१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नयाँ ट्राफिक नियम मान्न आनाकानी

काठमाडौं- यातायात व्यवस्था विभागले चक्रपथभित्र 'पिक आवर'मा हुने सवारी जाम घटाउन लागू गरेको नयाँ नियम मान्न ढुवानी व्यवसायीले आनाकानी गरेका छन्। नयाँ नियम अव्यावहारिक भएको भन्दै फिर्ता लिन काठमाडौं सार्वजनिक यातायात पिकअप ढुवानी संघले चेतावनी दिएको छ। नयाँ ट्राफिक नियमले आफ्नो रोजीरोटीमै समस्या पारेकाले फिर्ता लिनुपर्ने संघका अध्यक्ष बुद्धिकृष्ण गजुरेलले माग गरेका छन्।

'पिक आवर नै हाम्रो कमाई गर्ने समय हो। त्यही बेला नयाँ नियम लादेर ढुवानी व्यवसायीको रोजीरोटी नै खोस्ने प्रयत्न गरिएको छ,' उनले भने, 'पहिलो चरणको आन्दोलनअन्तर्गत कालो झन्डा हालेर सवारी चलाएका छौँ। टाइमकार्ड फिर्ता नगरे पिकआवरमै चक्रपथ नै ठप्प पार्नेछौँ।' यातायात व्यवस्था नियमावलीमै नभएको रातो प्लेटको गाडीलाई टाइमकार्ड लगाइएकाले विरोधमा उत्रिएको उनले बताए। विभागले लागू गरेको नियमअनुसार बिहान ९ देखि ११ बजे र बेलुका ४ देखि ६ बजेसम्म पेट्रोलियम पदार्थ र पानी बोक्ने सवारीबाहेक अन्य कुनै ठूला तथा साना सवारीसाधनले चक्रपथभित्र प्रवेश गर्न पाउनेछैनन्। त्यस्तै, विद्यार्थी  बोक्ने सवारीसाधन बिहान ९ बजेभित्रै पुगिसक्नुपर्नेछ। बेलुका ४ः३० बजे नै विद्यार्थीलाई घर पुर्‍याएर फर्किसक्नुपर्ने नियममा उल्लेख छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का महासचिव डिके ढुंगानाले नयाँ ट्राफिक नियम तत्कालै पालना गर्न सम्भव नभएको बताएका छन्। 'शैक्षिक सत्रकै बीचमा नयाँ नियम लागू गर्न सम्भव हुँदैन,' उनले भने, 'अहिलेकै अनुसार पूर्ण नयाँ नियम पालन गर्न साढे २ बजे नै विद्यालय बन्द गर्नुपर्ने अवस्था आउँछ।' प्याब्सनले साबिकको नियममा केही सहजता प्रदान गर्न यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई अनुरोध गरेको जनाएको छ।

ढुवानी संघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई मंसिर २७ गते नियमको विरोधमा ज्ञापनपत्र बुझाएको संघका महासचिव शम्भु घिमिरेले जानकारी दिए।

'राज्यलाई बर्सेनि ५३ हजार राजस्व बुझाउँदै आएका छौँ,' उनले भने, 'बरु पिक आवरमा स्वयंसेवक खटाएर राज्यलाई सहयोग गछर्ौं। तर, टाइमकार्ड हटाउनुपर्‍यो।'

ट्राफिक प्रहरीले आफूहरुलाई ०६०, ०६५ र ०६९ सालमा पटक–पटक पिकआवरमा टाइमकार्ड लागू गर्न खोजेर दुःख दिइएको ढुवानी व्यवसायीले बताएका छन्।

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर चन्दले नयाँ ट्राफिक नियमलाई कार्यान्वयन गरेर नै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 'काठमाडौं उपत्यकाको ट्राफिक जामलाई व्यवस्थित गराउन नयाँ नियम ल्याएका छौँ,' उनले भने, 'नियम उल्लंघन गर्नेलाई कारबाही गर्नेछौँ।'

यातायात व्यवस्था विभाग निर्देशक निरञ्जन रिजालले काठमाडौं उपत्यकाको अस्तव्यस्त जाम हटाउन नयाँ नियम ल्याएको बताए। यातायात व्यवस्था विभागका अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखा, ट्राफिक निर्देशनालय, उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्त कार्यालय काठमाडौंलगायत सम्बद्ध निकायको संयुक्त छलफलले चक्रपथभित्र नयाँ नियम लागू गर्ने निर्णय गरेको हो।

प्रकाशित: १२ पुस २०७३ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App