१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एनआरटीसँग रोकियो आर्मी

आर्मीका भरत खबास (बाँया) र एनआरटीका जोर्डन ओओना बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर सौजन्य : एन्फा

काठमाडौं - न्युरोट टिम (एनआरटी) सँग गोलरहित बराबरीमा रोकिएसँगै त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी कतार एयवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो अग्रता फराकिलो पार्ने अवसर गुमाएको छ।

यद्यपि ८ खेलको समाप्तिमा १७ अंक जोड्दै आर्मी शीर्ष स्थानमा यथावत् छ। समान खेलमा समान १६ अंक जोडेका मच्छिन्द्र क्लब र साबिकको विजेता मनाङ  मर्स्याङ्दी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। १४ अंकका साथ थ्री स्टार चौथो स्थानमा छ भने एनआरटी, जावलाखेल र संकटा समान १२ अंकका साथ क्रमशः चौथो, पाँचाैँ र छैटाैँ स्थानमा छन्।

एनआरटीविरुद्ध जित हात पारेको खण्डमा आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने थियो। तर खेल अवधिभर पाएका अवसरलाई जाली चुमाउन नसक्दा आर्मी एनआरटीविरुद्ध अंक बाँड्न बाध्य भएको थियो। खेलको अन्तिम मिनेटमा टंक बस्नेतलाई मैदान प्रवेश गराएपछि आर्मीले एनआरटीविरुद्ध एकतर्फी दबाब बनाएको थियो। तर अग्रपंक्तिका खेलाडी फिनिसिङमा चुक्दा आर्मी बराबरीमा रोकिएको हो। इन्जुरी समयमा आर्मीका सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक एनआरटीका गोलकिपर अजित प्रजापतिले विफल पारेका थिए।

इन्जुरी समयमा जुनियर निकेनग्वे दोस्रो पहेंलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि एनआरटीले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। ८८औं मिनेटमा पहेँलो कार्डको दर्शन गरेका जुनियरले आर्मीका युद्ध शाहीमाथि फाउल गरेपछि दोस्रो पहेँलो कार्डको दर्शन गरेका थिए। ‘हामीले आज स्पष्ट ३ अंक जोडेको भए अग्रता फराकिलो हुने थियो,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने , ‘तर पाएका अवसर सदुपयोग गर्न नसक्दा हामी अंक बाँड्न बाध्य भयाैँ। अंक बाँडे पनि हामी शीर्ष स्थानमा छौं र हाम्रो च्याम्पियन बन्ने लक्ष्य अझै कायम छ।’

‘हामीले यसअघिका खेलजस्तै आज पनि आक्रामक खेलको रणनीति लिएका थियाैँ,’ न्यौपानेले भने, ‘तर फिनिसिङमा मुख्य खेलाडी चुक्दा जित हात पार्न सकेनाैँ। एनआरटीका गोलकिपर अजित यस पटक पनि हाम्रा लागि बाधक बने। हामीले टंक र टेकबहादुरजस्ता अनुभवी खेलाडीका साथ नयाँ खेलाडीलाई पनि खेलाइरहेका छौं। मुख्य समस्या भनेको लिग अवधिभर एकै रूपको प्रदर्शन अझै पनि गर्न सकेका छैनाैँ। टोलीमा सुधार गर्ने धेरै ठाउँ छन्। आगामी खेलमा हामी त्यसमा सुधार गर्नेछाैँ।’यता रक्षात्मक रणनीति लिएको एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य भने एक अंकबाट सन्तुष्ट देखिए।

एनआरटीविरुद्ध जित हात पारेको खण्डमा आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने थियो। तर खेल अवधिभर पाएका अवसरलाई जाली चुमाउन नसक्दा आर्मी एनआरटीविरुद्ध अंक बाँड्न बाध्य भयो।

‘लक्ष्य त हाम्रो स्पष्ट ३ अंक जोड्ने नै थियो। तर पनि बलियो टोली आर्मीविरुद्ध १ अंक जोड्न पाउँदा खुसी नै छौं,’ शाक्यले भने, ‘आर्मीले खेलको सुरुआतबाट जुुन पेसमा खेल्छ अन्त्यसम्म त्यही पेसलाई कायम राख्छ। त्यसैले हामीले त्यसलाई रोक्ने रणनीति लिएका थियौं। खेलाडीले त्यसलाई बुझे। केही मुख्य खेलाडी घाइते हुँदा पनि टोलीको प्रदर्शनमा  असर देखियो।  खेलको अन्तिममा १० खेलाडीमा सीमित हुँदा दबाबमा खेल्नुप-यो।’शनिबारै दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबमाथि १–० को जित हात पार्दै छैटाैँ स्थानमा उक्लिएको छ। फ्रेन्ड्स ८ खेलमा ८ अंकका साथ ११औं स्थानमा छ।

६४औं मिनेटमा अजय मार्टिन कोयोडेले गरेको गोल संकटालाई ३ अंक जोड्न पर्याप्त बन्यो। मार्टिनले सुवास गुरुङको फ्रि किकलाई जाली चुमाएका थिए। लिगका नवौं चरणका खेल सोमबारबाट सुरु हुनेछन्।

सोमबारका खेल
नेपाल पुलिसविरुद्ध एपिएफ १२ः०० बजे
मच्छिन्द्र क्लबविरुद्ध थ्री स्टार क्लब ३ः०० बजे
दशरथ रंगशाला

प्रकाशित: १२ माघ २०७६ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App