्ने डिपोमा आइपुग्दा हुने इन्धनको तापक्रममा जति फरक हुन्छ सोही अनुसार तापक्रम फरक हुने परिमाणको घटीबढीको व्यवस्था यथाशीघ्र लागू गर्ने सहमति भएको निगमले जनाएको छ।

प्रकाशित: १६ माघ २०७६ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App