१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

इन्जिनियरको ठगीबारे छानबिन गर्न समिति

धरान – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इलेक्ट्रिकल इन्जिनियरिङ विभागका अधिकृत तेजनारायण साहले विद्युत् महसुल उठाई ठगी गरेको आरोपबारे छानबिन गर्न समिति गठन गरिएको छ। साहले प्रतिष्ठान हाताभित्र भाडामा सञ्चालित व्यवसायीहरूबाट विद्युत् महसुल लिएकोबारे छानबिन गर्न मानसिक रोग विभागका प्राध्यापक वैकुण्ठ अधिकारीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो। छानबिन समितिको सदस्यमा हाडजोर्नी विभागका डाक्टर विष्णु पोखरेल, आर्थिक प्रशासन महाशाखा प्रमुख रमेश पण्डित र प्रतिष्ठानका कानुनी सल्लाहकार अबइन्द्र निरौला छन्। समितिले आरोपित अधिकृत साह र सम्बन्धित व्यवसायीहरूसँग पनि आवश्यक बयान लिने काम गरिरहेको छ।

छानबिन समितिले साहबाट ठगिएका व्यवसायीसँग लिखित बयान लिएको छ। त्यस क्रममा उनीहरूले आवश्यक प्रमाण पनि समितिलाई बुझाएको एक व्यवसायीले जानकारी दिए। ‘के भएको हो भनेर हामी १० जना जति व्यवसायीसँग लिखित बयान लिइयो। प्रमाण के छ, पेस गर्नु भनियो। हामीले तेजनारायणले दिएको भौचर बुझायौं,’ नाम उल्लेख नगर्न आग्रह गर्दै ती व्यवसायीले भने।

अधिकृत साहले प्रतिष्ठान हाताभित्र भाडामा पसल सञ्चालनमा गरिरहेका व्यवसायीहरूसँग सात महिनादेखि विद्युत् महसुल संकलन गरेर अनियमितता गरेको आरोप छ। अधिकृत साहले अधिकार क्षेत्रबाहिर गएर भाडामा रहेका व्यवसायीहरूसँग महसुल लिइरहेको लिखित निवेदन परेपछि छानबिन समिति गठन भएको हो। अधिकृत साहले प्रतिष्ठानमा भाडामा रहेका व्यवसायीहरूसँग विद्युत्को बिलबापत लाखौं रुपैया संकलन गरेर अपचलन गरेको आशंका गरिएको छ। आर्थिक कारोबार गर्ने अधिकार प्रतिष्ठानको लेखा शाखालाई मात्र छ। तर साहले सर्भर बिग्रिएको मौका पारेर आफैंले व्यवसायीहरूबाट महसुल लिइरहेको खुलेको थियो।

समितिले छानबिन शुरु गरेपछि सर्भर लक गरेर महसुल नलिन पनि निर्देशन दिएको स्रोतले जनाएको छ। साथै समितिले विद्युत्को महसुल उठ्न बाँकी विवरण पनि लेखा शाखासँग माग गरेको छ। ‘उठ्न कति बाँकी छ, विवरण माग गरेका छौं। सर्भर लक गरेर अब नउठाउन पनि निर्देशन दिइएको छ,’ छानबिन समिति स्रोतले भन्यो। छानबिन समितिका सदस्यसमेत रहेका आर्थिक प्रशासन प्रमुख पण्डितले सरोकारवालाहरूसँग बयान भइरहेको बताए। ‘छानबिन सुरु भएको छ, के भएको हो, रकम तल–माथि भएको छ कि छैन भन्ने सबै प्रतिवेदनमा आउँछ,’ उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने।

व्यवसायीहरूबाट पैसा बुझेपछि अधिकृत साहले इलेक्ट्रिकल इन्जिनियरिङ विभागको रिसिभ भौचर दिएका छन्। त्यसमा प्रतिष्ठानको छाप पनि छ। भौचरमा पैसा बुझ्ने व्यक्तिको नाम एमके राई उल्लेख छ भने उनैको हस्ताक्षर पनि छ। तर यो नाम गरेको व्यक्ति इलेक्ट्रिकल विभागमा छैनन्। प्रतिष्ठानको लेखा शाखामा इलेक्ट्रिक सफ्टवेयरको आर्थिक कारोबार गर्ने अधिकार इन्दिरा कार्कीलाई मात्र छ। सफ्टवेयरमा लग–इन उनको मात्र छ। अधिकृत साहले भने आफूलाई फसाउने खेल भएको भन्दै आरोप अस्वीकार गर्दै आएका छन्।

प्रकाशित: १५ माघ २०७६ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App