१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चालकले रोके हवाई इन्धन ढुवानी

काठमाडौं - इन्धन ढुवानीमा हुने चुहावट रोक्न नेपाल आयल निगमले ५० लिटरभन्दा बढी परिमाण कम भए दोब्बर जरिवाना तिराउने निर्णयको विरोध गर्दै ट्यांकर चालकले हवाई इन्धन ढुवानी रोकेका छन्। विभिन्न माग अघि सारेर पटक–पटक पेट्रोलियम पदार्थ ढुवानी रोकेर माग पूरा गर्न दबाब दिँदै आएका चालकले इन्धन चुहावट भए पनि न्यून कारबाही हुनुपर्ने भन्दै शनिवारबाट हवाई इन्धन ढुवानी बन्द गरेका हुन्।

आफ्ना माग पूरा नभएपछि हवाई इन्धन लोड गर्न नगएको नेपाल यातायात स्वतन्त्र मदजुर संगठन हवाई इन्धन ढुवानी इकाई समितिका अध्यक्ष पशुपति पाठकले बताए। पाठकका अनुसार गत पौष १३ गते निगमलाई नौ बुँदे माग पेश गरेकोमा प्रमुख समस्या सम्बोधन नभएकाले ट्यांकर हवाई इन्धन लोड लिन नगएका हुन्। ‘शनिवारदेखि हवाई इन्धन ढुवानी रोकेका छौं,’ अध्यक्ष पाठकले भने, ढुवानी गर्दा घटेको इन्धनको दोब्बर मूल्य तिराउने निर्णय फिर्ता नहुँदासम्म इन्धन ढुवानी गर्दैनौं।’

–चालकले विनियमावली विपरित माग राखे– सुरेन्द्र पौडेल, कार्यकारी निर्देशन, नेपाल आयल निगम

– माग पूरा नभए ढुवानी सुचारु गर्दैनौं– पशुपति पाठक, नेपाल यातायात स्वतन्त्र मदजुर संगठन हवाई इन्धन ढुवानी इकाई

आयल निगमले ट्यांकर चालकको मागलाई गैर कानुनी भनेको छ। पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३मा भएको व्यवस्था विपरित चालकले माग राखेको निगमले जनाएको छ। ट्यांकरले इण्डियन आयल कर्पोरेसन (आइओसी)को डिपोबाट इन्धन ढुवानी गर्छन्। विनियमावलीमा इन्धन ढुवानी गर्दा लोड भएको पेट्रोलियम पदार्थको परिणाम तापक्रमको फरकबाट हुने परिमाण बाहेक लोड भएको परिणामको ०.२५ प्रतिशत भन्दा बढी फरक भएमा प्रचलित खुद्रा मूल्य अनुसार चालकसँग असुल उपर गरिने व्यवस्था छ। २० हजार लिटरमा ०.२५ प्रतिशतले ५० लिटर हुन्छ। उक्त परिमाण भन्दा बढी फरक भएमा प्रचलित खुद्रा मूल्यको दोब्बर मूल्य ढुवानीकर्ता चालकबाट असुल उपर गर्न सकिने नीतिगत व्यवस्था छ। यही व्यवस्थालाई टेकेर निगमले १२ वटा ट्यांकर चालकले ढुवानी गरेको इन्धनमा ५० लिटर बढी कम परिमाण भेटिएपछि दोब्बर मूल्य बराबरको रकम तिराएको थियो।

निगम, ट्यांकर धनी र चालकबीच शुक्रबार भएको बार्ताबाट सहमति नभएपछि शनिवारबाट ढुवानी रोकेका हुन्। चालकका अन्य माग सम्बोधन गर्न तयार भए पनि नियमावली विपरितको माग राखेकाले पूरा गर्न नसकेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए। ‘ढुवानी विनियमावली विपरितका माग सम्बोन्धन गर्न सक्दैनौं,’ पौडेलले भने, ‘चालकले आन्दोलन फिर्ता लिनेमा विश्वस्त छौं।’चालक र निगमबीच छलफल भएकाले ढुवानीलाई सुचारु गर्न पहल गरिरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ। महासंघका अध्यक्ष खगेश्वर बोहोराले चालकले ढुवानीनै रोक्न नहुने बताए। ‘चालकका मागको विषयमा निगमसँग सम्वाद भैरहेको छ,’ अध्यक्ष बोहोराले भने, ‘ढुवानी नै बन्द गर्ने काम राम्रो भएन।’

निगमले शनिवार एक विज्ञप्ति प्रकाशित गरी मापदण्ड भित्रको नोक्सानी निगमले व्यहोर्दै आएकाले चालकले बिनियमावलीको व्यवस्थालाई राखेज गर्न माग राख्दै आन्दोलन गर्नु जायज नभएको जनाएको छ। चालकका न्यायोचित माग तथा सुझावलाई निगमले विगतदेखि नै सकरात्मक रुपमा लिएकाले इन्धन ढुवानीमा असहयोग गरेर अत्यावश्यक हवाई इन्धन आपूर्ति असहज भएमा कारबाही गर्ने चेतावनी दिएको छ। निगमले ढुवानी अवरुद्ध हुने किमिमका कुनै पनि कार्य नगर्न र हवाई इन्धनको दैनिक आपूर्ति एवं ढुवानीलाई सहज बनाउन अनुरोध पनि गरेको छ।

ट्यांकर चालकले जति परिणाम कम हुन्छ त्यति परिणाम बराबरको मूल्य भने तिर्न तयार छन्। निगमले ५० लिटरमाथिको दोब्बर तिराएपछि जति चुहावट हुन्ट त्यही मूल्य तिर्न पाउनु पर्छ भनेर माग राख्नु घुमाउरो ढंगले चोर्न पाउनुपर्छ भन्नेको निगमका अधिकारी बताउँछन्। आइओसीबाट ट्यांकरमा ताला लगाएर आउपछि निगमको डिपोमा ताला खोल्ने भएकाले बीचमा परिमाण घटेको जिम्मेवारी आफू नहुने चालकको जिकिर छ। ‘रक्सौलमा निगम र आइओसीका प्रतिनिधिले ताला लगाउँछन,’ अध्यक्ष पाठकले प्रति प्रश्न गर्दै भने, ‘यहाँ आएपछि निगमका अधिकारीले नै ताला खोल्दा कसरी चालकले चोर्न सक्छ ? चालकले अनियमितता गरेको प्रमाणित भएमा आफू कारबाही गर्नुपर्छ भन्ने पक्षमा भएकाले अनावश्यक बोझ चालकलाई थोपर्न नपाइने पाठकको दाबी छ।

अहिले एक सय ८१ ट्यांकरले इण्डियन आयल कर्पोरेसनबाट हवाई इन्धन ढुवानी गर्दै आएका छन्। माग पूरा नभए अन्य पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक पनि आन्दालित हुने पाठकको दाबी छ। निगमले इन्धन ढुवानीमा हुने चुहावट रोक्नका लागि सेक्युरिटी लकिङ सिस्टम जडान गरे पछि न्यूनिकरण भए पनि पूर्ण रुपमा चोरी नियन्त्रण हुन सकेको छैन।

प्रकाशित: १२ माघ २०७६ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App