१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद्को गरिमा उच्च बनाउँछु : सापकोटा

सिन्धुपाल्चोकको कुविण्डे, नौविसेस्थित आफ्नै घरमा बिहीबार प्रस्तावित सभामुख अग्निप्रसाद सापकोटा। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक – प्रतिनिधि सभाको सभामुखमा प्रस्तावित नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले निर्वाचनपछि सभामुखको रूपमा आफ्नो कार्यकालमा संसद्को गरिमा उच्च बनाउने प्रतिबद्धता जनाएका छन्। सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुन बाँकी रहे पनि एकल मनोनयन दर्ता भएकाले आफू साझा व्यक्तित्व भइसकेको उनको प्रतिक्रिया छ। ‘संसद्को गरिमा र ओझलाई अझै बढाउन भूमिका खेल्नेछु। सभामुख पदको गरिमालाई आँच आउन दिनेछैन,’ बिहीबार बतासेस्थित कालिकादेवी माविको ३९ औं वाषित्कोत्सवमा उनले भने।

पार्टीको स्थायी समिति सदस्य र राजनीतिक दलको सदस्यका हैसियतले यो कार्यक्रम नै अन्तिम भएको सापकोटाले बताए। सभामुख निर्वाचनअघि पार्टी सदस्यका रूपमा गतिविधि गर्न आफू स्वतन्त्र भए पनि त्यसो नगर्ने उनको भनाइ छ। निर्वाचनअघि साझा कार्यक्रममा पनि नहिँड्ने निर्णयमा उनी पुगेका छन्। शुक्रबार सदरमुकाम चौतारामा तामाङ ल्होसार कार्यक्रममा हुने भनिएको सहभागिता उनले रद्ध गरेका छन्। कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा बोलाइएका थिए।

एक महिनाअघि नै समय दिइएकाले कालिकादेवीको कार्यक्रममा सरिक भएको सापकोटाले जनाए। जनताकै मतका कारण सभामुख जस्तो गरिमामय पदमा पुग्न लागेको भन्दै उनले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिए। ‘सभामुख पद मतदाता र नेपाली जनतालाई समर्पित गर्छु,’ उनले भने। २०३७ सालदेखि आफू कम्युनिस्ट पार्टीको राजनीतिमा सक्रिय रहेको जनाउँदै उनले आगामी माघ १५ गते बस्ने नेकपाको बैठकमा नजाने बताए। ३९ वर्षदेखि पार्टीका कुनै पनि बैठक नछोडेको बताउँदै सापकोटाले भने, ‘आइतबार सभामुख निर्वाचित भएको घोषणापछि म साझा व्यक्तित्व बन्नेछु। पार्टीको साधरण सदस्य पनि रहने छैन।’

१५ वर्षे शिक्षण पेसा त्यागेर पूर्णकालीन कार्यकर्ता बनेका सापकोटाले परिवर्तनका लागि १० वर्षे ‘जनयुद्ध’ को नेतृत्व गरेको स्मरण गरे। राजनीतिक यात्रामा व्यक्तिगत र परिवारको स्वार्थको लागि कहिल्यै नसोचेको उल्लेख गर्दै सभामुखका एकल उम्मेदवार सापकोटाले जीवनमा कहिल्यै गल्ती नगरेको दाबी गरे। ‘संसद्मा पनि यस्तै निस्वार्थी भावनाले काम गर्नेछु,’ उनको प्रतिबद्धता थियो।

कानुन बनाउन संसद् उच्चतम थलो भएको उनको कथन छ। आफूले सभामुखको हैसियतले संसद्बाट मुलुकको ‘सिस्टम’ विकास गर्ने खालका कानुन बनाउन भूमिका खेल्ने उनले उद्घोष गरे। सभामुख खाली भएपछि ठूलो बहस र टिप्पणी भएको प्रतिक्रिया दिँदै उनले यस्तो बहस मुलुकको राजनीतिक इतिहासमा पहिलोपटक भएको धारणा राखे।

प्रतिनिधिसभामा सभामुख पदको मनोनयन दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा आएका सापकोटा अघिपछिभन्दा भिन्न रूपमा प्रस्तुत भए। भावी सभामुखका रूपमा उनीमा तीव्र परिवर्तन देखिन्थ्यो। ‘बडी ल्याङ्वेज’, भाषण, शब्द चयनमा उनी सचेत देखिए। कार्यक्रम अवधिभर र कार्यक्रममा आउँदा, फर्कदा उनले ‘लालसलाम’ ‘कमरेड’ जस्ता कम्युनिस्ट नेताले प्रयोग गर्ने शब्द उच्चारण गरेनन्। नमस्कारले आदर गरेर र नमस्कारै फर्काए।

यसअघि लामो सयम लिएर राजनीतिक भाषण गर्ने उनले योपटक त्यसो गरेनन्। छोटो समयमा विषयवस्तु केन्द्रीत धारणा राखे। ‘सभामुखको रिहर्सल गर्दैछु,’ स्पष्ट बक्ताको चिनारी बनाएका सापकोटाले सञ्चारकर्मीसँग भने। उम्मेदवारी नदिएर सभामुख निर्विरोध चयन गर्न प्रमुख प्रतिपक्ष दल कांग्रेसले भूमिका खेलेकाले साझा चरित्र बनाउन आफूलाई प्रेरित गरेको उनको भनाइ छ। उनले कांग्रेसको भूमिकाको प्रसंशासमेत गरे। ‘पूर्वसभामुख सुवास नेम्बाङ, ओनसरी घर्ती, नेता देव गुरुङ र राजपाका लक्ष्मणलाल कर्णको प्रस्ताव र समर्थनमा सभामुखमा मनोनयन दर्ता गराएकाले संसद्को गरिमा बढाउन थप हौस्याएको छ,’ उनले भने।

सभामुख घोषणाको पूर्वसन्ध्यामा सापकोटाले सत्तापक्ष सँधै सत्तामा रहन्छु र प्रतिपक्ष सँधै यही भूमिकामा रहन्छु भन्ने भ्रमबाट मूक्त हुनुपर्ने प्रतिक्रिया दिए। सभामुख घोषणापछि संसदको हिउँदे अधिवेशनमा केन्द्रित हुने योजना उनले सुनाए। ‘हिउँदे अधिवेशनमा महत्वपूर्ण केही विधेयक प्रस्तुत हुँदैछ। त्यसको आवश्यक तयारीमा जुट्ने छु,’ उनले भने।

प्रकाशित: १० माघ २०७६ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App