१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गौ हत्याको बिरोधमा मध्यपश्चिम बन्द

दाङ–कैलालीमा गौ हत्या गरिएको भन्दै त्यसको विरोधमा मध्यपश्चिम बन्द आह्वान गरिएको छ। विभिन्न हिन्दूवादी संघ संगठनले गौ हत्याको छानविन गरि दोषी माथि कारवाहीको माग गर्दै मध्यपश्चिमका सबै जिल्लामा बन्द आह्वान गरेका हुन्। ती संगठनहरुले कैलालीमा १ सय २० गाई गोरु मारिएको जनाएका छन्।

बन्दका कारण विहानैदेखि दाङको जनजीवन प्रभावित बनेको छ। यातायातका साधनहरु विहानैदेखि ठप्प छन् भने शिक्षण संस्था बजारसमेत बन्द रहेका छन्। बन्दकर्ताहरु विहानैदेखि सडकमा उत्रिएर बन्द गराइरहेका छन्।

यसैबीच प्रहरीले दाङका बन्दकर्तामाथि धरपकड गरेको छ। बन्दको आह्वान गर्दै हिँडेका १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला पनि १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ,’ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य उमाकान्त भण्डारीले भने, ‘प्रहरीले अनावश्यक बल देखाउन खोज्यो।’

उनका अनुसार ६ जनालाई बन्दको पूर्व सन्ध्यामा सोमबार घोराहीमा गर्न थालिएको कोणसभाका क्रममा र १३ जनालाई आज विहान घोरहीको तुलसीपुर चोकबाट नियन्त्रणमा लिएको हो। केही दिन अघि मात्रै एमालेले गरेको बन्दका क्रममा कसैलाई पनि नियन्त्रणमा नलिनु तर आजको बन्दका क्रममा अनावश्यक बल प्रयोग गरिनु प्रहरी प्रशासनकै नियतमा प्रश्न चिन्ह उब्जिएको भण्डारीले बताए।

एमालेले संविधान संशोधनको बिरोधमा केही दिन अघि गरेको बन्दका क्रममा साइकललाई अवरोध गर्दा समेत प्रहरी मौन बनेको थियो। ‘प्रहरीले उल्टै चलेका सवारी साधनहरुलाई पनि बन्द छ भने नचलाउन आग्रह गरेको थियो,’ भण्डारीले भने, ‘तर आज शान्तिपूर्ण बन्दमा पनि प्रहरीले बल प्रयोग गरेर आफ्नो चरित्र प्रष्ट पार्ने काम गरेको छ ।’ उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएका १९ जना मध्य ७ जना प्रजातान्त्रिक युवासंगठनका युवाहरु छन् । संगठनले पक्राउ गरिएका आन्दोलनकारीहरुलाई तत्काल रिहाई गर्न माग समेत गरेको छ ।

प्रकाशित: १२ पुस २०७३ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App