१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपचार गर्न आर्थिक अभाव भएपछि अस्पतालबाट घर फिर्ता

मृगौला पीडित रेशम र उनका बुवा मनसर। तस्बिरः दिनेश/नागरिक

रोल्पा - ढाई वर्ष अगाडि पैसा कमाउन मलेसिया गएका एक युवा मृत्यु बोकेर घर फर्केका छन्। साहुसंग १ लाख ३० हजार ऋण गरेर बिदेशिएका रोल्पा नगरपालिका ३, बाजबिसौनाका २२ वर्षिय रेशम कवर उपचार गर्ने पैसो नभएपछि मृत्यु कुर्न घर आएका हुन्। मलेसिया पुगेको ६ महिनामा दुबै मृगौला फेल भएपछि काठमाण्डौ फर्केका उनले करिब २ वर्ष उपचार गर्दा गर्दै बिमा कम्पनीले दिएको र यताउति उठाएको गरी जम्मा गरेको १३ लाख जति सकाए।

सानैदेखि देब्रेहात नचल्ने बुवा मनसर कवरको सहारामा काठमाण्डौमा उपचार गराएका रेशम बाँकी उपचार गर्ने पैसा नभएपछि घर फर्केका हुन्। ‘करिब १३ लाख जति सकियो। घरमा बेच्नलाई बस्तु पनि केहि छैन। आईतवार(आज) डायलिसिस गर्नु पर्ने थियो तर पैसा नभएपछि घर फर्के।’ अरुको सहारामा हिड्ने बिरामीले थलिएका रेशमले भने ‘हप्तामा दुई पटक डायलिसिस गर्नु पर्छ। औषधि, खाना बस्न र यताउति गर्दा हरेक हप्ता ४० हजार खर्च हुन्छ। उपाय केहि नभएपछि घर आउनुको बिकल्प रहेन।’

काठमाण्डौबाट रोल्पा फर्कने गाडी भाडा समेत सकिएपछि चिनजानको एक जनासंग सापटी मागेर शनिबार बिहानै सदरमुकाम झरेका कवर बाबु छोरा मृत्यु बोकेर अलि परको गाउँ बाजबिसौना तिर लागेका छन्। ‘परिवार पाल्न कमाउछु भनेर बिदेश गएको छोरो आफै हिड्न समेत नसक्ने भएपछि घर फर्काएर ल्याएको छु।’ बुवा मनसरले भने ‘जतिन्जेल बाच्ला घरमै यसको स्याहार गर्छु।’ निभ्नलाई धिपधिप गरेको बत्ति जस्तो भएको उमेरको छोराको जिउदो लाश बोकेर घर पुग्न मनसरलाई पीडाले थिचेको छ।

‘जीवनमा यस्तो दिन पनि आउने रैछ। मर्दै गरेको छोरोलाई औषधि गर्न समेत सकिएन। पैसो भएको भए त मेरो छोरो पनि बाच्दो हो।’ नचल्ने देब्रेहात खल्तीमा राखेका मनसरले आखा रसाउँदै भने ‘शहरमा अस्पताल छ, सुविधा छ तर गरिबको छोरोलाई उपचार गर्ने पैसो नभएर घर फर्काउनु परेको छ।’ अरु उपचार गर्न रोल्पादेखि काठमाण्डौ जान्छन् तर २२ वर्षिय रेशम आर्थिक अभावका कारण अस्पताल छोडेर घर फर्किका हुन्।

देशका प्रधाममन्त्री पनि मृगौला फेल भएका तर उपचारपछि निको भएका सुनेका मनसर र रेशम पैसाको संकटले बाच्ने बचाउने आशा मार्न बाध्य भएका हुन्। घरमा भएको एकहल गोरु, ४ वटा बाख्रा र सानो टुक्रो बारी सबै बेचे पनि एक महिना भन्दा बढी उपचार गर्न नपुग्ने भएपछि सबै आशा पशुपतिमा बगाएर रोल्पा फर्केका कवर बाबु छोरा केहिदिन सदरमुकाम बस्ने र स्थानीय तहसंग थोरै भए पनि खर्च माग्ने अवस्थामा समेत छैनन्। मनसरले भने ‘यहाँ पनि बस्न खान कै समस्या हुन्छ। गोजीमा एक रुपैयाँ पनि छैन। जे हुन्छ घरमै हुन्छ।’ 

चरम गरिब छल्ने आशामा ६ कक्षा पढ्दा पढ्दै छोडेर बिदेशिएका रेशमलाई बाच्छु जस्तो लाग्न छोडेको बताउछन। ‘मृगौला नै फेर्न पाएको भए बाच्थे कि। यहाँ डायलिसिस गर्न त सकिएन। अब यो जिबन लगभग सकिने अबस्थामा छ।’ बिरामीले थिचिएको मलिन अनुहारमा रेशमले भने ‘हप्तामा दुई पटक डायलिसिस र १५÷१५ दिनमा रगत चढाउनु पर्दथ्यो अब सबै बन्द भयो। घरमा गएर आमा र भाईलाई भेट्छु। छिमेकीहरु भेट्छु। जति दिन बाच्छु हरेक दिन मृत्यु कुरेर बाच्छु।’

बिहान घामको झुल्कोसंगै मृत्यु बोकेर रोल्पा सदरमुकाम परको गाउँ बाजबिसौना तिर लागेका कवर बाबु छोरा बाटोमा बोले बोनन् कसैलाई थाहा भएन तर पनि उनिहरुको मनमा उम्लिएको ज्वालामुखि नाङ्गै आखाले देख्न सकिन्थ्यो। रेशमले काठमाण्डौको अस्पतालबाट रोल्पा फर्कदै गर्दा आफ्नो मलामी आफै हिडिरहेको अनुभव गरिरहेको बताए।

प्रकाशित: १२ माघ २०७६ ०५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App