१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिद्धबाबामा सुरुङ बनाउन १० अर्ब

काठमाडौं - चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेअनुसार अर्थ मन्त्रालयले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबामा सुरुङ बनाउन १० अर्ब रुपैयाँ दिएको छ। प्रदेश ५ मा पर्ने सिद्धबाबामा सुरुङ बनाउन सडक विभागले अघि बढाएको प्रस्तावमा अर्थले १० अर्ब रुपैयाँ दिने सुनिश्चतता गरेको हो। यो खण्डमा माथिबाट वर्षैभरी ढुंगा खसेर दुर्घटना हुने गरेको छ।

‘सिद्धबाबामा एक हजार एक सय मिटर सुरुङ बनाउन अर्थले खर्चको सुनिश्चतता गरेको छ,’ विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले सोमबार नागरिकसँग भने, ‘अब केही दिनभित्रै बिडिङको काम सुरु गर्दैछौं।’ अत्यधिक रुपमा ढुंगा झर्ने र पहिरो जाने खण्डको रूपमा चिनिने सिद्धबाबामा लामो समयदेखि सुरुङ निर्माण गर्नुपर्ने माग हुँदै आएको थियो। यही माग अनुसार सरकारले चालु वर्षमा यो कार्यक्रम राखेको थियो।

पटकपटक पहिरो जाने भएकाले बुटवलदेखि पाल्पा र पाल्पाबाट बुटवल आवतजावत गर्नेलाई समस्या हुँदै आएको छ। बर्सेनि दजनौं व्यक्तिले ज्यान गुमाउँदै आएका छन्। चालु बजेटमा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङ मार्ग निर्माण सुरु गर्न र टोखा–छहरे–गुर्जेभञ्ज्याङ, खुर्कोट–चियाबारी, बिपीनगर–खुटिया–दिपायल खण्ड, गणेशमान मार्गको थानकोट–चित्लाङ खण्ड र लामाबगर–उत्तरी सडकमा सुरुङ मार्ग निर्माणको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउने उल्लेख छ।

सिद्धबाबा बाहेक नागढुंगा–नौबिसे र काठमाडौं–तराई–मधेस दु्रतमार्गमा पनि सुरुङमार्ग निर्माणको काम हुँदैछ।

मुलुकका सिँचाइ आयोजनातर्फ भने भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खनिएको छ। उक्त आयोजनामा सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएका कारण लक्ष्यभन्दा एक वर्षअघि नै निर्धारित काम सकिएको थियो। विकास निर्माणका काममा सुरुङ निर्माण गरिनुपर्ने आवाज उठ्दै आए पनि नेपालमा सुरुङ निर्माणका काम खासै हुन सकेका छैनन्।

पछिल्लो समयमा भने सुरुङ निर्माणका आयोजना अघि बढाइएको विभागले जनाएको छ। सिद्धबाबाबाहेक नागढुंगा–नौबिसे र काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) मा पनि सुरुङमार्ग निर्माणको काम हुँदैछ। विभागका अनुसार सिद्धबाबामा सुरुङ निर्माण गर्न १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

‘अर्थले सुनिश्चतता गरेको रकमबाट एक हजार एक सय मिटर सुरुङ निर्माण हुनेछ,’ विभागका उपमहानिर्देशक सापकोटाले भने। सोही खण्डमा सुरुङ खन्न ड्रिलिङ र ब्लास्टिक प्रविधि प्रयोग गरिनेछ। नागढुंगामा पनि सुरुङ खन्न सोही प्रविधि प्रयोग गरिँदैछ।

विकासका आयोजनामा टिबिएम जस्ता अत्याधुनिक उपकरण प्रयोग गर्नुपर्ने माग हुँदै आए पनि अझै त्यस्ता मेसिनको भने प्रयोग हुन सकेका छैनन्। ड्रिलिङ र ब्लास्टिक प्रविधि सामान्य श्रमिक प्रयोग गरी सुरुङ खन्नेभन्दा उपल्लो स्तरको भए पनि टिबिएम जस्तो उपकरणले गर्ने काम जस्तो जस्तो अत्याधुनिक प्रविधिमा आधारित नहुने बताइन्छ।

टिबिएम प्रयोग गर्दा कामले निकै गति लिने प्राविधिक बताउँछन्। सापकोटाका अनुसार सिद्धबाबामा सुरुङ खन्ने काम करिब तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। केही दिनमा विडिङको प्रक्रिया पूरा गरी चालु आर्थिक वर्षभित्र सिद्धबाबामा सुरुङ खन्नका लागि ठेकेदार मोबिलाइज्ड गर्ने तयारी गरिएको छ। ‘चालु आर्थिक वर्षभित्रै सुरुङ खन्ने कार्य सुरु गर्न ठेकेदार मोबिलाइज्ड गर्ने प्रयासमा छौं,’ सापकोटाले भने।

सिद्धबाबाबामा सुरुङ निर्माण गर्नका लागि विभागले लामो समयदेखि आर्थिक स्रोतको खोजी गर्दै आएको थियो। अनेक पटकको प्रयासपछि सुरुङ खन्न अर्थले खर्चको सुनिश्चतता दिइसकेपछि अब उक्त कामलाई दु्रत रूपमा अघि बढाउन विभागलाई दवाव सिर्जना भइसकेको अधिकारीहरू बताउँछन्।

‘स्रोतको जोहो नहुँदासम्म माग गर्ने तर खर्चको सुनिश्चतता भइसकेपछि ढिलाइ गर्ने भन्ने हुँदैन,’ उनले भने, ‘सिद्धबाबामा सुरुङ निर्माण गर्न हामी पनि उत्साही छौं।’ सिद्धबाबाको सुरुङ दुई लेनको हुने सापकोटाले जानकारी दिए। बुटवल–पाल्पा खण्डको सिद्धबाबामा निर्माण हुने सुरुङको विस्तृत अध्ययन भने स्वीस सरकारले गरेको थियो।

सोही अध्ययनको आधारमा विभागले स्रोतको खोजी गरिरहेको थियो। सिद्धबाबामा निर्माण हुने सुरुङमा खर्च हुने रकम भने आन्तरिक स्रोतबाटै बेहोरिने अधिकारीहरूले जनाएका छन्। नागढुंगामा निर्माण गर्ने क्रममा रहेको सुरुङको खर्च भने जापान सरकारले बेहोर्दै छ।

प्रकाशित: १४ माघ २०७६ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App