१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अतिक्रमित सडकपेटी खाली गराइँदै

कलैयाको दही बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना खाली गराउँदै प्रजिअ पडिन्द्रमणि पोखरेललगायत।

बारा – कलैया उपमहानगरपालिकाले सोमबारदेखि कलैया बजार क्षेत्रको अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ। जिल्लाको सदरमुकामसमेत रहेको कलैया बजार क्षेत्रलाई सफा र सुन्दर नगर बनाउन सडक पेटीको अतिक्रमण हटाउन एक्साभेटर प्रयोग गर्नुका साथै सुरक्षाकर्मीसमेत परिचालन गरिएको कलैया उपमहानगरले जनाएको छ।

सडकपेटी अतिक्रमण गरी व्यपारीले पसल सञ्चालन गर्नुका साथै केहीले भौतिक संरचनासमेत निर्माण गर्दा बजार क्षेत्र कुरूप देखिएकोे थियो। सडकपेटी अतिक्रमणले बजार क्षेत्रका सडकमा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत अप्ठ्यारो हुने गरेको गुनासो आएपछि अतिक्रमित सडकपेटीलाई खाली गराउन सुरु गरिएको कलैया उपमहानगरप्रमुख राजेशराय यादवले बताए। अतिक्रमण गरिएको सडकपेटी खाली गराउन कलैया उपमहानगरले पटकपटक सूचना निकाली जानकारी गराउँदासमेत अतिक्रमणकारीले बजारभित्रको सडकपेटी खाली गर्न नमान्दा जनशक्ति परिचालन गर्नुपरेको प्रमुख यादवले बताए।

विगत लामो समयदेखि नगरपालिकामा जनप्रतिनिधिहरू नभएको अवस्थामा बजार क्षेत्रका सडक आधाभन्दा बढी भाग अतिक्रमण गरी व्यपारीले पसलसमेत राख्दै आएका थिए।

कलैया बजार क्षेत्रको अतिक्रमित सडकपेटी खाली गराउने कार्यमा नगरप्रमुखको नेतृत्वमा बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल, बाराका प्रहरी उपरीक्षक विकाशराज खनालसमेत खटेका थिए। सडक अतिक्रमणका कारण बजार नै फोहोर देखिएको र स्वच्छ तथा सफा बजार बनाउन अतिक्रमित सडकपेटी खाली गराउन कलैया उपमहानगरको अभियानमा सहयोग गरिएको प्रजिअ पोखरेलले बताए। मुख्य बजार क्षेत्रको सडक नै अतिक्रमणमा पर्नु कलैयाका लागि नराम्रो पक्ष रहेको र सडकलाई अतिक्रमणमुक्त बनाउने कार्यमा जनप्रतिनिधि र स्थानीय बढी सक्रिय भएर लाग्नुपर्ने सुझाव पोखरेलले दिए।

नागरिक समाजका अध्यक्ष उमेशलाल दासले सो अतिक्रमण हटाउनु राम्रो कुरा भएको बताए। व्यापारी र स्थानीयका लागि यो अप्रिय लागे पनि यसले नगरपालिकालाई दीर्घकालीन समयका लागि राम्रो गर्ने दासले दाबी गरे। अतिक्रमण हटाउने कार्यमा बारा उद्योग वाणिज्य संघका सचिव सुरेश साह, वडाध्यक्ष हरिओम साह, जट्टाशंकर सहनीलगायतको सहभागिता थियो।

प्रकाशित: १४ माघ २०७६ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App