१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तिर्खायुक्त पिडागाउँलाई तिर्खामुक्त बनाउने योजना

खानेपानी जुटाउन श्रमदान गर्दै गजुरी पिडा गाउँका स्थानीय। तस्बिर : सरिता/नागरिक

धादिङ – टाउकोमा सेप्टी हेल्मेट, खुट्टामा सेप्टी जुत्ता, माक्र्स, ज्याकेट। हातमा साबेल, कुटो, कोदालो लिएर लामबद्ध रूपमा खाडल खन्ने काम गरिरहेका छन्, गजुरी गाउँपालिका–५ स्थित पिडा गाउँका बासिन्दा। भूकम्पमा रहेको खानेपानीको मुहान सुकेर गाउँमा पानीको हाहाकार भयो। त्यसयता टाढाको मुहानबाट ल्याएको खानेपानीले उनीहरूको जीवन जसोतसो चलिरहेको छ। गजुरी–६ दोभानेका स्थानीय भने अझै पनि खोलाको पानी खान बाध्य छन्। खानेपानीकै जोहो गर्न घण्टौं खर्चनुपर्ने स्थानीय बस्तुभाउ, सरसफाइ तथा खेतीकिसानीका लागि ज्यादै समस्या हुने गरेको बताउँछन्।

खानेपानीको जोहो गर्न पिडाकी कल्पना भण्डारी यतिबेला श्रमदानमा जुटेकी छन्। पाइपलाइन ओछ्याउने खाडल खन्न छिमेकीसँगै काम गर्दै गरेकी उनी अब चाहिँ दुःख हट्छ कि भन्ने आसमा छिन्। ‘गाउँमा भएको पानीको मुहान पनि सुक्यो, डेढ घण्टा टाढाको मुहानमा लिन जाँदा पालो पाउनै गाह्रो, समय पनि धेरै खर्च हुन्छ,’ उनले भनिन्, ‘घरकै धारामा पानी झर्छ भनेर यसरी श्रमदानमा जुटेका हौं।’ उनले १२ दिनसम्म यसरी श्रमदान गरेको सुनाइन्।

घरघरमा धारा पुग्ने र पानी लिन घण्टौं धाउनुनपर्ने भएपछि स्थानीय ५९ वर्षीया चन्द्रमाया श्रेष्ठ पनि श्रमदान गर्न जुटिन्। ‘खानेपानी समस्याले कुवाको पानी खानुपर्ने बाध्यता छ, बस्तुभाउलाई दिने पानी छैन, सरसफाइका लागि पुग्दैन,’ उनले भनिन्, ‘एक थुकी सुकी, सय थुकी नदी भनेजस्तै सबै जुटेर काम गर्न पाउँदा खुसी पनि लागेको छ।’

गाउँमै रहेको खानेपानीको मुहान भूकम्पले सुकेपछि टाढा धाएर खानेपानीको जोहो गरिरहेका पिडाबासीको पीडा कम गर्न गजुरी गाउँपालिकाले प्रयास नेपालको सहयोगमा खानेपानी आयोजना निर्माण सुरु गरेको छ। पिडा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरेर जनश्रमदानसहित दुई करोड १४ लाख लागतमा खानेपानीको आयोजना सुरु गरिएको हो। मंसिर पहिलो सातादेखि सुरु गरिएको आयोजना निर्माणको काम फागुन अन्तिमसम्म सक्ने लक्ष्य रहेको छ।

गाउँको बीचमा रहेको गजुरी पिडा माध्यमिक विद्यालयमा तीन सय ५४ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा खानेपानी छैन। भएको शौचालयमा पनि पानी नहुँदा शौच गर्न समस्या छ। आयोजना निर्माणपछि गजुरी गाउँपालिका–५ को एक सय १३ र ६ को ४४ गरी एक सय ५७ घर, विद्यालय र दुईवटा सामुदायिक भवनसमेत गरी एक सय ६० धारा जडान गरिने खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिनेश भण्डारीले बताए।

झन्डै सात किलोमिटर लामो पाइपलाइलबाट पानी ल्याई ट्यांकीमा संकलन गरी चौबीसै घण्टा धारामा पानी आउने गरी घर–घरमा धारामार्फत खानेपानी सेवा उपलब्ध गराइने अध्यक्ष भण्डारीले बताए। ‘सबै घरमा धाराबाटै स्वच्छ खानेपानी पुग्ने भएपछि स्थानीयमा खुसी छन्,’ उनले भने, ‘आयोजना सम्पन्न भएपछि गजुरी गाउँपालिका–५ र ६ का एक सय ५७ घरका नौ सय २४ जनाले प्रत्यक्ष सेवा पाउनेछन्।’ खानेपानी व्यवस्थापनपछि स्वास्थ्य तथा सरसफाइमा उल्लेख सुधार हुनुका साथै महिलाहरूको कार्यबोझसमेत घट्ने अपेक्षा गरिएको उनले बताए।

आयोजना निर्माणमा स्थानीय उपभोक्ताले दैनिक श्रमदान गरिरहेका छन्। श्रमदानका लागि एक सय ५७ घरधुरीका एक सय ४० भन्दा बढी कामदार जुटेका छन्। उनीहरू पाइपलाइन खन्ने, धारा बनाउन स्थानीय निर्माणसामग्री सहयोग गर्नेलगायत काम गरिरहेका छन्। काम निःशुल्क भए पनि कार्यस्थल जोखिमको पहिचान गरी कामदारले टाउकोमा हेलमेट, हातमा पञ्जा, खुट्टामा बुट, आँखामा चस्मा लगाउने व्यवस्थापन गरिएको छ। कामदारको सुरक्षालाई ख्याल गरी दुर्घटना बिमासमेत गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए। उनका अनुसार ढुंग्रेनी, घाँसेखोला र बाँस–झ्याङ गरी तीनवटा मुहानबाट फिल्टरसहितको खानेपानी सेवा उपलब्ध गराइनेछ।

गजुरी गाउँपालिकालाई ‘तिर्खामुक्त’ बनाउने लक्ष्यअनुरूप खानेपानी जुटाउन लागेको गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए। ‘गजुरी गाउँपालिकाले एक घर एक धारा बनाउने लक्ष्य राखेको थियो, त्यो पूरा गर्दैछौं,’ अध्यक्ष बस्नेतले भने, ‘कामको गुणस्तर र प्रभावकारिताका लागि बेलाबेलामा अनुगमनको गर्दै आइरहेका छौं।’

प्रकाशित: १३ माघ २०७६ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App