१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना निगरानीमा थप एकजना

काठमाडौं – चीनबाट फैलिएको नोवल कोरोना भाइरस संक्रमण नेपालमा अहिलेसम्म फैलिनसके पनि चीन तथा हङकङबाट आएका यात्रुलाई भने विशेष निगरानीमा राख्न थालिएको छ। यसैक्रममा बुधबार अन्तर्राष्ट्रिय विमानास्थलबाटै एकजनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पु-याई निगरानीमा राखिएको छ। नमुना परीक्षणको रिपोर्ट आएपछि मात्रै उनलाई घर पठाउने अस्पतालले जनाएको छ।

अस्पतालमा अहिलेसम्म निगरानीमा राखिनेको संख्या पाँच पुगेको छ। चीनबाट फर्केका एक विद्यार्थीबाहेक सबैको रिपोर्ट नेगेटिभ पाइएको स्थिति रहे पनि रोगको संक्रमण रोक्न अस्पतालले निगरानीका लागि राख्ने गरेको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए। उनीहरूमा रुघाखोकीसहित ज्वरो भएको र संक्रमित रहेका देशबाट आएकाले निगरानीमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एक महिनादेखि फैलिएको कोरोना संक्रमणका कारण चीनमा बुधबारसम्म एक सय ३० जनाको मृत्यु भइसकेको छ।

नेपालमा फैलिनसकेकाले त्रास नलिन मन्त्रालयले सुझाव दिएको छ। तर यस अवधिमा चीन तथा हङकङ पुगेर फर्केकाहरू भने त्रासमै अस्पताल पुग्ने गरेको अस्पतालले जनाएको छ। त्रासमा रहेकाहरू केही समयअघि चीन पुगेर फर्केका र रुघाखोकी तथा ज्वरो आएकाहरू छन्।

उनीहरूमा मौसमी रुघाखोकी पाइएको अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए। रुघाखोकी लागेकै कारण अस्पताल पुग्नेहरूलाई परामर्श दिएर घर फर्काउने गरेको उनले बताए। यसरी अस्पताल पुग्नेहरूलाई सुझाव दिन छुट्टै डेस्कसमेत खडा गर्र्ने तयारी भइरहेको अस्पतालका निर्देशक पाण्डेले नागरिकलाई जानकारी दिए। यसअघि देखिएका सार्स भाइरस र मर्च भाइरसको तुलनामा यसको मृत्युदरसमेत कम रहेकाले आत्तिनुनपर्ने तर सजग भने रहनुपर्ने सुझाव चिकित्सकले दिँदै आएका छन्। यसका लागि व्यक्तिगत सफाइमा ध्यान दिन चिकित्सकको सुझाव छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीन तथा अन्तर्राष्ट्रिय विमानबाट आउनेहरूमा विशेष निगरानी भइरहेकाले आतंकित नहुन मन्त्रालयले अपिल गरेको छ।

प्रकाशित: १६ माघ २०७६ ०१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App