१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मासिक २० हजार माग गर्दै वडा सदस्यको ज्ञापनपत्र

रौतहट- रौतहटको एउटा नगरपालिकाका वडा सदस्यहरुले विभिन्न सुविधाका साथै बजेटको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। रौतहटको गढीमाई नगरपालिकाका जनप्रतिनिधि वडा सदस्यहरुले नगरपालिका कार्यालयमा वडामा जाने विकास बजेटको साठी प्रतिशत माग गरेका छन्। नगरपालिकाको हरेक वडामा हुने विकास निर्माणको चालीस प्रतिशत सम्बन्धित वडाध्यक्ष र साठी प्रतिशत बजेट चारजना सदस्यले बराबरी भागबन्डामा पाउनु पर्ने नियम बनाउन माग गरेका छन्।

गढीमाई नगरपालिकाका वडा सदस्यहरुले अतिथि सत्कारको लागि भनेर हरेक महिना बीस हजार रुपैयाँ नगद पाउनुपर्ने माग पनि गरेका छन्। नगरपालिकाको निमित्त कार्यालय प्रमुख नागेन्द्रप्रसाद यादवलाई आइतबार बुझाइएको ज्ञापनपत्रमा वडा सदस्यहरुलाई पनि हिरो स्पेलेन्डर मोटरसाइकल उपलब्ध गराउनु पर्ने र त्यसको लागि मासिक बीस लिटर पेट्रोल समेत उपलब्ध गराउनु पर्ने माग गरेका छन्।

नगरपालिकाका मेयर, उपमेयर तथा कार्यालय प्रमुखले अनेक किसिमको सुविधा प्राप्त गरिरहेको तर आफूहरु पूर्णतया वञ्चित रहेको बताउदै वडा सदस्यहरुले आफूहरुले पनि हरेक सुविधा पाउनुपर्ने तर्क गरेका छन्। वडा कार्यालयमार्फत खर्च हुने बजेटमा वडाध्यक्षको एकलौटी भएको दाबी गर्दै वडाको बजेट खर्चमा सबै वडा सदस्यको हस्ताक्षरको व्यवस्था हुनुपर्ने माग पनि गरिएको छ।

विगतमा नगर प्रमुख र कार्यालय प्रमुखले गरेका सम्पूर्ण खर्चको हिसाब किताब पनि वडा सदस्यसमक्ष प्रस्तुत गर्नुपर्ने माग वडा सदस्यहरुको रहेको छ। नगरपालिकाको आयव्ययको बारेमा वडा सदस्यहरुलाई कुनै जानकारी नै नहुने गरेको आरोप लगाउँदै वडा सदस्यहरुले आयव्ययको सम्पूर्ण विवरण उपलब्ध गराउनुपर्ने माग गरेको वडा सदस्य महेश साहले बताएका छन्।

वडा सदस्यहरुले ज्ञापनपत्रमा सात दिनभित्र माग पूरा गर्नुपर्ने भनि उल्लेख गरेका छन्। सात दिनभित्र माग पूरा नभए आफूहरुले आन्दोलन गर्ने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ। वडा सदस्यहरुले आफ्नो माग पूरा गराउन चरणबद्ध आन्दोलन गर्दै कार्यालयमा तालाबन्दी गर्नेसम्मको कार्यक्रम तय गरेका छन्। नगरपालिकाले माग बमोजिम सेवा र सुविधा बनाउने नियम नबनाए कुनै पनि काम सफल हुन नदिने योजना बनाएको बुझिएको छ।

वडा सदस्यहरुको माग र आन्दोलनको विषयमा निर्णय लिन नेवालाल राउतको नेतृत्वमा नौ सदस्यीय समितिको निर्माण पनि गरेका छन्।

गढीमाई नगरपालिकाका वडा सदस्यहरुले विभिन्न माग राखी कार्यालयमा ज्ञापनपत्र बुझाएको निमित्त कार्यालय प्रमुख नागेन्द्रप्रसाद यादवले बताएका छन्। कार्यालय प्रमुख यादवले वडा सदस्यहरुको मागलाई नगर प्रमुख श्यामप्रसाद यादवमार्फत सम्बन्धित निकायमा पुर्‍याउने बताएका छन्। ज्ञापन पत्रको विषयमा आफूले थप केही कुरा बताउन नमिल्ने यादवको भनाई छ।

विकास बजेटमा अगुवाई गर्ने विषयमा छलफल गर्न सकिने तर व्यक्तिगत सुविधा र सवारी साधनको विषय तथा मासिक रकमको विषयमा कुनै पनि हालतमा केही गर्न नसकिने नगर प्रमुख श्यामप्रसाद यादवले प्रतिक्रिया दिएका छन्।

नगर प्रमुखले सबै योजनामा आफूमात्र मोटाउने काम गरेको र आफूहरुको कुनै सम्मान नभएको तथा जनताले आफूहरुबाट पनि अपेक्षा राखेकाले अधिकारको लागि लडाइँ लड्नुपर्ने अवस्था रहेको बताउने गरेका छन्। नगरपालिकाको आफ्नै स्रोतको ठूलो बजेट रहेको र त्यसमा व्यापक अनियमितता भएको आरोप लगाउँदै हिसाब किताब लिएर सार्वजनिक गर्ने पनि वडा सदस्यहरु बताएका छन्।

प्रकाशित: १२ माघ २०७६ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App