१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन सातामा रुघाखोकीका कारण हुम्लामा सात जनाको मृत्यु

वीरेन्द्रनगर- पछिल्ला तीन सातायता हुम्लाका चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। उपचार अभावमा यहाँका सात जनाले ज्यान गुमाइ सकेका छन्। स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा उक्त प्रकोप नियन्त्रण बाहिर छ।

यसलाई मौसमी रुघाखोकी भनिए पनि रोगको आधिकारिक पहिचान हुन सकेको छैन। प्रकोप स्थलमा स्वास्थ्यकर्मीहरूको टोली पुग्न नसक्दा रोग पहिचान हुन नसकेको हो। हुम्लाको चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ। उनीहरू सबैको २६ पुस यता ज्यान गएको हो। त्यस्तै, सर्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको छ।

हुम्लाका प्रहरी निरीक्षक राजकुमार पहाडीले मृत्यु भएको विस्तृत खबर आइ नसकेको बताए। ‘अहिलेसम्म दीर्घरोगीको मृत्यु भएको भन्ने खबर सुनिएको छ,’ उनले भने, ‘आधाकारिकरूपमा जानकारी आएको छैन।’ जिल्लाका विभिन्न ठाउँमा करिब दुई सय बढी यस प्रकोपबाट संक्रमित भएको यहाँका पत्रकार जनक शाहीले जानकारी दिए। उनका अनुसार सर्केगाडमा स्वास्थ्यकर्मी पुगिसकेको छ भने अन्य ठाउँमा स्वास्थ्यकर्मी पुग्न सकेका छैनन्। ‘प्रदेश सरकारले स्वास्थ्यकर्मी पठाएको छ,’ उनले भने, ‘उक्त टोली प्रकोपस्थलमा जान तीन दिन जति लाग्छ।

गत वैशाख दोस्रो साता यहाँको ताँजकोट गाउँपालिकामा फैलिएको पहिचान हुन नसकेको रोगबाट आठजनाको मृत्यु भएको थियो। २०६६ सालमा झाडापखालाबाट जाजरकोटमा दुई सय जना भन्दा बढीले ज्यान गुमाए।

भौगोलिक दुर्गमताका कारण कर्णालीवासीको स्वास्थ्यमा सहजै पहुँच पुग्दैन, जसले बर्सेनी दर्जनौंले ज्यान गुमाउँछन्। अशिक्षा, गरिबी र सरसफाईको कमीले विभिन्न रोगको सिकार बन्दै आएका छन्। बर्सेनी कर्णालीको जनसंख्याको करिब आधा हिस्सा विभिन्न रोगले बिरामी हुन्छ। कर्णालीवासी झाडापखालाले मात्र होइन, रुघाखोकी, टाइफाइड, अम्लीयपन, श्वासप्रश्वास लगायत रोगले बर्सेनि थलिन्छन्। कतिले ज्यान गुमाउँछन्। तथ्यांक हेर्दा कर्णालीमा आर्थिक वर्ष २०७५/७६ मा आठ लाख २३ हजार ४६ जना विभिन्न रोगले थलिए। करिब १८ लाख जनसंख्या रहेको कर्णालीमा आर्थिक वर्ष २०७४/७५ मा ६ लाख ४७ हजार एक सय ६७ जना बिरामी भए। कर्णालीका सहर बजार भन्दा ग्रामीण बस्तीका मानिस विभिन्न रोगको जोखिममा छन्।

गरिबी, अशिक्षा, सरसफाइ, जनचेतनाको कमी, भौगोलिक विकटता, प्राकृतिक प्रकोप, खानपान तथा जीवनशैली, अशुद्ध पिउने पानी, घरबाट निस्किने धुवाँजस्ता कारणले कर्णालीका धेरै मानिस बिरामी हुने गरेको स्वास्थ्य महाशाखाका निर्देशक बृषबहादर शाहीले जानकारी दिए। विशेषगरी बालबालिकामा निमोनिया र अन्यमा रुघाखोकी, दम, ग्यास्ट्रिक, छाला, टाउको र छाती दुख्ने जस्ता समस्या देखिने गरेको उनले बताए। ‘अशिक्षा र गरिबीले सरसफाइमा ध्यान पुग्दैन,’ प्रदेश अस्पतालका चिकित्सक डा. नवराज केसीले भने, ‘सरसफाइ नहुँदा रोगको संक्रमण हुन्छ।’ कतिपय व्यक्ति बिरामी पर्दासमेत स्वास्थ्य संस्थाको सम्पर्कमा नआएको पाइएको उनले बताए। बिरामी हुँदा वा कुनै पनि रोगको लक्षण देखिँदासाथ स्वास्थ्य संस्था नजाँदा जोखिम बढ्न सक्ने भन्दै उनले रोगबाट बच्न पहिला सरसफाइ, खाना र जीवनशैलीमा ध्यान दिनुपर्ने बताए।

प्रकाशित: १२ माघ २०७६ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App