१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टरको मृत्यु, ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

फाइल तस्बिर

बेइजिङ - चीनमा कोरोना भाइरस संक्रमितको उपचार संलग्न एक डाक्टरको निधन भएको छ। चिनियाँ सञ्चार माध्यम सिजिटिएनकाअनुसार ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो । उनी हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत थिए। कोरोना भाइरसको संक्रमणबाट डाक्टरकै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो।

मृत्यु हुनेको संख्या ४१ पुग्यो

उक्त भाइरसको संक्रमणबाट हालसम्म ४१ जनाले ज्यान गुमाइसकेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। मृत्यु हुनेमा वुहान शहरका मात्रै ३८ जना छन्। १२ सय ९७ जनामा उसको संक्रमण भेटिएको छ। उनीहरको विभिन्न अस्पतालमा उपचार भैरहेको जनाइएको छ। कोरोना प्रभावित शहरमा उच्च सतर्कता अपनाइएको छ।

१० दिनमा नयाँ अस्पताल बनाइदैं
बिरामीको संख्या अत्याधिक भएपछि डाक्टरको पनि अभाव देखिएको छ। यस्तो अवस्थालाई मध्यजनर गर्दै सेनाका डाक्टरहरु पनि उपचारमा खटिएका छन्। अति प्रभावित क्षेत्रमा नयाँ अस्पताल पनि बनाउन सुरू गरिएको छ। १० दिनमा तयार हुने अस्पतालमा ३ फेब्रुअरीबाट उपचार सुरु गरिने छ। २५ हजार वर्ग मिटरमा फैलिएको यो अस्पताल एक हजार शैयाकाे हुनेछ।

संक्रमण यूरोपदेखि अस्ट्रेलियासम्म फैलियो

कोरोना भाइरसको संक्रमण यूरोपदेखि अस्ट्रेलियासम्म देखिएको छ। भारतमा ११ जनालाई निगरानीमा राखिएको छ। नेपालमा पनि शुक्रबार कोरोना भाइरसको संक्रमण देखिएको थियो।

एक साता अघि टेकु अस्पतालमा उपचारमा पुगेका चीनबाट नेपाल आएका ३५ वर्षीय  एक युवकमा सो भाइरस प्रमाणित भएको हो। उनको परिक्षण रिपोर्टमा भाइरस पोजिटिभ देखिएको आधारमा मन्त्रालयले सो जानकारी दिएको हो। नयाँ भाइरसको परिक्षण नेपालमा उपलब्ध नभएपछि राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपचारको लागि विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त ल्याव चीन पठाएको थियो। उनको रिपोर्ट विहिवार साँझ प्राप्त भएको हो।

के हो कोरोना भाइरस ?
कोरोना भाइरस सन् २००३ मा देखिएको सार्स प्रजातिभित्रकै नयाँ भाइरस हो। यो पशुवाट मान्छे र पशुमा संक्रमण गर्छ। तर अहिलेसम्म जनवारवाट मानिसमा संक्रमण भएको आधार प्रमाणित भइसकेको छैन। सुरुमा रुघाखोकी लाग्ने र कडा ज्वरो आउने र समयमै उपचार नभए मिर्गौला समेत फेल भई बिरामीको मृत्यु हुन सक्छ। यो भाइरस मानिस या पशुवाट मानिसमा सरिरहेको छ भन्ने बारेमा प्रमाणित भइसकेको छैन। तर एउटै परिवारका सदस्यहरु विरामी भएको पाइएकोले परिवारका सदस्यहरु एउटै स्रोतवाट संक्रमण भएको देखिन्छ।  यो रोगको कुनै औषधी छैन तर लक्षणको आधारमा उपचार गरिन्छ।

लक्षणहरु
– कडा ज्वरो आउने
– श्वास–प्रश्वासमा अत्यधिक समस्या हुने
– रुघाखोकी लाग्ने
– समयमै उपचार नभए मिर्गौला फेल हुने

कसरी बच्ने ?
– नियमित रुपमा सावुन पानीले हात धुने
– यदि फ्लु  जस्तो लक्षण देखिएमा चिकित्सकसित परामर्श लिने
– जंगली तथा घरेलु पशुपंक्षीहरुसित असुरक्षित सम्पर्कवाट  टाढा रहने
– खोक्दा हाँच्छ्यिु गर्दा नाक र मुख छोप्ने
– रुघाखोकीको लक्षण देखिएकाहरुको सम्पर्कबाट टाढा रहने
– पशुजन्य माछा–मासु राम्रोसित पाकाएर मात्र खाने।

प्रकाशित: ११ माघ २०७६ ०७:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App