१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्णालीको पञ्चवर्षीय योेजनामा छलफल

वीरेन्द्रनगर- ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ शुक्रबार भएको कर्णाली प्रदेश विकास परिषदको बैठक सकिएको छ। परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी सुर्खेतमा बसेको बैठक कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदामाथि छलफल गर्दै सम्पन्न भएको हो।

बैठकमा सहभागी परिषद सदस्यहरूले योजना आयोगले तयार गरेको पञ्चवर्षीय योजनाको मस्यौदा मुलभूतरूपमा सही भए पनि अझै वस्तुनिष्ठ बनाउन सुझाव दिएका छन्। प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेपछि बैठकमा सहभागी परिषद सदस्यहरूले पञ्चवर्षीय योजनाका बारेमा आफ्ना सुझाव राखेका थिए। बैठकमा बोल्दै परिषद अध्यक्ष एवं मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली प्रदेश बनाउने दायित्व सबैको भएको बताए। उनले समृद्ध प्रदेशको एजेण्डामा सबैको एकता आवश्यक भएको बताउँदै रचनात्मकरूपमा अघि बढ्नुपर्ने बताए।

मुख्यमन्त्री शाहीले कर्णालीमा लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीरतापूर्वक लागेको बताउँदै २५ वर्षभित्र प्रतिव्यक्ति आय २१ शय डलर पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढेको बताए। बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले पञ्चवर्षीय योजना कल्पनामुखी मात्र भएको धारणा राखे। नेता शाहीले कर्णाली प्रदेशलाई सुखारी बनाउने भनेको सडक भएको बताउँदै जिल्ला सदरमुकामसम्म सडक नै नपुगेको बेला जलमार्ग, हिमाली एयरपोर्ट, विद्युतीय रेलमार्गजस्ता योजना काल्पनिक भएको बताए।

कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान बमोजिम गठित प्रदेश विकास परिषदको सम्पन्न बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, कर्णाली प्रदेशसभाका संसदीय दलका नेता, संसदीय समितिका अध्यक्ष, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सरकारका सचिव, कर्णाली प्रदेशभित्रका सबै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका प्रमुखहरूको सहभागिता थियो।

प्रकाशित: १० माघ २०७६ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App