१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वडा सदस्यहरूले मागे ६० प्रतिशत बजेट

रौतहट – गढीमाई नगरपालिकाका वडा सदस्यहरूले विभिन्न सुविधासहित ६० बजेट माग गर्दै नगरको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले नगरपालिकाका हरेक वडामा हुने विकास निर्माणका लागि छुट्ट्याइने बजेटको ४० प्रतिशत वडाध्यक्ष र बाँकी चारजना सदस्यले भागबन्डाका आधारमा बराबरी खर्च गर्न पाउने नियम बनाउन माग गरे। नगरपालिकाका निमित्त कार्यालय प्रमुख नागेन्द्रप्रसाद यादवलाई आइतबार बुझाइएको ज्ञापनपत्रमा वडासदस्यहरूले अतिथि सत्कारका लागि मासिक २० हजार रुपैयाँ नगद पाउनुपर्ने मागसमेत राखेका छन्। त्यसैगरी हरेक वडा सदस्यलाई मोटरसाइकल र मासिक २० लिटर पेट्रोल उपलब्ध गराउनुपर्ने माग पनि गरिएको छ।

नगरपालिकाका मेयर, उपमेयर तथा कार्यालय प्रमुखले अनेक किसिमको सुविधा प्राप्त गरिरहेको तर आफूहरू पूर्णतः सुविधा वञ्चित रहेको बताउँदै वडा सदस्यहरुले आफूहरूले पनि त्यस्ता सुविधा पाउनुपर्ने तर्क गरे। वडा कार्यालयमार्फत खर्च हुने बजेटमा वडाध्यक्षले एकलौटी गरिरहेको दाबी गर्दै त्यसमा सबै वडा सदस्यको हस्ताक्षरको व्यवस्था हुनुपर्ने माग पनि गरिएको छ। विगतमा नगर प्रमुख र कार्यालय प्रमुखले गरेका सम्पूर्ण खर्चको हिसाबकिताब पनि वडा सदस्यसमक्ष प्रस्तुत गर्नुपर्ने माग उनीहरूको छ। नगरपालिकाको आयव्ययबारे कुनै जानकारी नहुने गरेको आरोप लगाउँदै आफूहरूलाई आयव्ययको सम्पूर्ण विवरण उपलब्ध गराउनुपर्ने माग गरेको वडा सदस्य महेश साहले बताए।

वडा सदस्यहरूले ज्ञापनपत्रमा प्रस्तुत गरेको माग सात दिनभित्र पूरा गर्नुपर्ने माग गरेका छन्। तोकिएको समयभित्र माग पूरा नभए आन्दोलन गर्ने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ। वडा सदस्यहरूले आफ्नो माग पूरा गराउन चरणबद्ध आन्दोलन गर्दै कार्यालयमा तालाबन्दी गर्नेसम्मको कार्यक्रम तय गरेका छन्। नगरपालिकाले आफूहरूको मागबमोजिम सेवा र सुविधा बनाउने नियम नबनाए कुनै काम सफल हुन नदिने योजना बनाएको बुझिएको छ।

वडा सदस्यहरूको माग र आन्दोलनको विषयमा निर्णय लिन नेवालाल राउतको नेतृत्वमा नौ सदस्यीय समिति निर्माण पनि गरेका छन्।

गढीमाई नगरपालिकाका वडा सदस्यहरूले विभिन्न माग राखी कार्यालयमा ज्ञापनपत्र बुझाएको निमित्त कार्यालय प्रमुख यादवले बताए। उनले वडा सदस्यहरूका माग नगर प्रमुख श्यामप्रसाद यादवमार्फत सम्बन्धित निकायमा पु-याउने बताएका छन्। ज्ञापनपत्रको विषयमा आफूले थप केही कुरा बताउन नमिल्ने भनाइ यादवले राखे।

विकास बजेटमा अगुवाइ गर्ने विषयमा छलफल गर्न सकिने तर व्यक्तिगत सुविधा र सवारीसाधनको विषय तथा मासिक रकमको विषयमा कुनै हालतमा केही गर्न नसकिने नगर प्रमुख यादवले प्रतिक्रिया दिए। आफूहरूको कुनै सम्मान नभएको तथा जनताले आफूहरूबाट पनि अपेक्षा राखेकाले अधिकारका लागि लडाइँ लड्नुपर्ने अवस्था रहेको वडाध्यक्षहरूले बताए। नगरपालिकाको आफ्नै स्रोतको ठूलो बजेट रहेको र त्यसमा व्यापक अनियमितता भएको आरोप लगाउँदै हिसाबकिताब लिएर केही समयमै सार्वजनिक गर्ने जानकारी पनि वडा सदस्यहरूले गराए।

प्रकाशित: १३ माघ २०७६ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App