१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मन्दिर बनाउने मान्छे

भक्तपुरको दरबार क्षेत्रमा रहेका बत्सला मन्दिरको पुननिर्मण कार्यमा जुटेका ७४ बर्षिय कान्छा रंजितकार। तस्बिर: उपेन्द्र लामिछाने

भक्तपुरमा यति बेला २०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त पारेका सास्कृतिक  सम्पदाको पुननिर्माण कार्य तिव्र गतिले बढ्दै छ। भक्तपुर नगरपालिका पुरातत्व विभागले थालनी गरेको यो अभियानमा स्थानीय महिला, यूवामात्र हैन बृद्धबृद्धा समेत जुटेका छन्।

यसरी निर्माणमा जुट्नेहरुको  अनुहारमा विभिन्न हावभाव सहजै पढ्न सकिन्छ । कोही विहान बेलुकाको छाक टार्न मजदुरी गरेको सुनाउदै सुस्केरा हाल्थे त कोही पुननिर्माणको अभियानमा सहभागी हुन पाएकोमा गौरव गर्थे । कोही आफ्नो नियमित कर्म भन्दै काममा लाग्थे ।

यी सवैभन्दा फरक एक बृद्धभने भूकम्पले भत्काएको  बत्सला मन्दिर अगाडी हसिलो अनुहार लगाउदै ढुङगा कुट्दै थिए । बृद्ध शरिर तर जोशिलो  अनुहारका साथ काम गर्दे गरेका उनको अनुहारमा थकान कम खुसी बढ्दा झल्कन्थ्यो ।  किन अरु भन्दा फरक देखियो त यी बृद्धको अनुहार ?

 ‘म त मन्दिर बनाउन लागेको,’ भक्तपुर सूर्यमढीका ७४ बर्षिय कान्छा रन्जीतकारले हास्दै भने, ‘बाचुन्जेलमा तयार गर्न पाए निक्कै खुसी मिल्थ्यो ।’ 

सन १६७२ मा  पाटनको कृष्णमन्दिरजस्तै शैलीमा  निर्माण गरिएको दुर्गाको यो मन्दिर  निक्कै आकर्षक देखिन्थ्यो । भूकम्पले ढालेपछि १  करोड २८ लाख ६२ हजारको अनुमानित लागतमा कात्तिक २० गतेबाट मन्दिरको पुननिर्मण कार्य सुरु भएको छ ।

 त्यस यता बत्सला मन्दिरको पुननिर्मण कार्यमा उनी विहान  १० बजेदेखि बेलुका ५ बजेसम्म खटिने गरेका छन् । ढुङगाको काम गर्ने मानिसको अभाव हुदै गएको सहरमा यी बृद्धले आफ्नो घरखर्च मात्र हैन सास्कृतिक सम्पदा ठडाउने काममा पनि जुट्नु परेको छ ।  काम गरेबापत उनले पनि अरु जस्तै पारिश्रमीक पाउछन तर   उनको सोच्ने शैलीले उनलाई  अरु भन्दा केही फरक देखाएको   छ ।

रंजितकारले ढुङगा माटोसंग खेल्न थालेको ६ दशकभन्दा बढी भएको सुनाए । ‘पैसा नभएर स्कुल जान नपापछि कलम छाडेर  हथौडा  समाएको हु,’ उनले भने, ‘तर यो अहिलेसम्म छुटेको छैन ।’ 

रंजितकार विहानदेखि बेलुकासम्म दरबार क्षेत्रमा  ढुङगामा छिना खियाउदै गरेका भेटिन्छन । उनका सहकर्मीले  जग लगाउदै मन्दिर उकास्दै छन । उनी  मन्दिरमा लगाइने प्रत्येक ढुङगालाई  मिल्दो आकार दिने मात्र हैन आवश्यक बुट्टा समेत काटिदिन्छन ।

नगरपालिकाको सम्पदा शाखामा प्रमूख रामगोविन्द श्रेष्ठ कान्छा रंजितकार ढुङगाको काममा निक्कै अनुभवी भएकाले उनलाई पनि साथ लिएको सुनाउँछन ।‘उनी मन लगाएर राम्रो काम गर्छन,’ उनले भने।

रंजितकारको हात  बुढ्यौलीले केही कमजोर जस्तो देखिन्छ , तर उनको इरादा भने तिनै ढुङगा जस्तै मजबुत छन् ।‘मन्दिर ठडिएको दिन निक्कै खुसी हुने छु,’ उनले भने,  ‘म त्यहि दिनको प्रतिक्षामा छु ।’ 

भक्तपुरका सांस्कृतिक सम्पदातर्फ दरबार क्षेत्रअन्तर्गतका १९ क्षतिग्रस्त पुराताŒिवक सम्पदामध्ये तीनको निर्माणकार्य पूरा भएको छ । त्यसैगरी, १२ वटाको निर्माणकार्य सुरु भएको र सोमध्ये नौवटा ०७४ असार भित्र र तीनवटा ०७५ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

त्यहि मध्येको एक बत्सला मन्दिर हो ।  यो मन्दिर   सकाउने लक्ष्य छ । कात्तिक २० गतेबाट सुरु भएपनि करिब दुई बर्ष लाग्ने अनुमान  नगरपालिकाको छ ।

त्यसैले रंजितकार कहिले त तोकिएको समयभन्दा पनि बढी काम गर्छन ।  ‘मन्दिर बनाउँदा मनमा खुसी मिल्दो रहेछ,’ सयौ घरमा काम गरिसकेका उनले भने, ‘ढुङगा उचाल्न गंहुगो भएपनि कामगर्दा  मन हल्का भएको छ ।’

उनले काम गरेको थुप्रेले तस्वीर खिचिसकेका छन् । तर त्यसप्रति उनलाई खासै लगाव छैन ।‘अव ठडिएको मन्दिरको तस्वीर खिच्नु होला,’ एकै छिनको अन्र्तवार्ता छोट्याउदै उनले भने, ‘मलाई चाडै मन्दिर बनाउनु छ ।’

 

प्रकाशित: १३ पुस २०७३ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App