१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘ऐतिहासिक धरोहरको विकासले पर्यटन प्रवर्द्धन’

फाइल तस्बिर

मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक धरोहरको विकासले पर्यटन प्रवर्द्धनमा सघाउने बताएका छन्। गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको सम्झनामा शुक्रबार मकवानपुरगढीमा आयोजित २५७औं विजयोत्सवको उद्घाटन गर्दै उनले ऐतिहासिक मकवानपुरगढी क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नुका साथै आर्थिक उन्नतिका लागि विशेष पहल थाल्नुपर्नेमा जोड दिए।

तत्कालीन गोर्खाली सेनाको वीरतालाई विश्वसामु चिनाउन मकवानपुरगढीले महत्वपूर्ण भूमिका खेलेको मुख्यमन्त्री पौडेलले बताए। ‘अंग्रेजलाई पराजित गरेर गोर्खाली सेनाले नेपाललाई सार्वभौम र स्वतन्त्र कायम ठूलो योगदान दिएका थिए,’ मुख्यमन्त्री पौडेलले भने, ‘उक्त गौरवमय दिनलाई कसैले पनि भुल्नुहुँदैन।’ विजयोत्सवकै अवसरमा उनले मकवानपुरगढीमा नेपालको राष्ट्रिय झन्डा फहराउनुका साथै सेतो हात्तीको प्रतिमा अनावरण गरेका थिए।

कार्यक्रममा मकवानपुर–१ का सांसद तथा प्रतिनिधिसभाको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले मकवानपुरगढीको ऐतिहासिक महत्व रहेकाले विकास र प्रवर्द्धन गर्नुपर्ने बताए। बाग्मती प्रदेशका सांसद प्रेमबहादुर पुलामी र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले गढीलाई धार्मिकसहित पर्यटकीय स्थलका रूपमा विकास गर्दै लगिएको बताए। त्यसको विकासका लागि संघीय र प्रदेश सरकारलाई हातेमालो गरिदिन उनीहरूले आग्रह गरे।

तत्कालीन गोर्खाली सेनाले आधुनिक हतियारयुक्त मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको थियो। गोर्खाली सेनाले शत्रु सेनाको पाँच सयभन्दा बढी आधुनिक हतियार र शक्तिशाली तोपहरू नियन्त्रणमा लिएका थिए। इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको एक हजार सात सय सेनालाई पराजित गरेको थियो। उक्त ऐतिहासिक विजय प्राप्त गरेको शुक्रबार दुई सय ५७ वर्ष पुगेको छ।

उक्त युद्धलाई गोर्खाली सेनाले विदेशी सेनासँग लडेको पहिलो युद्धका रूपमा लिइन्छ। पहिलो विजयोत्सव मनाउन तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयं गढीमा उपस्थित रहेको बताइन्छ। गढी र तिनको ऐतिहासिकताको अध्ययन गरेका केदार न्यौपानेका अनुसार देशभरिका दुई सय गढीमध्ये मकवानपुरको इतिहास लामो र गौरवमय रहेको छ। तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सेन वंशको चिनारी नामक पुस्तकमा पाल्पाका सेनहरू मकवानपुरकै भएको उल्लेख गरेका छन्। मुकुन्द सेनले राज्य बाँडफाँड गर्दा मकवानपुर कान्छा छोरा लोहाङ सेनको भागमा प-यो। लोहाङले १६१० सालपछि गढीको पुनर्निर्माण गरी मकवानपुर राज्यको पुनर्निर्माण र विस्तार गरेको बताईएको छ।

१८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा हरेक वर्ष विजयोत्सव मनाउने गरिएको छ। सरकारले घोषणा गरेको सय नयाँ पर्यटकीय स्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशकै सबैभन्दा ठूलो र पुरानो गढी मानिन्छ।

प्रकाशित: ११ माघ २०७६ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App