१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुदूरपश्चिममा प्रत्येक तीन दिनमा चारको ज्यान जान्छ

प्रतिकात्मक तस्बिर

धनगढी - सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। तीन आर्थिक वर्षको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या बढिरहेको छ। सुदूरपश्चिममा औसतमा प्रत्येक तीन दिनमा चारजनाले आत्महत्या गरेको तथ्यांक छ। गरिबी, पारिवारिक र सामाजिक सम्बन्धमा उतारचढाव तथा मानसिक समस्याका कारण आवेगमा आई आत्महत्या गर्ने बढ्दै गएको विश्लेषण गरिएको छ।

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त आत्महत्या चिन्ताजनक ढंगले बढ्नुमा आर्थिक र सामाजिक कारणलाई मुख्य ठान्छन्। ‘गरिबीलगायत कारणले युवा डिप्रेसनमा जान्छन। निरासाका कारण आत्महत्या गर्ने बढ्दै गएका हुन्,’ उनी भन्छन्, ‘बढ्दो आत्महत्या सामाजिक समस्या हो।’ आत्महत्या कम गर्न विद्यालय तहदेखि नै मनोपरामर्श दिइनुपर्ने उनको भनाइ छ। सञ्चारलगायत प्रविधिको पहुँचले सबै जानकारी हुने तर गरिबीले आवश्यकता पूरा गर्न समस्या हुँदा मानिसमा निरासा बढेको उनी बताउँछन।

‘समाजमा हुने सामाजिक र आर्थिक विभेद अन्त्य, मानसिक समस्याको उपचार, जनचेतना, मनोपरामर्श, रोजगारी सिर्जना जस्ता कार्यक्रम राज्यले ल्याउन सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ’

नागरिक समाजका अगुवा धर्मराज पाठक पनि कैलालीमा आत्महत्या दर बढ्दै गएको बताउँछन्। उनी आत्महत्या बढ्नुको भित्री कारण मानसिक समस्या ठान्छन्। ‘गरिबी, पारिवारिक र सामाजिक सम्बन्ध पनि आत्महत्याका कारण हुन्,’ उनले भने, ‘बाहिर पारिवारिक झैझगडा, ऋण तिर्न नसकेर वा अन्य कारण देखिए पनि भित्री कारण मानसिक समस्या भएर नै देखिन्छ।’ कुनै न कुनै रुपमा २५देखि ३० प्रतिशत मानिसमा मानसिक समस्या भएको अध्ययनले देखाएको उनले बताए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलको तथ्यांक अनुसार प्रदेशमा औसतमा दैनिक एकजनाभन्दा बढीले आत्महत्या गरेको देखिन्छ। आर्थिक वर्ष २०७३÷०७४ मा चार सय ३२ जना, ०७४/०७५ मा चार सय ९९ र ०७५/०७६ मा पाँच सय तीन जनाले आत्महत्या गरेको तथ्यांक प्रदेश प्रहरी कार्यालयसँग छ। यो तथ्यांकलाई औसतमा हेर्ने हो भने प्रत्येक तीन दिनमा चारजनाले आत्महत्या गरेको देखिन्छ। चालु आर्थिक वर्षको हालसम्म दुई सय आठजनाले आत्महत्या गरेका छन्। १५ जनालाई आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्सालले बताए।

‘तथ्यांकका हिसाबले आत्महत्या बढेको छ,’ उनले भने। मानसिक समस्याकै कारण आत्महत्या बढेको उनको भनाइ छ। उनी भन्छन्, ‘मानसिक समस्या भएकालाई उपचार र मनोपरामर्श दिनुपर्नेमा त्यो हुन नसक्दा आत्महत्या बढ्दो छ।’ मानसिक समस्याका रोगीलाई उपचार र मनोपरामर्श दिइनुपर्ने उनी बताउँछन्। तथ्यांक अनुसार सुदूरपश्चिममा भुन्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेको संख्या बढी छ। खोला, नदी र पोखरीमा हामफालेर आत्महत्या गर्ने संख्या भने न्यून रहेको लम्सालले बताए।

आर्थिक वर्ष २०७३/०७४ मा चार सय ३२ जना, ०७४/०७५ मा चार सय ९९ र ०७५/०७६ मा पाँच सय तीन जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ। चालु आर्थिक वर्षको हालसम्म दुई सय आठजनाले आत्महत्या गरेका छन्। यो तथ्यांकलाई औसतमा हेर्ने हो भने प्रत्येक तीन दिनमा चारजनाले आत्महत्या गरेको देखिन्छ।

सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी आत्महत्या कैलाली भएको देखिन्छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार यो प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म दुई सय आठजनाले आत्महत्या गरेकोमा त्यसमा सबैभन्दा बढी कैलालीका ८७ जना छन्। त्यस्तै कञ्चनपुरमा ६६, बझाङमा १४, बाजुरा र बैतडीमा नौ÷नौ, अछाममा ६, डडेल्धुरामा पाँच र डोटीामा एकजनाले आत्महत्या गरेका छन्।

कैलालीमा यही माघ पहिलो साता मात्र नौजनाले आत्महत्या गरेका छन्। माघ ४, ५ र ६ गते दुई÷दुई जनाले आत्महत्या गरेको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए। ‘कैलालीमा माघको पहिलो सातामा नौजनाले आत्महत्या गरेका छन्,’ उनले भने। नौमध्ये आठले पासो लगाएर र एकले विष सेवन गरेर आत्महत्या गरेको तथ्यांक छ। आत्महत्या गर्नेमा किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सूक्ष्म अध्ययन नगरेकाले यकिन कारण भन्न नसकिए पनि डिप्रेसनकै कारण आत्महत्या हुने गरेको उनको भनाइ छ। डिप्रेसनमा जानुका कारण भने आर्थिक, सामाजिक, पारिवारिक, सामाजिक सञ्जालको गलत प्रयोग, लागूऔषधको प्रयोग, प्रेममा धोका, अवैध यौन सम्बन्धलगायत रहेको उनले बताए। उनका अनुसार शिक्षा र रोजगारी नपाउने, रोगको उपचार गर्न नसक्ने तथा पेटभरि खान नपाउने र बालबच्चा हुर्काउन नसक्ने भएपछि मानसिक समस्या उत्पन्न हुन्छ। ‘सहरमा जीविका चलाउन सहज नहुने भएकाले पनि निरासा उत्पन्न हुने र त्यस्ता मानिसले आत्महत्या रोज्ने गरेको देखिन्छ,’ उनले भने। लागूऔषधको कुलतमा फसेर डिप्रेसनमा जाने र अन्त्यमा आत्महत्या गर्नेको संख्या पनि बढ्दो छ। प्रेममा धोका पाएर पनि युवाले आत्महत्याको बाटो रोजेको पाइएको प्रहरीको भनाइ छ।

आत्महत्या दर न्यूनीकरण गर्न समाजमा हुने सामाजिक र आर्थिक विभेद अन्त्य, मानसिक समस्याको उपचार, जनचेतना, मनोपरामर्श, रोजगारी सिर्जना जस्ता कार्यक्रम राज्यले ल्याउनुपर्ने पन्त बताउँछन्।

प्रकाशित: १२ माघ २०७६ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App